विराटनगरमा आज नेकपाको शक्ति प्रदर्शन, ६० हजार बढी कार्यकर्ता उतार्ने


१६ माघ २०७७, शुक्रबार
nekapa birodh

मोरङ, १६ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा सडक आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज मोरङको विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ ।

मध्यान्ह १२ बजेबाट प्रदर्शन शुरु हुने जनाइएको छ । विराटनगरको बरगाछी, तीनपैनी, रोडशेष चोक र हाटखोलाबाट एकैसाथ शुरु हुने प्रदर्शन जनआन्दोलन चोकमा पुगेर विरोध सभामा परिणत हुने नेकपा दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य महेश रेग्मीले जानकारी दिएका छन् ।

उनका अनुसार सभामा अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, नेता योगेश भट्टराई लगायतले सम्बोधन गर्नेछन् । कार्यक्रमका लागि अध्यक्ष नेपाल र वरिष्ठ नेता खनाल विराटनगर आइसकेका छन् । अन्य नेताहरु आउने क्रममा रहेको नेता रेग्मीले बताए ।

संसद विघटनपछि प्रदेश–१ को राजधानीमा सबैभन्दा ठूलो विरोध प्रदर्शन गर्न लागिएको छ । प्रदर्शनमा ६० हजार हाराहारीमा कार्यकर्ता उतार्ने योजना छ । विरोध प्रदर्शनकै लागि गाउँगाउँबाट नेकपा कार्यकर्ता विराटनगर आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि त्यसको विरोधमा नेकपाकै प्रचण्ड–माधव समूह आन्दोलित छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा हिजो नेकपाले बुटवलमा शक्ति प्रदर्शन गरेको थियो । यस्तै आउँदो माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै विशाल शक्ति प्रदर्शनको तयारी गरिरहेको छ । पछिल्लो समय नेकपाको विरोधका कार्यक्रमहरुमा कार्यकर्तासँगै सर्वसाधरण नागरिकको समेत सहभागिता बढ्दै गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७