प्रदर्शनपछि प्रचण्ड-माधव समूहमा उत्साह


९ माघ २०७७, शुक्रबार
Nepal Communist Party NCP protest scaled

काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले राजधानीमा शक्ति प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट २०७७ पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको असबैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनमा उत्रिएको नेकपाले शुक्रबार काठमाडौंमा शक्ति प्रर्दशन गरेको हो ।

विरोध प्रर्दशन उपत्यकाका विभिन्न ठाउँहरु माइतीघर, डिल्लिबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रर्दशनी मार्ग, त्रिचन्द्र कलेज, सहिदगेट, भोटाहिटी लगायतका स्थानबाट सुरु भएको थियो । बिभिन्न स्थानहरुबाट सुरु भएको जुलुस रत्नपार्कमा जम्मा भई मुख्य जुलुसमा परिणत भएको थियो । उक्त मुल जुलुस रत्नपार्क, पुतलीसडक, भद्रकाली, सहिदगेट, सुन्धरा हुदैं भृकुटीमण्डपको सभामा परिणत भएको थियो ।

सभा पर्यटन बोर्ड अघिको सडकमा भएको थियो । प्रर्दशनपछि भृकुटीमण्डप सडक, रत्नपार्कदेखि भद्रकाली, भृकुटीमण्डप भित्रको मैदान, भृकुटीमण्डप भित्र रहेको पार्क पुरै सहभागीले भरिएको थियो । प्रर्दशनमा जन सहभागिता उत्साह जनक भएपछि नेकपा नेताहरु उत्साहित भएका छन् ।

उत्साहपूर्ण सहभागिता देखेपछि नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाले सडकबाटै ओलीलाई लतार्ने चेतावनी दिए । अध्यक्ष प्रचण्डले आफूले दोस्रो जनआन्दोलनपछि यति विशाल प्रदर्शन देखेको बताए। भने, उनले भने, ‘दोस्रो जनआन्दोलनपछि यति विशाल प्रदर्शन आज देखेँ । १२-१४ वर्षपछि जनसागर ओर्लिएको छ । प्रतिगमनविरुद्ध जनता जागिसकेका छन् ।’

अध्यक्ष माधवकुमार नेपालले आज जनआन्दोलनको झल्को देखिएको बताए । नेपालले भने, ‘सिंगै देशबाट थोरै संख्यामा आउनु भएको छ, यो संख्या त केही पनि हैन । यो त कास्टिङ् हो कास्टिङ् । जसरी जनआन्दोलनमा देशैभरी जनता जागेका थिए, आजको यो उपस्थितिले जनआन्दोलनको झल्को देखिएको छ । त्यसैले फिल्म सुरु हुन बाँकी नै छ ।’

वरिष्ठ नेता झलनाथ खनालले नेकपामा को आधिकारिक हो सडकमा आएर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।  ‘बालुवाटारमा बसेर हामी नै आधिकारिक हो भन्दैमा पार्टीको आधिकारिकता हुँदैन । केपी ओजीजी कुन पार्टी आधिकारिक हो भन्ने कुरा सडकमा आएर हेर्न निम्ता दिन्छु,’ खनालले भने ।

आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै खनालले भने, ‘कुन पार्टी आधिकारिक हो रु सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु । नेता खनालले केपी शर्मा ओलीले घुँडा टेक्नुको विकल्प नभएको पनि बताए । अहिले आफूहरुसहित नेपाली कांग्रेस र जनता समाजवादी पार्टी आन्दोलनमा रहेको र छुट्टाछुट्टै आन्दोलन भए पनि सबैको प्रहार एकै ठाउँमा रहेको उनले बताए ।

कार्यक्रममा कसले के भने ?

