पुलिसलाई हराउँदै शसस्त्र फाइनलमा {भिडियो}


प्रकाशित मिति : January 28, 2021

काठमाडौं, १४ माघ । एपीएफ क्लब प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा बुधबार भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । अब उपाधिका लागि एपीएफले बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ । बिहीबार हुने दोस्रो सेमिफाइनलमा बागमती र आर्मी भिड्ने छन् ।

बुधबार पहिलो सेमिफाइनलमा एपिएफले पुलिसलाई ३० रनले हराउँदै दोस्रो पटक फाइनलमा स्थान बनाएको छ । जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको पुलिस ४९।२ ओभरमा १ सय ७३ रनमा अल आउट भयो । पुलिसका तल्लोक्रमका ब्याट्सम्यान पवन सरार्फले सर्वाधिक ४० रनको योगदान दिए । पवनले ६१ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

पुलिसले खराब सुरुवात गरेको थियो । उक्त खराब सुरुवातलाई मध्यक्रमका ब्याट्सम्यानले पनि सम्हाल्न नसक्दा पराजित हुन पुगेको हो । पहिलो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई भुवन कार्कीले शून्यमा एलबिडब्लू आउट गरेका थिए ।

तीव्र गतिका बलर कमलसिंह ऐरीले चौथो ओभरको चौथो बलमा सुनिल धमला तीन रनमा एलबिडब्लू आउट गर्दै एपिएफलाई उत्कृष्ट सुरुवात दिलाए । भुवन कार्कीले पाँचौं ओभरको पहिलो बलमा अमित श्रेष्ठलाई ८ रनमा सन्दीप जोराबाट क्याच गराउँदै ३–१५ को कमजोर अवस्थामा पुर्याइदिएका थिए ।

चौथो विकेटका लागि विकेटकिपर अनिल कुमारशाह र दीपेन्द्रसिंह ऐरीले ४६ रनको साझेदारी गर्दै पुलिसलाई आशा जगाएका थिए । तर २० औं ओभरको पहिलो बलमा कमलले अनिललाई २१ रनमा बोल्ड पुलिसको आशालाई टाढा बनाएका थिए । अनिलले ४४ बलमा ३ चौका प्रहार गरे ।

२६ औं ओभरको अन्तिम बलमा शरद भेषावकरले सुबास खकुरेलबाट ३३ रनमा क्याच गराएपछि एपिएफ जिततर्फ अघि बढेको थियो । त्यसअघि अनिललाई आशिफले फस्ट स्लिपमा ९ रनमा क्याच छोड्दा जीवनदान पाएका थिए । दीपेन्द्रको ब्यक्तिगत १३ रनमा शंकर रानाले क्याच छोडेका थिए ।

शरदको बलमा मञ्जित श्रेष्ठ ३ रनमा कमलबाट आउट हुन पुगे । पवनले ३९ रनमा जीवनदान पाएका थिए । लङअनमा सुमित महर्जनले पवनको भक्याच छोड्न पुगेका थिए । एपिएफको फिल्डिङ भने कमजोर देखिएको थियो ।

तल्लोक्रममा राशिद खानले ५१ बलमा ३ चौका र १ छक्का सहित ३४ रनको योगदान दिए । आरिफ १० औं नम्बरमा ब्याटिङका लागि आएका थिए । पहिलो इनिङको ४६ औं ओभरमा आरिफको दाँया खुट्टाको एंकलमा चोट लागेको थियो । आरिफ १४ बलमा १ छक्का र २ चौका सहित १६ रनमा आउट भए । आरिफ ४७ औं ओभरको पहिलो बलमा राशिद खान आउट भएपछि आरिफ ब्याटिङका लागि आएका थिए । ४९ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका आरिफ डीप मिडविकेटमा भाई आशिफ शेखबाट क्याच आउट हुन पुगे ।

भुवन कार्कीले ९।२ ओभरमा १ मेडन सहित २१ रन खर्चेर ४ विकेट लिए । शरद भेषवाकर १० ओभरमा २ मेडन सहित ३६ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरी १० ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराको नाममा पनि २ विकेट रह्यो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको एपिएफ ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । अभिनाशले अन्तिम ओभरमा राशिद खानलाई पाँचौं बलमा छक्का र अन्तिम बलमा चौका प्रहार गर्दै योगफल २ सय कटाएका थिए । अभिनाश ५ बलमा १ चौका र १ छक्का सहित ११ रनमा अविजित रहे । एपिएफका शंकर रानाले ९६ बलमा ४ चौका सहित सर्वाधिक ४४ रनको योगदान दिए ।

कमजोर सुरुवात गेरेको एपिएफलाई तल्लोक्रमका ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्दै प्रतिस्पर्धात्मक लक्ष्य सम्म पुर्याएका हुन् । भुवन कार्की ५६ बलमा १ छक्का र २ चौका सहित ४२ रनमा स्टम्पिङ आउट भए । भुवनले ब्यक्तिगत ८ रनमा कुशल भुर्तेलले क्याच छोड्न पुग्दा जीवनदा पाएका थिए । दीपेन्द्रसिंह ऐरीको बलमा ठूलो सट खेलेका भुवनको क्याच मिडअफमा कुशलले छोड्न पुगेका थिए ।

पाँचौं ओभरको तेस्रो बलमा तीव्र गतिका राशिद खानले आशिफ शेखलाई आफैं क्याच लिँदै एक रनमा आउट गरेका थिए । आरिफ शेखले ओपनर अर्का ओपनर सुबास खकुरेललाई आठौं ओभरको चौथो बलमा १९ रनमा बोल्ड आउट गरे । आरिफको इनस्विङ बलमा विट भएपछि सुबास बोल्ड हुन पुगेका थिए । सुबासले ३१ बलमा २ चौका प्रहार गरे ।

१२ औं ओभरको अन्तिम बलमा आरिफले कप्तान शरद भेषावकरलाई विकेटकिपर अनिल कुमार शाहबाट १८ रनमा क्याच आउट गराए । शरदले २८ बलमा २ चौका प्रहार गरे । आरिफले १४ औं ओभरको तेस्रो बलमा फस्ट स्लिपमा रहेका पवन सरार्फबाट युवा ब्याट्सम्यान सुमित महर्जनलाई एक रनमा क्याच गराएपछि एपिएफ ४३–४ को अवस्थामा पुगेको थियो ।

सन्दीप जोरा र शंकर रानाले पाँचौं विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ३० औं ओभरको दोस्रो बलमा सन्दीपलाई सागर ढकालले ३४ रनमा बोल्ड आउट गर्दै साझेदारी तोडेका थिए । सन्दीपले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । कमलसिंह ऐरी १३ बलमा २ चौका सहित १९ रनमा आउट भए ।

आरिफले १० ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ३ विकेट लिएका छन् । दीपेन्द्र सिंह ऐरीले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । ललित नारायण राजवंशीले २, सागर ढकाल र राशिद खानले १–१ विकेट लिए ।

एपिएफ समूह ए मा अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो । एपिएफले यसअघि दोस्रो संस्करणको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्