‘प्रधानमन्त्रीले बाहिर गएर गोल गरिराख्‍नु भएको छ, अदालतले मैदानमा फर्काओस्’


९ माघ २०७७, शुक्रबार
Suprme Court of Nepal

काठमाडौँ, ९ माघ । अधिवक्ता राजु चापागाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले मैदान बाहिर गएर गोल गरेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धमा मुद्दामाथिको सुनुवाइका क्रममा सर्वोच्च अदातलको संवैधानिक इजलासमा चापागाईंले प्रधानमन्त्रीलाई अदालतले मैदानमा फर्काउनु पर्ने बताए ।

संवैधानिक इजलासमा शुक्रबारको सुनुवाइका क्रममा चापागाईंले प्रधानमन्त्रीले भने, ‘प्रधानमन्त्रीले बाहिर गएर गोल गरिराख्‍नु भएको छ, अदालतले मैदानमा फर्काओस् ।

संवैधानिक इजलासमा शुक्रबारको सुनुवाइका क्रममा चापागाईंले भने, ‘प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव ल्याउन नपाउने बेलासम्म कसैबाट असहज मानेनन् । दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाउने बेलासम्म मजाले इन्जोय गर्नुभयो । जब संसदप्रति उत्तरदायी हुनुपर्ने र विश्वासको जाँच हुनुपर्ने बेला भयो त्यतिबेला संसद् विघटन गर्नुभयो ।’

प्रधानमन्त्रीले संविधानको धारा १००, जसमा विश्वासको प्रस्ताव संसदमा लिनुपर्ने व्यवस्था गरिएको छ, त्यसको उपयोग नभएको उनले बताए । प्रधानमन्त्रीले संविधानको उक्त धारा उल्लंघन गरेकाले सर्वोच्चले मान्यता दिन नसकिने बताए ।

चापागाईंले ऐतिहासिकरूपमा संविधानको निर्माण र विकास कसरी हुँदै आयो भन्ने कुरा इजलासले हेर्नुपर्ने बताए। ‘२०१५ सालको संविधानमा के थियो २०४७ सालको संविधानमा के राखियो र अहिलेको संविधानमा के छ भन्नेबारे यहाँ व्याख्या गर्न जरूरी छ,’ उनले भने, ‘संविधानको आधारमा नै समाधान दिनुपर्छ, त्यसो गर्दा कोही हार्ने र जित्ने भन्ने हुन्न। प्रधानमन्त्रीले पनि जित्नुहुन्छ अरू सबैले जित्छ नेपालीले पनि जित्छ।’

न्यायाधीश सपना मल्लले उनलाई संसदीय प्रणालीको अभ्यासका आधारमा विघटन गर्न पाइन्छ भन्ने छ यसलाई कसरी हेर्नुहुन्छ भन्दै सोधेकी थिइन्।

अधिवक्ता चापागाईंले  संविधान र कानुनले जे भन्यो त्यही मात्र गर्नुपर्ने बताएका थिए। ‘पब्लिक अथोरिटीलाई कानुनले जे भनेको त्यो कुरा गर्नेमात्र  अधिकार हुन्छ। कानुन बाहिर गएर गर्‍यो भने अख्तियारको  दुरूपयोग हुन्छ,’ उनले भने, ‘हाम्रो संविधान  शक्ति सन्तुलनका आधारमा बनाइएको छ। यहाँ एउटाको अधिकार अर्कोले प्रयोग गर्न पाउँदैन।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७