भारत र काँग्रेस भ्रममा


१४ माघ २०७७, बुधबार
kp oli In90auuAFq 1 scaled

काठमाडौं, १४ माघ । ‘भारत र कांग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र सोचेको कुरा अर्कै छ’ राप्रपा अध्यक्ष कमल थापाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा लामो भेट गरेपछि निकटस्थहरुलाई सुनाएको प्रसंग हो यो ।

०७२ मा गठित आफ्नो सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मा पाएका कमल थापासँग ओलीको अहिले पनि सम्बन्ध सुमधुर छ । उक्त भेटमा ओलीले थापालाई संसद पुनस्र्थापना कुनै हालतमा नहुने बताए । उनले पनि पत्याएका रहेछन् ।

‘एक पर्सेन्ट पनि चान्स छैन (पुनस्र्थापनाको), चुनाव नै हुन्छ, सबैतिर सेटिङ भैसकेको छ,’ उनले निकटस्थलाई सुनाए ।

कमल थापाले प्रचण्डहरुको कुरा पनि सुनेका रहेछन् । उनीहरु पनि चोलेन्द्रको भर छैन । आन्दोलन गरेरै जानुपर्छ भन्नेमा छन् । कमल थापाको कुरा सुनेपछि राप्रपाका एक नेताले सुनाए, ‘लागे–पुगेसम्म अहिले पनि कमल थापा ओलीसँग मिल्न पाए हुन्थ्यो भन्नेमा छन् । तर, पार्टीको लाइन काँग्रेस जसरी जान्छ, त्यसरी जाऔँ भन्ने छ ।’

कमल थापाको ब्रिफिङअनुसार, केपीले चुनाव गराए भने काँग्रेस र भारतले सोचे जस्तो हुने सम्भावना नै छैन । ती दुईको अनुमान छ, नेकपा फुट्यो, अब पालो काँग्रेसकै हो । यसबाट मधेसी नेताहरु अलिक बढी फाइदामा हुँदा भारतले आफ्ना एजेण्डा अगाडि बढाउने माध्यम र सहजता पाउने अनुमान गरेको छ ।

तर, कमल थापाका अनुसार, केपीले रोजेका, छानेका मान्छेले मात्रै चुनाव जित्ने र आफूसँग पाँचजना भए पनि अरुभन्दा बढी सांसद हुने गरी चुनाव गराउँदै छन् । रामबहादुर थापा (बादल) नाममात्रको गृहमन्त्री हुन् । सिडिओ, एसपी सबै बालुवाटारले खटाउने हो । गृहमन्त्रीले डिएसपीधरी सरुवा गर्न नसक्ने अवस्था छ ।

मन्त्रालय, त्यसअन्तर्गतका नियुक्तिमा कुनै मन्त्रीको केही चल्दैन । सबैमा बालुवाटार हावी छ । रक्षा मन्त्रालय आफैसँग राखेका छन् । अर्थात्, जो केपीसँग मिल्छ, उसले मात्रै जित्ने चुनाव हुँदैछ । त्यस्तो चुनावमा काँग्रेसका रामचन्द्र पौडेल, जसपा नेता डा.बाबुराम भट्टराईसहित सबैलाई जिताइ दिने, तर बहुमत आफूले ल्याउने चाहना छ ।

हुन पनि केपीसँग अहिले सेना, प्रहरी, निर्वाचन आयोगदेखि सबै शक्ति केन्द्रित छ । आश्वासन बाँड्ने ठाउँमा उनै छन् । २ भोटले जिते पनि माननीय, हजार भोटले जिते पनि माननीय । यदि केही गरी चुनाव भएन भने अदालतका कारणले मात्रै हुँदैन । उसले संसद पुनस्र्थापना ग¥यो भने मात्र चुनाव नहुने हो । तर, संसद व्युँतिने एक प्रतिशत पनि सम्भावना नभएको कुरामा ओली हिमालझैं अटल छन् ।

०३८ सालमा दरबारको चाहनाबमोजिम भएको चुनावलाई सूर्यबहादुर थापाले धाँधली भयो भनेका थिए । तर, त्यो चुनावमा मात्रिकाप्रसाद कोइराला र केआई सिंहलाई समेत जिताइएको थियो । अर्थात्, उदार र अनुदार दुबै पञ्चलाई राष्ट्रिय पञ्चायतमा लगियो, तर अनुदार पञ्चहरुको संख्या बढी बनाइयो । अहिले केपी ओलीको चुनावी अभ्यास यस्तै रहेको ब्रिफिङ छ, कमल थापाको । उनको अन्तिम विश्वास चाहिँ के छ भने– अहिले त के देखिन्छ र ओलीको रुप ! चुनावपछि को, कति तानाशाह बन्न सक्छ प्रष्ट हुनेछ । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७