केटूको चुचुरोमा गुञ्जियो ‘सयौं थुँगा’


१४ माघ २०७७, बुधबार
Nepali Jhanda2021 01 27 02 06 12

काठमाडौं, १४ माघ । संसारको दोस्रो अग्लो हिमाल माउन्ट केटु ‘हत्यारा हिमाल’ का नामले चिनिन्छ । नचिनियोस् पनि किन ? आरोहण गर्न जाने तीन जनामध्ये एक जनाको ज्यान यो हिमालले लिने गरेको छ ।

तर, मृत्यु समानको यो हिमालको चुचुरोमाथि नेपाली साहसी आरोहीहरूले हिउँदकै समयमा विजय प्राप्त गरे । कीर्तिमानी आरोही निर्मल पुर्जामगरको नेतृत्वमा रहेको १० जनाको समूहले विश्वभरका पर्वतारोहीलाई चकित बनाउँदै यो हिमाल हिउँदको समयमा चुमेर इतिहास रच्योे । मृत्युलाई चुनौती दिँदै उनीहरूले नेपालको राष्ट्रिय गान गाउँदै आठ हजार ६ सय ११ मिटर अग्लो चुचुरोमा नेपालको राष्ट्रिय झन्डा फहराए ।

पाकिस्तानमा रहेको माउन्ट केटु विश्वको दोस्रो अग्लो हिमशिखर हो । वसन्त ऋतुमा ३१ जुलाई १९५४ मा माउन्ट केटुको सफल आरोहण भएको थियो । तर, आरोहीहरूले ३८ वर्षदेखि हिउँदमा पनि यो हिमाल आरोहणको प्रयास गरे पनि कोही पनि सफल हुन सकेको थिएन । नेपाली आरोहीको टोलीले हिउँदमा यो हिमाल आरोहण गरेर नयाँ कीर्तिमान मात्रै राखेनन्, सम्भवतः तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहणपछि विश्वभर पाए जस्तै चर्चा उनीहरूले पनि पाए ।

माउन्ट केटु हिमाल आरोहणको पहिलो प्रयास १९०२ मा भएको थियो । तर, त्यसको ५२ वर्षपछि १९५४ मा मात्रै पहिलो आरोहण सफल भएको थियो । तत्पश्चात् वसन्तकालीन हिमाल आरोहणका क्रममा हालसम्म दुई सय ६० आरोहीले सफलता हात पारेका छन् । हिमाल आरोहणमा जाने २९ प्रतिशत आरोहीको मृत्यु भएको तथ्यांकले देखाउँछ । यस तथ्यांकले नै केटु आरोहण चुनौतीपूर्ण रहेको र यसका लागि अदम्य साहस, बहादुरी, इच्छाशक्ति चाहिन्छ भन्नेमा दुईमत छैन ।

माइनस ६५ डिग्री तापक्रममा दुई सय किलोमिटर प्रतिघन्टाको गतिको वेगले चल्ने हावा, पातलो वायुचाप र अक्सिजनको कमीमा ठाडो उकालो हिउँमाथि चढ्न पक्कै सजिलो काम थिएन । त्यसमा पनि बारम्बार गइरहने हिमपहिरो र खसिरहने ढुंगाका बीच आफूलाई सुरक्षित राख्दै सयौँ मिटर गहिरा खर्पसहरूबाट जोगिँदै केटु जस्तो अति नै ज्यानमारा तथा टेक्निकल पिकको सफल आरोहण गर्न अदम्य साहस चाहिन्थ्यो । तर, गत मंसिरबाट सुरु भएको केटुको विन्टर समिटमा सफलता प्राप्त गरेर १० नेपाली आरोहीको टोली मंगलबार स्वदेश फर्किएको छ ।

केटुको विन्टर समिट एक्सपिडिसनको सुरुवात १९८३ देखि सुरु गरिए पनि ३८ वर्षमा कुनै पनि आरोही सात हजार ६ सय ५० मिटरभन्दा माथि जान सकेका थिएनन् । सन् २०२१ जनवरी १६ अर्थात् ०७७ माघ ३ गते ३८ वर्षपछि पहिलो पटक विन्टर समिट एक्सपिडिसनमा भाग लिएका १० जना नेपाली आरोहीले आरोहण सफलतापूर्वक गरेका छन्, जुन आरोहण दलको नेतृत्व गरेका थिए निर्मल पुर्जाले ।

१६ वर्ष ब्रिटिस गोर्खा सेनामा जागिर खाएका पुर्जाकै अगुवाइमा मिग्मा शेर्पा, मिङ्मा ग्याल्बु शेर्पा, मिङ्मा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, दावा तेन्जिङ शेर्पा, पेमा छिरी शेर्पा, किलु पेम्बा शेर्पा, दावा तेम्बा शेर्पा र सोना शेर्पाको समूहले सफलता प्राप्त गरेको हो । आरोहण टोली डिसेम्बर ६ मा नेपालबाट हिँडेको थियो । नयाँ पत्रिका

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७