कोभिडविरुद्धको खोप अभियान बुधबारदेखि

सबै प्रदेशमा ‘एयर लिफ्टिङ’ को व्यवस्था गर्न र विज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली खटाउन माग


१२ माघ २०७७, सोमबार
khop2021 01 25 05 49 46

काठमाडौं, १२ माघ । सरकारले आगामी बुधबारदेखि कोभिड– १९ विरुद्ध पहिलो चरणको खोप अभियान सुरु गर्ने घोषणा गरेको छ । तर, दुई दिन बाँकी रहँदा पनि खोपले पार्न सक्ने अवाञ्छित असर र प्रभावले निम्त्याउने समस्या सम्बोधन गर्ने विषयमा कुनै निर्णय भएको छैन । यसबारे सरोकारवाला निकायले सरकारको ध्यानाकर्षण गराएका छन् ।

खोप अभियान सञ्चालनको पूर्वसन्ध्यामा आइतबार स्वास्थ्य मन्त्रालयले प्रदेशका मुख्यमन्त्री, क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुखलगायत विभाग र महाशाखा प्रमुखहरूसँग उच्चस्तरीय छलफल गरेको थियो । जसमा खोपले ‘साइडइफेक्ट’ हुन सक्ने भएकाले दक्ष चिकित्सकसहितको स्वास्थ्य टोली खटाउन र सात वटै प्रदेशमा ‘एयर लिफ्टिङ’ को व्यवस्था मिलाउन माग भएको छ । ‘एयर लिफ्टिङ’को व्यवस्था नभए खोप सञ्चालनमा कठिनाइ हुने उनीहरूको भनाइ छ ।

सुदूरपश्चिमका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले सातवटै प्रदेशमा एनेस्थेसियासहितको विज्ञ चिकित्सकको टिम तयारी अवस्थामा राख्न आग्रह गरे । ‘सुदूरपश्चिमको कुनै पनि ठाउँमा खोपका कारण कुनै घटना भए, तत्काल उपचार गर्न एयर लिफ्टिङ गर्नुपर्ने हुन्छ । त्यसका लागि एक हेलिकोप्टर तयारी अवस्थामा हुनुपर्छ,’ उनले भने ।

खोप अभियान थाल्दा आउने सबै प्रकारका चुनौतीलाई मध्यनजर गरेर तयारी गर्नुपर्ने डा. अवस्थीको भनाइ थियो । ‘वर्षौँदेखि लगाउँदै आएका नियमित खोप लिएको एक हप्तापछि शिशुको मृत्यु हँुदा त कति ठूलो हंगामा भएका छन् । यो भर्खर आएको नयाँ खोप व्यवस्थापन गर्न त्यति सहज छैन, सरकारले सम्भावित सबै चुनौतीलाई मध्यनजर गर्दै तयारी गर्नुपर्छ,’ उनले भने ।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले खोप लगाउने क्रममा घटना भए तत्काल कुन अस्पताल लैजाने भन्ने अहिलेसम्म स्पष्ट नभएको भन्दै गुनासो गरे । ‘१४ गते केही जिल्लामा मात्रै खोप सञ्चालन गर्छौँ । त्यसको प्रभावकारिता हेरेपछि अन्य जिल्लामा सुरु गर्ने हो ।

अहिले कर्मचारीलाई भ्याक्सिन लगाउन मात्रै तालिम दिइएको छ, त्यसरी सफल हुँदैन । खोप लगाउँदा आउने समस्यालाई विशेष ध्यानमा राखेर उपचारका लागि विशेषज्ञ टोली तयारी अवस्थामा राख्नुपर्छ,’ उनले भने । खोप अभियानभर एयर लिफ्टिङका लागि सबै प्रदेशमा हेलिकोप्टर तयारी अवस्थामा राख्नुपर्ने माग पनि डा. शर्माले गरे ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु गिरीले पनि खोप लगाउँदा ‘साइडइफेक्ट’ हुन सक्ने भन्दै उपचारका लागि विज्ञ चिकित्सकको टोली तयारी अवस्थामा राख्नुपर्ने बताए । ‘खोप लगाएपछि ३० मिनेट अब्जरभेसनमा बस्नुपर्छ । त्यसवेला तालिमप्राप्त मेडिकल अफिसर खटाउनुपर्छ । एक जनाको मृत्यु भयो भने सम्पूर्ण खोप कार्यक्रम नै प्रभावित हुन्छ,’ उनको भनाइ थियो ।

सरुवारोग अस्पताल गण्डकीका डा. विकास गौचनका अनुसार खोप लगाएपछि देखा पर्न सक्ने जटिलताका विषयमा सरकारले ध्यान दिएको छैन । ‘जटिलताको व्यवस्थापनमा स्पष्टता भए हामीलाई काम गर्न सजिलो हुन्छ,’ उनले भने । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालले पनि आइपर्ने समस्या समाधानका लागि एयर लिफ्टिङ आवश्यक भएको बताए । ‘कर्णाली प्रदेश भूगोलका हिसाबले निकै जोखिमयुक्त छ । सबै ठाउँमा १४ गते खोप लगाउन सम्भव छैन । खोप सञ्चालन, अवाञ्छित असर र प्रभाव रोक्न हेलिकोप्टरको व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

