तुलनात्मक रूपमा कोभिसिल्ड सुरक्षित


१३ माघ २०७७, मंगलवार
web1 10855742 9480ba734e2f4bf085d30ee7b54469c1

काठमाडौं, १३ माघ । बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञले आग्रह गरेका छन् । सरकारले पर्याप्त मात्रामा खोपको प्रभावकारिता र लगाएपछि हुने प्रभावबारे जनचेतना प्रवाह नगर्दा अधिकांश नागरिकले खोपबारे शंका व्यक्त गर्न थालेका छन् ।

केही सर्वसाधारणले खोप लगाएपछि झन् खतरा हुने आशंका गर्दै खोप नलगाउने प्रतिक्रिया दिन थालेका छन् । सरकारले खोपका लागि व्यवस्थापकीय तयारी गरे पनि खोपबारे जनचेतना जागरण गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले खोप लगाउनु पूर्व सरकारले पर्याप्त मात्रामा जनचेतना प्रवाह गरेको भए अझ प्रभावकारी हुने बताए । उनले भने, ‘खोप लगाउनु पर्छ । यो खोपले विभिन्न फेज पार गर्दै आएको छ । हरेक भ्याक्सिनमा सानातिना समस्या देखिन सक्छ । यस विषयमा सरकारले ढुक्क पार्ने खालका पर्याप्त मात्रामा जानकारी गराउनु पर्छ ।’

खोप लगाइसकेपश्चात् जिउ दुख्ने, थकाइ लाग्ने र टाउको दुख्ने समस्या देखिन सक्ने अध्ययनले देखाएका छन् । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले मन्त्रीहरू, सचिवहरू, विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिलाई खोप दिने कार्यक्रम राखेको भए स्वास्थ्यकर्मी तथा अन्य सेवाग्राहीलाई खोप लगाउन ढुक्क हुने स्थित सिर्जना हुने बताए ।

उनले भने, ‘नेपालमा आएको कोभिसिल्ड खोप तुलनात्मक रूपमा सुरक्षित मानिएको छ । खोप लगाउँदा सामान्य साइड इफेक्टका रूपमा ज्वरो आउने, टाउको दुख्ने र खोप लगाएको ठाउँमा दुख्नेलगायतका समस्या पाँच–सात दिनसम्म रहन सक्छ ।’ राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७