बुटवलबाट माधव–प्रचण्डको उद्घोष– प्रतिगमन परास्त गरेरै छाड्छौं, श्री ३ बन्ने सपना चुट्कीको भरमा ध्वस्त हुन्छ


१६ माघ २०७७, शुक्रबार
Prachanda nepal2021 01 28 10 15 27

बुटवल, १६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले बिहीबार बुटवलमा शक्ति प्रदर्शन गरेको छ । हजारौँले सहभागिता जनाएको प्रदर्शनमा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गरेका छन् ।

उनीहरूले निरंकुशताका विरुद्धमा विगतमा पनि बुटवल आन्दोलनको केन्द्र रहँदै आएको स्मरण गर्दै प्रतिनिधिसभा विघटनका विरुद्धमा बुटवलको कार्यक्रमले महत्वपूर्ण सन्देश दिने बताएका छन् । बुटवलको गोलपार्क, तिनाउ पश्चिम, राजमार्ग चौराहाबाट विशाल जनप्रदर्शन गर्दै पुष्पलाल पार्कभन्दा पश्चिम लुम्बिनी प्रादेशिक अस्पतालको खाली जग्गामा सभा गरिएको थियो ।

विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले आन्दोलनले जनताका हक–अधिकार स्थापित गर्दै संविधानको रक्षा गर्ने र प्रतिगमनलाई पछार्ने उद्घोष गरे । मूल पार्टी आफूहरूले नेतृत्व गरेको पार्टी नै भएको भन्दै उनले भ्रमबाट मुक्त हँुदै पार्टीमा गोलबद्ध हुन आह्वान पनि गरे ।

सबै निराशा चिर्दै अगाडि बढ्ने भन्दै नेपालले काम गरेर परिणाम देखाउनुपर्नेमा जोड दिए । । केपी ओलीले कहिल्यै पनि न्यायपूर्ण आन्दोलनको नेतृत्व नगरेको र काम गर्ने बानी नरहेको चर्चा गर्दै उनले भने, ‘केपी ओलीले जनताको भावना, चाहना र समयको गति बुझ्न सक्नु भएको छैन, वैशाखमा चुनाव हुन्छ भन्ने भविष्यवाणी असफल हुन्छ ।’

अर्का अध्यक्ष प्रचण्डले केपी ओलीले श्री ३ बन्ने सपना देखेको भन्दै उनका त्यस्ता सपना चुट्कीको भरमा ध्वस्त हुने बताए । शान्तिको भूमि लुम्बिनी, विगतमा गणतन्त्रका लागि आन्दोलन गरेको भूमि बुटवलले तानाशाही बन्न खोजेकालाई परास्त गर्ने उल्लेख गर्दै प्रचण्डले आफूहरूको लडाइँ व्यक्तिका विरुद्धमा नभई गलत विचार, गलत पद्धतिका विरुद्धमा भएको बताए । आन्दोलनका लागि अपिल गर्न आफूहरू बुटवल आएको भन्दै प्रचण्डले भने, ‘गलत विचार र मान्यताका विरुद्ध न्याय र स्वतन्त्रताका पक्षमा आन्दोलित हुन अपिल गर्न हामी यहाँ आएका हौँ ।’

नेकपाका लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज युवराज ज्ञवालीले चुनौतीहरूको सामना गर्न एकताबद्ध भएर दृढतापूर्वक अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिए । उनले शोषित–पीडित वर्गको पार्टी निर्माणमा जुट्न पनि आग्रह गरे ।

कार्यक्रममा नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको गलत बाटोका विरुद्धमा आफूहरू खडा भएको बताए । सत्यनाशको बाटो, अस्थिरता, अशान्ति र बर्बादीको बाटोमा ओली रहेको भन्दै भुसालले आफूहरू संविधानको रक्षा, स्वतन्त्रता रक्षा, शान्ति, स्थिरतातर्फ जाने बाटोमा रहेको बताए ।

अर्का नेता वर्षमान पुनले ओलीले जनयुद्धलाई अपमान गर्न खोजेको भन्दै आपत्ति प्रकट गरे । प्रचण्ड र माधवले नेतृत्व गरेको पार्टी नै मूल पार्टी भएको र मूल आन्दोलन पनि भएको भन्दै पुनले जनतामा आधारित पार्टी निर्माणमा ध्यान दिने बताए ।

अर्का नेता चक्रपाणि खनाल बलदेवले विगतमा जनयुद्धका योद्धहरूलाई अपमान गर्नेले आज योद्धाहरूका कुरा गर्न थालेको चर्चा गर्दै हिजो जनमुक्ति सेनालाई जेल हाल्नुपर्छ भन्नेले नै अहिले जनमुक्ति सेनाको कुरा गर्न थालेको बताए ।

पार्टी नेतृ तथा पूर्वसभामुख ओनसरी घर्तीले प्रतिनिधिसभाको विघटन जनादेशमाथिकै अपमान भएको भन्दै प्रतिगमनका विरुद्ध सबै उत्रिन आह्वान गरिन् । कार्यक्रममा पार्टीका नेताहरू ठाकुर गैरे, वामदेव क्षेत्री, जगप्रसाद शर्मालगायतले आन्दोलन सशक्त पार्नुपर्नेमा जोड दिएका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७