पशुपतिमा पञ्चामृत पूजा गर्दा सर्वसाधारणका लागि ५२ लाख रुपैयाँसम्म शुल्क, तर प्रधानमन्त्रीलाई निःशुल्क


१३ माघ २०७७, मंगलवार
oli

काठमाडौं, १३ माघ । देश, जनता र चराचर जगत्को सुख र शान्तिको कामना गर्दै प्रधानमन्त्री केपी ओलीले पशुपतिनाथ मन्दिरमा पञ्चामृत पूजा गरेका छन् । देशका कार्यकारी प्रमुखबाट यस्तो पूजा पहिलो पटक भएको हो ।

पूजाका निम्ति प्रधानमन्त्री ओली बिहान ८ः४० मा पशुपतिनाथ पुगेका थिए । ‘मन्दिर परिसर दर्शनपछि ९ः१० पूजा सुरु भयो । करिब आधा घण्टा पूजा कार्यक्रम चल्यो । यस क्रममा उहाँले चराचर जगत् र राष्ट्रशान्तिको कामना गर्नुभयो,’ पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले भने ।

प्रधानमन्त्री ओलीले एक लाख २५ हजार दीप पनि प्रज्ज्वलन गरेका थिए । ‘यस्तो पूजा गर्दा कोषले सर्वसाधारणका लागि २५ हजारदेखि ५२ लाख रुपैयाँसम्म शुल्क निर्धारण गरेको छ । तर, प्रधानमन्त्री कोषका संरक्षक हुनुहुन्छ, त्यसैले उहाँका लागि सम्पूर्ण पूजासेवा निःशुल्क उपलब्ध गराइएको हो,’ कार्यकारी निर्देशक डा. खतिवडाले भने ।

पूजामा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पर्यटन, नागरिक उड्ययन तथा संस्कृतिमन्त्री भनुभक्त ढकाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई पनि सहभागी थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७