ओलीलाई नेकपाको साधारण सदस्यबाटै हटाइयो


११ माघ २०७७, आईतवार
KP Sharma Oli

काठमाडौं, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ । स्थायी कमिटीको आज (आइतबार) बसेको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो ।

यो समूहको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय लिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो । यसअघि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले ओलीलाई पार्टीबाटै निकालिएको घोषणा गरेका थिए ।

दाहाल–नेपाल पक्षले यसअघि ५ माघमा प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण पत्र पठाएको थियो । माघ २ मा पेरिसडाँडामा बसेको नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकको निर्णय बमोजिम ओलीसँग स्पष्टीकरण माग्दै बालुवाटारमा पत्र बुझाइएको थियो ।

तर स्पष्टीकरण पत्र बालुवाटार पठाएको पाँच दिन बितिसक्दा पनि ओलीले कुनै जवाफ नदिएपछि आइतवारको बैठकबाट उनलाई पार्टीबाटै निष्कासन घोषणा दाहाल–नेपालले गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७