अलैंचीमा लगानीे गरेकामा पछुताउँदै


१३ माघ २०७७, मंगलवार
alaichi

ताप्लेजुङ, १३ माघ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ का खगेन्द्र लिम्बूले मलेसियाबाट नै गाउँको अलैंची बगानमा रु आठ लाखमा ८ वर्षका लागि बन्दकी लगाए । अहिले त्यही अलैंची बगानमा गरेको लागानीले पलपलमा पछुताउनु परेको छ ।

लिम्बूको घर परिवारको आर्थिक अवस्था कमजोर थियो । उनले कक्षा ५ उत्तीर्ण गर्न पनि सकेनन् । बिहान बेलुका हात मुख जोर्नका लागि बुबाआमा सहित उनी अरूको घरमा खेताला जान पथ्र्यो । खेताला गरी ल्याएको अन्नले साँझबिहान छाक टार्नुपर्थो । २०६४ सालमा लिम्बू घरको आर्थिक अवस्था सुधार्ने सोचका साथ गाउँघर छोडे । उनले गाउँघर मात्र छोड्नु भएन नेपाल नै छोडेर मलेसिया पुगे ।

आफ्नै गाउँमा दुःख गर्ने लिम्बूलाई अरूको देशमा त्यति काम गर्न समस्या परेन । उनी भन्छन्, ‘परिश्रम गर्ने मान्छेले जता गए नि परिश्रम गनुमै आनन्द आउँछ ।’ मलेसिया पुगेको २ वर्ष पूरा भयो । दुःख गरेर कमाएको पैसा केमा लगानी गर्ने भन्ने मेसो पाएनन् । तराईको झापा, इटहरीतिर जग्गा किन्ने योजना बुन्नु थाले ।

त्यही समयमा नेपालमा अलैंचीको मूल्य ४० केजीको रु एक लाख २० हजार पुग्यो । अलैंचीको मूल्य सोचेकोभन्दा उच्च मूल्य आउँदा उनी निकै पछुताए । अब उनको एक मात्र सोच आयो । अरूको देशको माटोमा अमूल्य पसिना झार्नुभन्दा आफ्नै देशको माटोमा अलैंची खेती गर्ने ।

उनले भने, ‘मैलै मलेसियामा कमाएको र साथीहरुसँग सापटी मागेर आठ लाखमा गाउँको अलैंची बगानमा बन्दकी लगाए ।’ विदेशमा गरेको मिहिनेतले आफ्नै गाउँमा सुन फलाउने सोचका साथ मलेसिया छोडेर घर फर्किए । घर आएर अलैंची बगान विस्तार गर्नतिर लागे ।

गत वर्ष अलैंचीको याममा लिम्बूले पाँच मन सुक्का अलैंची निकाले । दिनदिनै खेताला पाउन मुस्किल हुँदै गएको छ । खेतालाको ज्यालादर दिन प्रतिदिन बढ्दो छ । एक दिनको खेतालाको ज्याला दर ५०० देखि ८०० सम्म दिनुपर्ने लिम्बू बताउँछन् । पाँच मन अलैंचीले एक लाख हाराहारी मात्र बिक्री गरेको उनको भनाइ छ । अलैंची याम शुरुदेखि अन्तिमसम्म रु एक लाख ५० हजारभन्दा बढी पर्न आएको उनले बताए ।

विगत ५ वर्षअगाडि मलेसिया हुँदै रु आठ लाख लगानी गरेको पैसाले अरू व्यवसायमा लागानी गरेको भए हुन्थ्यो रहेछ जनाउँदै अलैंची बगानमा लागानी गरेकामा अहिले पछुताएको उनी बताउँछन् । उनले भने, ‘गाउँघरमा ३६ प्रतिशले ब्याज दर प्रचलनमा तर मैले २४ प्रतिशतमा गाउँमा पैसामात्र ब्याजमा लगाए भने पनि एक वर्षमा रु एक लाख ९२ हजार आउँथ्यो ।’ हिसाब गर्दै आफू अलैंची बगानले फसाएको सुनाए ।

लिम्बू मात्र होइन सोहीका विर्ख फेम्बूले वैदेशिक रोजगारीमा कमाएको पैसा पनि अलैँची बगानमा लगानी गरेको बताए । अलैंचीको राम्रो भाउमा बिक्री हँुदै विदेशदेखि नै बगानमा लगानी गरेको तर अहिले बगान सफा गर्न पनि आफ्नै गोजीबाट पैसा निकाल्नुपर्ने भएको उनी बताउँछन् ।

त्यस्तै मेरिदेन गाउँपालिका–६ का विमना लिम्बूले पनि अलैंचीको राम्रो मूल्य हुँदा गाउँ नजीकैको बगानमा लागि गर्ने भयो । तर अहिले अलैँचीको मूल्य राम्रो नहँुदा पछुताउनु परेको लिम्बूले बताए । यी तीन व्यक्ति एक प्रतिनिधि मात्र हुन् । एक लाख २० हजार अलैंचीको मूल्य पुग्दा अरू खेती छेडेर ताप्लेजुङका किसानले आफ्नो घरआँगन सबै खाली नराखी अलैंची बगान विस्तार गर्नतिर लागेको थियो ।

प्रत्येक वर्ष अलैँचीको मूल्य ओरालोतिर लागेपछि अलैँची किसान निरासिँदै बगान मासेर अन्य खेतीपातीमा लागेको फक्ताङलुङ गाउँपालिका–६ का अलैँची कृषक सन्तकुमार फेम्बूले बताए । एक पटक आएको एक लाख २० हजार अलैँचीको मूल्य कहिलै फर्केर आउन सकेन । खाडी मुलुकदेखि धेरै युवा त्यो समयको अलैँचीको मूल्यले गाउँ फर्कायो र बगान विस्तार भयो । अलैँचीको मूल्य अहिलेसम्म फेर्न सकेको छैन ।

विभिन्न राष्ट्रसँग अलैंची निर्यात हुन समाचारहरु कहिलेकाहीँ देखिए पनि काम भने नदेखिएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तथा अलैंची व्यापारी दिनेश अधिकारीले बताए । अधिकारीका अनुसार अहिले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा ४० केजी अर्थात् एक मन अलैँचीको रु २४ हजारमा खरीदबिक्री भइरहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७