व्यास अल्ट्रा म्याराथनको उपाधि सेनाका महतरालाई


१६ माघ २०७७, शुक्रबार
KN Damauli 1 scaled

तनहुँ, १६ माघ । तनहुँको व्यास नगरपालिकाले आज (शुक्रबार) आयोजना गरेको ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले जितेका छन् । व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आयोजित चौथो म्याराथनको उपाधि तीन घण्टा तीन मिनेट ५१ सेकेन्डमा पार गर्दै महतराले जितेका हुन् ।

कालीकोट निवासी महतरा गत वर्ष आयोजित तेस्रो अल्ट्रा म्याराथनमा द्वितीय भएका थिए । म्याराथनमा सोलुखुम्बुका सुमन कुलुङ राई द्वितीय र रामेछाप निवासी त्रिभुवन आर्मी क्लबका वेदबहादुर सुनुवार तृतीय भएका छन् । राईले सो दूरी तीन घण्टा मिनेट एक सेकेन्डमा र सुनुवारले तीन घण्टा १० मिनेट पाँच सेकेन्डमा पार गरेका छन् । द्वितीय हुने राई गत वर्षको विजेता हुन् ।

म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैँचे–चापाघाट–अनशन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिएको थियो ।

प्रतियोगितामा २० जिल्लाका १८० धावकको सहभागिता थियो । म्याराथनमा तनहुँका अतिरिक्त गोरखा, कास्की, लमजुङ, स्याङ्जा, सिन्धुली, बागलुङ, रुकुम, सोलुखुम्बु, गोरखा, पर्वत, काठमाडौँ, धादिङ, म्याग्दीलगायत जिल्लाबाट धावक सहभागी रहेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७, रु ५५ हजार ७७ र सान्त्वना पाँचजनाले रु १६ हजार ७७ नगद पुरस्कार प्राप्त गरेका छन् । नगरपालिकाले यो पटक म्याराथनको पुरस्कार राशि वृद्धि गरेको हो । प्रथम, द्वितीय र तृतीय पुरस्कार राशिमा रु चार हजार एकका दरले वृद्धि गरिएको छ । गत वर्ष प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमशः रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ प्राप्त गरेका थिए ।

धावकले नियम पालना गरे नगरेको जाँच गर्नका लागि आठ ठाउँमा चेकविन्दु स्थापना गरिएको थियो । व्यास नगरपालिका–४ व्यास रेन्ज पोष्ट, व्यास नगरपालिका–१० पिजनहिल खहरे, व्यास नगरपालिका–७ पाथ्रा मन्दिर, व्यास नगरपालिका–७ पातल एक हजार ७००, व्यास नगरपालिका–८ रिस्ती सोतीवेशी, व्यास नगरपालिका–८ सुनपोखरी, व्यास नगरपालिका–८ गाडापानी र व्यास नगरपालिका–८ पुलिमराङमा चेकविन्दु स्थापना गरिएको थियो ।

गत वर्षको म्याराथन सोलुखुम्बुका सुमन कुलुङले जितेका थिए । उनले ४४ किमी दूरी दुई घण्टा ५९ मिनेटमा पार गरेका थिए । प्रतियोगितामा कालीकोटका देवराज महतरा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७