जनमत कुल्चिएर पशुपतिको पाउमा


१३ माघ २०७७, मंगलवार
main2021 01 26 02 08 13

काठमाडौं, १३ माघ । जनताको अमूल्य मतबाट निर्वाचित प्रतिनिधिहरूको सभा नै विघटन नै गरेका प्रधानमन्त्री केपी ओलीको सरकार नागरिकमाथि दमनमा उत्रिएको छ । प्रतिगमनविरुद्ध ‘बालुवाटार मार्च’ मा निस्किएका अभियन्ताहरूमाथि लाठी र पानीको फोहोरा हानेर प्रहरीले कैयौंलाई घाइते बनाएको छ ।

सोमबार दिउँसो २ बजे बृहत् नागरिक समाजको अगुवाइमा ‘फ्लास मोब’ का अभियन्ता, कमलपोखरी बचाऊ अभियान अगुवा कमलपोखरीमा जम्मा भएका थिए । पोखरीको पुरातात्विक पहिचान मासेर क्रंकिटको बनाउन लागिएको विरोधमा उनीहरूले कमलपोखरीको माटो उठाएर टीका लगाएका थिए ।

Narayan wagle.jpg .2021 01 26

सयौंको संख्यामा उपस्थित अभियन्ताले माटोको टीका लगाएर प्रतिनिधिसभा विघटनविरुद्ध नारा लगाउँदै मार्चपास सुरु गरेका थिए । नक्साल हुँदै अघि बढेका उनीहरूको गन्तव्य थियो बालुवाटार । प्रधानमन्त्री निवासअगाडि सडकमा धर्ना दिने उनीहरूको योजना थियो । तर, हातमा लाठी बोकेका प्रहरी पनि सँगै गइरहेका थिए । अभियन्ता भने नारा लगाउँदै संयमित रूपम अघि बढिरहेका थिए ।

भाटभटेनीअगाडि पुुगेपछि मात्र अभियन्ताहरूलाई थाहा भयो, प्रहरीले ‘ब्यारिकेड’ लगाएर बालुवाटारतर्फको सडक अवरोध गरिसकेको थियो । नागरिक समाजले भाटभटेनीको पीपलबोटमा कोणसभा गर्‍यो ।

‘फ्लास मोब’ का किशोरीहरूले केही क्षण नारा लगाए, गायक प्रदीप देवानले गोपालप्रसाद रिमालको ‘एक जुगमा एक दिन एक पटक आउँछ…’ बोलको गीत प्रस्तुत गरे । शिल्पी थिएटरले सडक नाटक प्रस्तुत गरेको थियो भने प्रणिका कोयूले कविता वाचन गरिन् ।
कोणसभामा बोल्दै मानव अधिकारकर्मी मोहना अन्सारीले सुरुमै प्रश्न गरिन्, ‘हामीलाई बालुवाटारको गेट हेर्ने समेत अनुमति किन छैन ?’

संविधानको रक्षा नागरिकले गर्ने र नागरिकको रक्षा प्रहरीले गर्नुपर्ने भन्दै उनले सुरक्षाकर्मीलाई सोधिन्, ‘हामी कमलपोखरीबाट बालुवाटारसम्मको मार्चमा आएका हौं । हामी शान्तिपूर्ण प्रदर्शनमा छौँ । तर, नागरिक अधिकारको रक्षा गर्न तपाईंहरूले सडक बन्द गर्नु भएको हो ? प्रहरी साथीहरूले जति छेकेर बसे पनि बालुवाटार जनताको हो, जनता त्यहाँ पुग्छन् ।’

nirga nabin.jpg .2021 01 26

अभियन्ता डा. गोविन्द केसीले सडककै भाषाले ०४६ साल, ०६२–६३ सालको परिवर्तन सम्भव भएकाले तानाशाही प्रवृत्ति नदेखाउन कामचलाउ प्रधानमन्त्रीलाई चेतावनी दिए । उनले भने, ‘जनताले ज्यानको आहुती दिएर ल्याएको संविधानलाई कुल्चिएर केपी ओली श्री ७ महाराज बने । ऊनी (ओली) सडकको भाषा सुन्दैनन् । तर, उनलाई सुन्ने बनाइन्छ,’ डा. केसीको भनाइ थियो ।