स्वास्थ्यकर्मीको प्रश्न : महामारीमा खटिँदा पिपिई र जोखिम भत्ता समेत पाएनौं, खोप चाहिँ किन सुरुमा हामीले लगाउने ?
कोभिड– १९ महामारी नियन्त्रणका लागि दुर्गममा खटिएका स्वास्थ्यकर्मी सबैभन्दा बढी जोखिममा परेका छन् । तर, उनीहरूले सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता समेत पाएका छैनन् । उनीहरूले भने, ‘महामारीमा खटिँदा पिपिई र जोखिम भत्ता समेत दिइएन । तर, अहिले खोपचाहिँ किन हामीले सुरुमा लगाउने ?’ स्वास्थ्य मन्त्रालयले आइतबार गरेको छलफलमा यो प्रश्न पनि उठेको छ ।

‘हामी (स्वास्थ्यकर्मी) ले कोभिडको समयमा साधारण पिपिई पनि पाउन सकेनौँ, त्यस्तो वेला पनि हामीले कर्तव्य बिर्सेनौँ, काममा खटियौँ । सरकारले दिने भनेको जोखिम भत्ता पनि स्थानीय तहका ८० प्रतिशत कर्मचारीले पाएका छैनौँ । खोपचाहिँ किन स्वास्थ्यकर्मीले सुरुमा लगाउने ?’ फिल्डमा खटिएका स्वास्थ्यकर्मीको भनाइ उद्धृत गर्दै सुदूरपश्चिमका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले छलफलमा भने । सबै प्रदेशका स्वास्थ्यकर्मीको यो साझा प्रश्न भएको उनको भनाइ थियो ।

प्रदेश स्वास्थ्य निर्देशकहरूका अनुसार महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीले पिपिईको अभावमा समेत बिरामी हेरेका छन् । बुधबार बिहान १० बजे प्रधानमन्त्रीले अभियानको शुभारम्भ गर्दै कोभिड– १९ विरुद्ध पहिलो चरणको खोप अभियान बुधबारबाट सुरु हुने भएको छ । प्रधानमन्त्री केपी ओलीले खोपको शुभारम्भ गर्दै छन् ।

स्वास्थ्यसचिव लक्ष्मण अर्यालका अनुसार पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स र शवबाहनका चालक, महिला स्वास्थ्य स्वयंसेविका, जेलमा रहेका व्यक्ति र उनीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी, एयरपोर्ट र नाकामा काम गर्ने कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीलाई खोप दिइनेछ ।

अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका एक लाख भायल भारतले अनुदानमा दिएको छ । गत बिहीबार खोप काठमाडौं आइपुगेको थियो । एक भायलमा १० डोज खोप हुन्छ । खोप आइतबार विराटनगर, हेटौँडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरमा पठाइएको छ ।

सरकारले पहिलो चरणमा कुल जनसंख्याको तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार जनसंख्यालाई खोप लगाउने योजना बनाएको थियो । तर, भारतबाट अनुदानमा १० लाख डोज खोप मात्रै आएको छ । एकजनालाई दुई डोज खोप लगाउनुपर्छ । १० देखि १५ प्रतिशत खोप खेर जान्छन् । यस हिसाबले करिब चार लाख नागरिकले मात्रै पहिलो चरणमा खोप पाउँछन् । तर, सरकारले खेर नजाने गरी चार लाख ३० हजार नागरिकलाई खोप दिने योजना बनाएको छ ।

दोस्रो चरणमा १७ प्रतिशत नागरिकलाई दिने सरकारको योजना छ । जसमा ५५ वर्षमाथिका र ४० देखि ५५ वर्ष उमेर समूहका दीर्घरोगीलाई राखिएको छ । त्यस्तै, विदेशबाट फर्किएर आएका दीर्घरोगीलाई पनि १७ प्रतिशतभित्र समेटिएको छ ।

‘सुरुमा चार लाख ३० हजार नागरिकलाई खोप लगाउँछौं । त्यसबीचमा खरिद गर्न सकेको खण्डमा तीन प्रतिशतको अर्थात् नौ लाख ११ हजारमध्ये बाँकी रहेका चार लाख ८१ हजारलाई दिएपछि मात्रै दोस्रो चरणको १७ प्रतिशतमा जानेछौँ,’ स्वास्थ्य मन्त्रालयले आइतबार प्रदेशका मुख्यमन्त्री र क्षेत्रीय स्वास्थ्य निर्देशकहरूसँगको छलफलमा सचिव अर्यालले भने । खोप स्वेच्छामा मात्रै लगाइने उनले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७