आज शहीद दिवस : शान्तिवाटिकाबाट प्रभातफेरी निस्किँदै, लैनचौरमा श्रद्धाञ्जलीसभा


१६ माघ २०७७, शुक्रबार
Shahid Dibas

काठमाडौं, १६ माघ । आज माघ १६ गते, शहीद दिवस । प्रजातन्त्रको स्थापना र पुनर्स्थापनालगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ । शहीद दिवसको अवसरमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइन्छ ।

एकतन्त्रीय र निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालीन राणा शासकले १९९७ सालको माघ १० गते काठमाण्डौ टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।

शहीद दिवसका अवसरमा अहिले बिहान शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्ड, मार्चपास र शहीदहरुको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुने कार्यक्रम रहेको छ । लैनचौरमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिलगायत सहभागी हुने काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिएका छन् ।

यसैबीच दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको बताएकी छिन् । शहीदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने उनले बताएकी छिन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलको रुपमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताएका छन् ।

अधिकार सम्पन्न बनाएर शहीदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेको भन्दै उनले शहीदको बलिदानीपूर्ण सङ्घर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी सबै नागरिकलाई सुखी बनाउँदै राष्ट्रिय आकांक्ष पूरा गर्ने गन्तव्य सरकारले तय गरेको बताएका छन् । दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७