सडकबाटै प्रतिनिधिसभा स्थापना गर्ने चेतावनी

कार्यक्रममा अध्यक्ष ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम सर्वोच्च अदालतले उल्ट्याउने विश्वास व्यक्त गरे । उनले अदालतले सरकारको कदमलाई सदर गरेमा सडकबाटै सच्याउन प्रयास गरिने चेतावनी दिए ।

अदालतले सरकारको कदमलाई प्रोत्साहन गर्ने काम भयो भने नेपालको शान्ति प्रक्रिया ‘डिरेल’ हुन्छ भन्ने चिन्ता आफूलाई रहेको बताए । विसं २०६२-०६३ को जनान्दोलन जसरी नै अहिले सिङ्गो मुलुक प्रतिनिधिसभा विघटनविरुद्ध फेरि पनि सङ्घर्षमा उत्रिएको जिकिर गर्दै उनले नेपाली जनता जागिसकेको र प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म नसुत्ने बताए ।

प्रचण्डले संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा भएपछि राजनीतिक स्थायित्व होस् रोजगारी सिर्जना होस् आर्थिक समृद्धि होस् भन्ने चाहेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीबाटै जनताका पक्षमा काम हुन नसकेको आरोप लगाए ।

‘निर्वाचनका माध्यमबाट नेकपाले दुई तिहाइ जनमत प्राप्त गरेपछि सबै क्षेत्रमा न्याय, सुशासन र समृद्धिको नयाँ युग शुरु हुनेछ, अप्ठ्यारोमा परेका जनतालाई कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले राहत दिन्छ भन्ने सोचिएको भए पनि हामीले त्यसो गर्न सकेनौं’, उनले भने, ‘कम्युनिष्ट पार्टीले झण्डै दुई तिहाइ बहुमत ल्याएपछि घोषणापत्रमा भनेजस्तै गर्न नखोजेको भने होइन, पार्टी एकताबखत भएका सहमति, समझदारी लागू गर्नबाट उहाँ (प्रधानमन्त्री) पछि हट्नुभयो ।’

सहमति गर्ने तर लागू नगर्ने, प्रधानमन्त्री पाउनका लागि जे पनि सहमति गरिदिने तर सत्ता प्राप्त गरेपछि एउटा पनि कार्यान्वयन नगर्ने लक्षण शुरुदेखि नै आभास भएको पनि उनले टिप्पणी गरे । ‘हामीले त्यसका विरुद्ध पनि बहस र सङ्घर्ष गरेका थियौँ । हामीले तीन वर्षमा प्रधानमन्त्रीलाई तह लगाउन सकेनौँ, हाम्रा पनि केही कमीकमजोरी रहे’ उनले भने ।

‘पार्टी विधान नमानेकाले’ प्रधानमन्त्रीका विरुद्ध आफूहरुले पार्टी कमिटीभित्र सङ्घर्ष गर्दै आएको उहाँले बताउनुभयो । “यति गर्दा पनि प्रधानमन्त्रीलाई सच्चाउन सकिएन, म आत्मालोचना गर्न चहान्छु’ उनले भने ।

आफूहरुले पार्टीलाई सिद्धान्तमा आधारित पार्टी बनाउन चाहेको पनि उहाँले बताए । ‘माक्र्सवाद, लेनिनवादको निर्देशनमा चल्ने पार्टी बनाउन चाहेका छौँ । समाजवाद र सामाजिक न्यायप्रति इमान्दार, जनवादी केन्द्रीयतामा चल्ने, सङ्गठनात्मक विधि पद्धतिमा चल्ने, नेपाली जनतालाई राहत दिने र सक्ने, सामाजिक न्यायसहित निजी तथा सहकारीसँग सहकार्य गरेर समाजवादको नेपाली मोडेल बनाउन चहान्छौं’ उनले भने ।

ओलीसँग सहकार्य हुँदैन, सबै प्रष्ट भए हुन्छ : माधव नेपाल


अध्यक्ष माधवकुमार नेपालले अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहकार्य र एकता हुननसक्ने बताए । ‘यिनीहरु फेरि मिल्ने हुन् कि भन्ने शंका कसैले नराखे हुन्छ,’ नेपालले भने, ‘अब उनीसँग कुनै सहकार्य हुनै सक्दैन, सबैजना प्रष्ट भए हुन्छ ।’

