नेपालका लागि १० लाख डोज कोरोना खोप बोकेर भारतबाट उड्यो एयर इण्डिया


८ माघ २०७७, बिहीबार
korona india 1

काठमाडौैं, ८ माघ । नेपाललाई अनुदानमा दिइएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप बोकेर भारतको एयर इण्डियाको विमान नेपाल उडेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले कोरोना खोप लोड गरिएको विमानको तस्बिरसहित सामाजिक सञ्जालमार्फत खोप बोकेर विमान नेपालतर्फ उडेको जानकारी गराएका हुन् । भारतको विदेश मन्त्रायलयका प्रवक्ता श्रीवास्तवले ट्वीट गरेका छन्, ‘भारतमा बनेको कोरोना भ्याक्सिन नेपालका लागि पठाएका छौं ।’

airindia2

भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बिहीबार बिहान एयर इण्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् ।

airindia3

ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका खोप शाखा प्रमुख डा. झलक शर्माका अनुसार १० देखि १५ दिनमा कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७