हिमालय एयरलाइन्स र यती एयरलाइन्सबीच व्यवसायिक सहकार्य


प्रकाशित मिति : January 27, 2021

काठमाडौं, १४ माघ । हिमालय एयरलाइन्स् र यती एयरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्श कार्य क्षमतामा क्रमिक विस्तारको लागि एक आपसमा रणनीतिक व्यापार साझेदारी गरेका छन् ।

एप्लिकेशन प्रोगामिङ्ग ईन्टरफेस (एपिआई)को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौता दुवै कम्पनीको प्रतिनिधिहरुले आज आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन् ।

हिमालय एयरलाइन्स्ले हाल मध्य पूर्वी एशिया र दक्षिण एशियाका विभिन्न गन्तव्यहरुमा अन्तर्राष्ट्रिय उडानहरु सञ्चालन गरिरहेको छ भने यती एयरलाइन्स नेपालभर सञ्जाल बिस्तार गरी विभिन्न आन्तरिक गन्तव्यहरुमा नियमित उडान गर्दै आएको छ ।

सम्झौताअनुसार दुबै एयरलाइन्स्ले आ–आफ्नो टिकटहरु जारी गर्न, नयाँ सेवाहरुलाई समावेश गर्ने यात्रुहरुलाई टिकट खरीदमा सरलीकृत बनाउनुका साथै आफ्ना सेवाहरु एकअर्काको वेबसाईटमा सहज किसिमले उपलब्ध गराउने कम्पनीहरुले जनाएका छन् । यद्यपि यसमा आवश्यक प्राविधिक प्रक्रियाहरु पूरा गर्न बाँकी रहेकोले कार्यान्वयनमा आउन केही समय लाग्नेछ ।

उक्त कार्यक्रममा बोल्दै हिमालय एयरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले दुई एयरलाइन्स्बीचको सहकार्य हिमालय र यती बिच रणनीतिक व्यापारीक साझेदारीको दिशामा पहिलो चरण भएको बताए । ‘व्यवसाय विस्तारका लागि नयाँ मार्गहरु खोज्न, व्यवसायलाई बढाउन हाम्रो यो साझेदारी महत्वपूर्ण हुनेछ,’ उनले भने । यस सहकार्यले व्यवसायलाई बढाएर राजश्वमा वृद्धि गर्न सहयोग पुग्ने उनको भनाई थियो ।

यती एयरलाइन्स प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले हिमालय एयरलाइन्स्लाई साझेदारको रुपमा पाउँदा आफूहरुलाई खुशी र उत्साहित बनाएको बताए । उक्त सहकार्यले व्यवसायिक समुदायलाई सकारात्मक सन्देश दिएको उनको भनाई थियो ।

प्रमुख कार्यकारी अधिकृत रिमालले उक्त समझदारीले दुवै एयरलाइन्स्का यात्रुहरुले थप लाभ प्राप्त गर्नसक्ने बताए । ‘हाम्रो संजाल विस्तारको लागि हिमालय एयरलाइन्स्सँग सहकार्य गर्ने अवसर पाउँदा हामी खुशी छौँ,’ रिमालले भने ।
यती एयरलाइन्स् र हिमालय एयरलाइन्स्ले व्यवसायका लागी नयाँ श्रोतहरु ल्याउन, यात्रुहरुको बिच भरोसा बढाउन र व्यापारिक दक्षता बढाउने कार्य गर्न महत्वपूर्ण क्षमता राख्दछ ।

साझेदारीले दुवै एयरलाइन्स्को सम्भावित यात्रुहरुको लागि नविन विचारहरु अन्वेषण गर्ने, ग्रहण गर्ने र प्रचार गर्ने उक्त कम्पनीले जनाएको छ । दुवै एयरलाइन्स्का वेबसाईटका माध्यमबाट यात्रुहरुले यती एयरलाइन्स्, तारा एयर र हिमालय एयरलाइन्स्ले उडान भर्ने राष्ट्रिय र अन्तराष्ट्रिय दुवै गन्तव्यहरुमा चाहेअनुसारको उडान सेवा छनौट गरी फाइदा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्