साहित्यकार खगेन्द्र संग्रौलाले न्याय र सत्यको यात्रा सधैँ कठिन हुने, तर प्राप्ति मिठो हुने बताउँदै भने, ‘नेपाली जनताले श्री ३, श्री ५ दासता अस्वीकार गरे । खड्गप्रसाद कत्रो ठूलो महाराज हो ?’
नागरिक समाजका अभियन्ता नारायण वाग्लेले अविश्वासको प्रस्ताव आउन लाग्यो भनेर प्रधानमन्त्री ओलीले संसद् नै विघटन गरिदिएको बताए ।

‘अविश्वासको प्रस्ताव ल्याउन थाले, मलाई हटाउन खोजे । अझ खाली खुट्टा हिँडाएर बालकोट पठाउन खोजे भन्ने टिप्पणी सुनियो,’ वाग्लेले सोधे, ‘हिजोको शासक नारायणहिटीबाट नागार्जुन जान हुने, आजका ओली बालुवाटारबाट बालकोट जान नहुने ?’ वाग्ले ‘शान्तिपूर्ण तरिकाले बालुवाटार घेराउ गर्न जाऔं’ भनेपछि मार्च अघि बढ्यो । तर, रोक्न प्रहरी तम्तयार थियो । प्रहरीले रोक्न खोज्यो । तर, नागरिक रोकिएनन् ।

मार्च थप ५० मिटर अगाडि मात्र के पुगेको थियो, प्रहरीले लाठीचार्ज सुरु गर्‍यो । प्रहरीले बर्साएको लाठीले वाग्ले, अन्सारी, सिएन थारू, रमेश भट्टराई, निर्घराज जैसी, संघर्ष दाहाल, कुमार बर्तौला, स्वर्णिम दिनेश, नरेन्द्र श्रेष्ठ, राजेन्द्र महर्जन, प्र्रकृति भट्टराईलगात अभियन्ताहरू त्यहीं लडे । अन्य आन्दोलनकर्मीमाथि पनि प्रहरीको लाठी बर्सिरह्यो । घाइतेहरूलाई अन्य अभियन्ताले उठाएर छेउमा ल्याए ।

अभियन्ताहरू फेरि सम्हालिएर अघि बढ्न थाले । तर, त्यतिन्जेलमा पानीको फोहोरा फाल्ने ‘वाटर–क्यानन’ ल्याइसकिएको थियो । अघि बढ्न खोज्दा वाग्ले, सञ्जीव उप्रेती, युग पाठक, संगीत स्रोतालगायतलाई सीधा ताकेर पानीको फोहोरा हानियो । वाग्ले फेरि त्यहीं ढले ।

नारा लगाइरहेका नवराज गुरुङ, अरुणदेव जोशी, बच्चु हिमांशुलगायत पनि पानीको फोहोराले ढले । तर, प्रहरीको ज्यादती रोकिएन । आन्दोलनकर्मीलाई लखेटेर उनीहरूले भाटभटेनीसम्म ल्याए । त्यहीँ फेरि कोणसभा भयो, जहाँ वाग्लेले भने, ‘यो दमन हो, ज्यादती हो । यही बिन्दुबाट तेस्रो जनआन्दोलन सुरु भएको छ ।’ उनले सरकारको दमनप्रति खेद प्रकट गर्दै घाइतेहरूको उपचार सरकारले होइन, नागरिक आफैले गर्ने घोषणा पनि गरे ।

निर्घराज जैसी गम्भीर घाइते छन् । शिक्षण अस्पतालमा उपचाररत उनलाई राति १० बजे मात्र उनको होस आएको छ । अरू घाइते भने उपचारपछि घर फर्किएका छन् । जनक ढुंगाना, सुरज तामाङ, कुलदीप शर्मा, सुनील श्रेष्ठ र गोविन्द भण्डारीको शिक्षण अस्पतालमै सामान्य उपचार भएको छ । संघर्ष दाहाल, कुमार बर्तौला, स्वर्णिम दिनेश, राम नरेश यादवलगायतको उपचारका लागि मोडेल अस्पताल बागबजारमा लगिएको थियो ।

