काउन्टर सभाको तयारीमा ओली समूह


११ माघ २०७७, आईतवार
PM KP Oli scaled

काठमाडौं, ११ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन् ।

नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि वाग्मती प्रदेश कमिटीको आयोजनामा २३ गते काउन्टर आमसभा गर्ने भएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल–दाहाल समूहले देशभर विभिन्न कार्यक्रमसहित आमसभा गर्न थालेपछि ओली समूहले पनि काउन्टरमा त्यस्तै प्रकृतिका कार्यक्रम तय गरेको हो ।

वाग्मती प्रदेशको आयोजनामा हुने आमसभामा देशभरबाटै नेताकार्यकर्ता सहभागी हुने ओली समूहले जनाएको छ । ओली समूहले सबै सम्पर्क मञ्च, जनवर्गीय संगठनलाई आमसभामा सहभागी हुन निर्देशन दिएको छ । यो एक प्रकारको नेपाल–दाहालको आमसभालाई काउन्टर दिने उद्देश्यले आयोजना गर्न लागिएको हो । तर सो समूहका वाग्मती प्रदेश अध्यक्ष आनन्द पोखरेलले यो काउन्टर आमसभा नभएको बताए ।

‘हाम्रो राजनीतिक उद्देश्य र मूल्यमान्यता जनतालाई जानकारी गराउने हेतुले कार्यक्रम गर्न लागिएको हो । काउन्टर आमसभा होइन’, आमसभा आयोजकसमेत रहेका पोखरेलले भने। उनका अनुसार यस्ता सभाले राजनीतिक उद्देश्य बोकेका कारण यसलाई काउन्टर भन्ने शब्द प्रयोग गर्नु हुँदैन । ‘उहाँहरूसँग हामीले प्रतिस्पर्धा नै गर्नु छैन । उहाँहरू निर्वाचनबाट भाग्दै हुनुहुन्छ भने कसरी काउन्टर हुन्छ ? यो त स्वाभाविक आमसभा हो’, पोखरेलले भने ।

उनका अनुसार अराजकताको अन्त्य, संविधान र राष्ट्रिय स्वाधीनताको रक्षा, नेपाली भूमिबाट विदेशी सेना हटाउने अभियान तथा विदेशी सेनामुक्त नेपाल बनाउने अभियानका साथ आमसभा हुन लागेको हो ।

‘हामीले माघ ६ गते वाग्मती प्रदेशको चौथो बैठकबाट माघ २३ गते आमसभा गर्ने निर्णय गरेको हो । यो काउन्टर होइन, हामी कसैलाई काउन्टर दिन चाहँदैनौं । उहाँहरूसँग प्रतिस्पर्धा गर्नु छैन । उहाँहरूलाई जनादेशमा जानु नै छैन । अनि कसरी प्रतिस्पर्धा हुन्छ र’, उनले भने, ‘यो आमसभाबाट राजनीतिक सन्देश दिनु छ । जनतालाई पार्टीको आगामी रोडम्याप जानकारी दिनु छ । मूलतः राजनीजिक स्वाधीनताको रक्षा तथा नेपाली भूमिबाट विदेशी सेना हटाउनु छ । संविधानको रक्षा गर्नु छ । राजनीतिक स्थायित्वका लागि ताजा जनादेशमा जानु छ ।’ उनले आमसभाको तयारी माघ ६ बाटै सुरु गरेको बताए ।

आयोजकका अनुसार पार्टीका सबै तहका नेताकार्यकर्ता, जनवर्गीय संगठन, शुभेच्छुक र सर्वसाधारण आमसभाका सहभागी हुनेछन् । आमसभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलले सम्बोधन गर्नेछन् । ओलीले नेपाल–दाहाल समूहले आयोजना गरेको आमसभालाई ‘केही साना गल्लीमा मान्छे राखेर भीड देखाएको’ टिप्पणी गरेका छन् ।

‘आमसभा के हो, वास्तविक जनप्रदर्शन कस्तो हुन्छ, भन्ने हामी २३ गते गरेर देखाउँछौं । वास्तविक जनपरिचालन कस्तो हुन्छ भन्ने कुराको कास्टिङ त्यो बेला देखाउँछौं,’ प्रधानमन्त्री ओलीले शुक्रबार भनेका थिए ।

नेपाल–दाहाल समूहले प्रदेशस्तरीय आमसभालाई महत्व दिँदै आएको छ । यो समूहले अब विराटनगरमा आमसभाको तयारी गरिरहेको छ । सो समूहले वडा तहमा पनि विभिन्न सभाहरू गरिरहेको छ। ओली पक्षले भने जिल्लाव्यापी सभा गर्दै आएको छ । दुवै पक्षले आआफ्नो समूहमा नेताकार्यकर्ता तान्न सभा र बैठक गरिरहेका छन् । नेपाल–दाहाल समूहले प्रदेशस्तरीय आमसभा गरेपछि ओली समूहले काठमाडौंमा सभा गर्न लागेको हो । ओली समूहले पार्टीका कमिटीहरू पुनर्गठन पनि एकसाथ गर्दै लगेको छ ।

विशेषगरी पूर्वमाओवादी समूह र पूर्वलडाकुहरूलाई ओली समूहले आफ्नो पक्षमा तान्न विभिन्न सरकारी कार्यक्रम अघि सारेको छ । नेपाल–दाहाल समूह भने ओली पक्षले सरकारमा बसेर केही गर्न नसकेको, संविधानको रक्षा गर्न नसकेको र व्यवस्थामाथि नै चुनौती दिएको भन्दै कार्यकर्तामाझ पुगेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७