अध्यक्षबाट हटाउनुका साथै साधारण सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको बताए । आफू भर्खर सुर्खेतबाट आएको भन्दै अध्यक्ष नेपालले भने, ‘उहाँले कतै मैले गल्ती गरेँ भनेर पत्र पो पठाएको छन् कि ? म पनि संसद पुनस्स्थापनाको आन्दोलन सहभागी हुन्छु भन्नु भएको छ कि ? मैले हाम्रा नेताहरुलाई सोध्न पाएको छैन ।’

अध्यक्ष नेपालले ओलीले ५० वर्षसम्म दु:ख मात्रै दिएको बताए । ‘केपी ओलीले ५० वर्षसम्म हैरान पारे, दु:खमात्रै दिए । मैले जहिले थम्थमाए । मलाई दु:ख मात्रै दिए । जहिले हुर्मत लिने मात्रै काम गरे । पार्टी एकता गरेपछि केपी ओली सुध्रिन्छन् कि भन्ने सोच्यौं तर सुध्रिएनन्,’ नेपालले भने ।

ओलीले घुँडा नटेकेसम्म सडकबाट फर्किन्नौं : झलनाथ खनाल

वरिष्ठ नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले जबसम्म घुँडा टेक्दैनन् त्यसबेलासम्म आन्दोलन जारी राख्ने बताए ।

‘केपी ओली प्रतिगनकारी र कम्युनिस्ट आन्दोलनका घातक तत्त्व हुन्’, खनालले भने, ‘जबसम्म प्रतिगमन सच्चिदैन, केपी ओलीले घुँडा टेक्दैनन् तबसम्म आन्दोलन रोकिँदैन ।’ उनले प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई उनले राजनीतिक कदम भनेपनि त्यो घटना राजनीतिक हुनै नसक्ने दावी गरे ।

ओलीसँग अब साइबर सेना र सेटिङ मात्र बाँकी छ : घनश्याम भुषाल


नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय नसच्चाए जनताले चाँडै इतिहासको कठ्घरामा उभ्याउने चेतावनी दिए । नेता भुषालले नेकपा आज आफ्नै पार्टीका अध्यक्षविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्थामा पुगेको बताए ।

उनले प्रतिगामी कदम सच्चाउन अझै समय रहेको भन्दै सोच्न आग्रह पनि गरे ।‘यो उपस्थितिलाई साक्षी राखेर म कमरेड ओलीलाई भन्छु– तपाईं गलत हुनुहुन्छ । समय हुँदै सोच्नुस् । यदि तपाईंले सोच्नुभएन भने इतिहासको कठघरामा पुर्याइनेछ’, भुषालको भनाइ थियो ।

उनले पार्टी र सरकारमा अल्पमतमा परेपछि ओलीले संसद विघटन गरेको भन्दै चुनाव गर्ने भन्नु ‘भएको छोरो मार्नु’ सरह भएको बताए । उनले चुनावको बहकाउमा लागे ठूलो गल्ती हुने र ओलीको षड्यन्त्र पराजीत गरेरै छोड्ने बताए । ‘ओलीको चलखेल, षड्यन्त्र, जालझेल पुरा गर्न दिइने छैन’, भुषालको भनाइ छ ।

अहिले ओलीसँग साइवर सेना र सेटिङ मात्रै रहेको भन्दै बाँकी शक्ति आन्दोलनको पक्षमा रहेको बताए । उनले सेटिङका कारण अदालतले आफ्नो पक्षमा निर्णय गर्छ भन्ने नसोच्न ओलीलाई आग्रह पनि गरे । ‘आजको अदालत लोकतन्त्र र संविधानको विपक्षमा जान्छ भन्ने हामी सोच्दैनौँ,’ भुषालको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७