चार लाख ३० हजार फ्रन्टलाइनरको सूची तयार, पहिलो प्राथमिकतामा दुई लाख २५ हजार स्वास्थ्यकर्मी

कोभिडविरुद्धको खोप आजदेखि क्षेत्रीय स्टोरमा ढुवानी हुँदै


११ माघ २०७७, आईतवार
korona khop 1 1 scaled

काठमाडौं, ११ माघ । भारतले अनुदानमा दिएको कोभिड– १९ विरुद्धको ‘कोभिसिल्ड’ खोप सरकारले आइतबारदेखि क्षेत्रीय मेडिकल स्टोरमा ढुवानी गर्दै छ । त्यहाँबाट जिल्लाहरूमा वितरण हुनेछ । खोप लगाउन सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिमयुक्त क्षेत्रमा काम गर्ने चार लाख ३० हजार कर्मचारीको सूची तयार गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीलाई राखिएको छ । उनीहरूको संख्या दुई लाख २५ हजार सात सय ८२ छ । बाँकी सरसफाइकर्मी, एम्बुलेन्सचालक, शववाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी छन् ।

केही दिनभित्रै ७७ वटै जिल्लामा एकसाथ खोप अभियान सुरु गरिने मन्त्रालयले जनाएको छ । खोप लगाउन कसैलाई बाध्य भने पारिने छैन । महाअभियान भएकाले कोभिड संक्रमित भई निको भएका र नभएका सबैले स्वेच्छाले खोप लगाउन सक्ने छन् ।

Store.jpg .2021 01 24

स्रोतका अनुसार स्वास्थ्य सेवा विभागले खोप शनिबार नै क्षेत्रीय मेडिकल स्टोरमा ढुवानी गर्न तीन वटा गाडी तयार गरिसकेको थियो । तर, मन्त्रालयले स्वीकृति दिइनसकेका कारण जान पाएनन् । ‘नयाँ खोपका प्रयोग गर्न विभागलाई स्वास्थ्य मन्त्रालयले स्वीकृति दिनुपर्छ । त्यसको पत्र आइनसकेका कारण शनिबार गाडी जान पाएनन् । आइतबार स्वीकृति आउने बित्तिकै जान्छन्,’ विभाग स्रोतले भन्यो ।

अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका एक लाख भायल भारतले अनुदानमा दिएको छ । गत बिहीबार खोप काठमाडौं आइपुगेको थियो ।

एक भायलमा १० डोज खोप हुन्छ । खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको केन्द्रीय खोप भण्डारणगृहमा राखिएको छ । महामारी नियन्त्रणमा फ्रन्टलाइनमा खटिएकाको संख्याका आधारमा ती खोप विराटनगर, हेटौँडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरमा पठाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

खोपविज्ञ डा. श्यामराज उप्रेतीकाका अनुसार एक व्यक्तिले दुई डोज खोप लगाउनुपर्छ । पहिलो खोप लिएको २८ दिनपछि मात्रै दोस्रो डोज लगाइनेछ । ‘कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि नै कोरोना भाइरससँग लड्न सक्ने क्षमता विकास हुन्छ । चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्छ,’ उप्रतीले भने ।

स्वास्थ्य मन्त्रालयले बनाएको स्वास्थ्यकर्मीको र स्थानीय तहहरूले पठाएको फ्रन्टलाइनरहरूको छुट्टाछुट्टै सूची स्वास्थ्य सेवा विभागसँग छ । स्वास्थ्यकर्मीहरूको संख्यामा स्थानीय तहहरूले पठाएको संख्याअनुसार थप गरेर खोप पठाइने विभागले जनाएको छ ।

सरकारले पहिलो चरणमा कुल जनसंख्याको तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ नागरिकलाई खोप लगाउने योजना बनाएको थियो । तर, १० लाख खोप मात्रै आएकाले अहिले करिब चार लाख नागरिकलाई लगाइनेछ । स्वास्थ्य मन्त्रालयको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार १० देखि १५ प्रतिशत खोप काम लाग्दैनन् । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले ४० लाख खोप तत्काल आवश्यक भएकाले पहिलो चरणको अभियान नसकिँदै खोप खरिद गर्ने बताए ।

स्वास्थ्यकर्मीलाई कहाँ कति खोप ?

विराटनगरस्थित मेडिकल स्टोरमार्फत १६ जिल्लाका ४३ हजार दुई सय ६० स्वास्थ्यकर्मीलाई खोप दिने सरकारको योजना छ । यसका लागि ९६ हजार ३७ डोज चाहिने अनुमान गरिएको छ । त्यस्तै, हेटौंडाको मेडिकल स्टोरमार्फत खोप लिने नौ जिल्लामा ३४ हजार दुई सय १२ स्वास्थ्यकर्मी छन् । उनीहरूका लागि ७५ हजार नौ सय ५१ डोज चाहिने अनुमान छ ।

केन्द्रीय खोप भण्डारण स्टोर काठमाडौंमार्फत १० जिल्लाका ६३ हजार तीन सय ६० स्वास्थ्यकर्मीलाई खोप दिइनेछ । यसका लागि एक लाख ४० हजार ६ सय ५९ डोज खोप आवश्यक पर्ने स्वास्थ्य सेवा विभागको अनुमान छ । पोखरास्थित मेडिकल स्टोरमार्फत खोप लिने ११ जिल्लाका १७ हजार ६ सय ३० स्वास्थ्यकर्मी छन् । उनीहरूका लागि ३९ हजार एक सय ३९ डोज खोप चाहिने छ ।

बुटवलस्थित मेडिकल स्टोरबाट १२ जिल्लाका ३९ हजार चार सय ९५ स्वास्थ्यकर्मीलाई खोप दिइनेछ । उनीहरूका लागि ८७ हजार ६ सय ७९ डोज चाहिने अनुमान गरिएको छ । त्यस्तै, नेपालगन्जस्थित मेडिकल स्टोरमार्फत १० जिल्लाका ११ हजार पाँच सय ३२ र धनगढीस्थित स्टोरबाट नौ जिल्लाका १६ हजार दुई सय ९३ स्वास्थ्यकर्मीलाई खोप दिने सरकारको योजना छ । नेपालगन्जका लागि २५ हजार ६ सय एक र धनगढीका लागि ३५ हजार एक सय ७० डोज खोज आवश्यक पर्ने विभागको अनुमान छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७