प्राध्यापक रमेश भट्टराई हेल्पिङ ह्यान्ड अस्पताल चाबहिलमा सामान्य उपचारपछि घर फिरेका छन् । तराई–मधेस राष्ट्रिय परिषद्का सदस्य सिएन थारू र फोटोग्राफर नरेन्द्र श्रेष्ठको हिमाल अस्पतालमा उपचार भयो ।

लाठीचार्ज र पानीको फोहोरा हानेर नागरिकलाई निराश बनाउने ओली सरकारको नियत भए पनि आफूहरू पछि नहट्ने थारूको भनाइ छ । ‘नागरिकको आवाजलाई सरकारले चुनौतीका रूपमा लिएको छ, यसको मतलब ओलीले आफूबाट गल्ती भएको महसुस गरेका छन्,’ थारूले नयाँ पत्रिकालाई भने, ‘दमनले नागरिक रोकिँदैनन्, डटेर प्रतिरोध गर्छन् ।’

प्रहरीले टाउकोमा लाठी हान्दा निर्घराज जैसी गम्भीर घाइते भएका छन् । त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्रमा मास्टर्स अध्ययनरत जैसी घटनास्थलमै बेहोस भएपछि शिक्षण अस्पताल लगिएको थियो, अबेर राति मात्र उनको होस आएको छ । ‘सिटी स्क्यानमा आन्तरिक रक्तस्राव देखिएको छ, ढाडमा भित्री चोट लागेको छ,’ स्वास्थकर्मीको भनाइ छ ।

नागरिक आन्दोलनलाई चुप लगाएपछि मनमौजी गर्न पाइने भएकाले सरकार दमनमा उत्रिएको अभियन्ता प्रकृति भट्टराईको भनाइ छ । ‘नागरिक आन्दोलनका अगुवाहरूलाई छानीछानी लाठी र फोहोरा बर्साइएको छ । यसरी दमन गरेर सत्तामा आफूलाई टिकाइराख्न चाहन्छ ओली सरकार । तर, जति दमन भयो, हामी उति उठ्नेछौँ,’ उनले भनिन् ।

प्रहरीले गरेको व्यवहारलाई ओलीको अत्याचार भन्छन् नागरिक आन्दोलनका संयोजक युग पाठक । शान्तिपूर्ण रूपमा बालुवाटारलाई चुनौती दिन खोज्दा राज्यले षड्यन्त्रपूर्वक आक्रमण गरेको पाठकको दाबी छ । ‘एक निरंकुश शासकले जे मन लाग्यो त्यही गर्ने, लोकतन्त्र र जनताको अधिकारमाथि हस्तक्षेप गर्ने, यो सह्य छैन भनेर बालुवाटार मार्च राखेका हौँ,’ उनले भने, ‘यो मार्च निरंकुशता र प्रतिगमनको प्रतीक बालुवाटारलाई चुनौती हो । आफै श्रीपेच लगाएका ओेलीले शान्तिपूर्ण आन्दोलनमाथि बर्बर दमन गरे, तर आन्दोलन रोकिँदैन ।’

त्यस्तै, बृहत् नागरिक आन्दोलनका तर्फबाट सोमबार साँझ विज्ञप्ति जारी गर्दै नागरिक अगुवाहरूले तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गरेका छन् । ‘नागरिकले गरेको शालीन र शान्तिपूर्ण अभियानलाई प्रहरीले नै बलजफ्ती मुठभेडमा परिणत गरेको छ । सरकारी रबैयाको बृहत् नागरिक आन्दोलन घोर भत्र्सना गर्दछ,’ आन्दोलनले भनेको छ, ‘सबैखाले राजनीतिक एवं सांस्कृतिक प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन तेस्रो जनआन्दोलन घोषणा गर्दछ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७