संसद् विघटनको विरोधमा सडकमा कांग्रेसको सिटौला समूह

ओलीको गल्तीले लोकतन्त्र नगुमोस्, उनको गल्ती अदालतले सच्याउनु पर्छ : सिटौला


१७ माघ २०७७, शनिबार
Sitaula2021 01 30 01 30 42

काठमाडौं, १७ माघ । कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओलीलाई संसद् विघटनको असंवैधानिक कदमलाई सच्याउन सुझाब दिएका छन् । संसद् विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरे पनि पुनस्र्थापना वा चुनाव भन्नेमा कांग्रेसभित्र विवाद भइरहेका वेला कांग्रेसको सिटौला समूह संसद् पुनर्स्थापनाको माग लिएर अलग्गै सडकमा उत्रिएको हो ।

‘ओलीजी तपाईंंबाट गल्ती भएकै हो, मान्छेबाट गल्ती हुन्छ, गल्ती स्वीकार गर्नुस्, अझ तपाईंहरूकै भाषामा भन्दा आत्मआलोचना गरे पुग्छ । अदालतले तपाईंको कदम बदर गर्नुभन्दा पहिले सच्याउनुस्, सार्वजनिक मञ्चबाटै संसद् ब्युँताइदिए पनि हुन्छ, गल्ती स्वीकार गर्नु सानो कुरा होइन, म त भन्छु, तपाईंको सद्बुद्धि पलाओस् ।

मलाई लाग्छ, प्रधानमन्त्रीले गल्ती स्विकार्लान्, स्विकारेनन् भने अदालतले गल्ती स्विकार्न बाध्य पार्ला,’ सिटौलाले भने, ‘मेरो त सीधा कुरा छ, प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमलाई अदालतले बदर गर्नुपर्छ । म यही मञ्चबाट प्रधानमन्त्री ओलीलाई भन्न चाहन्छु, तपाईंको मूख्र्याइँले यो व्यवस्था अन्त्यतिर नजाओस्, लोकतन्त्र अन्त्यतिर नजाओस्, जनताको अधिकार अन्त्य हुने बाटोतर्फ नजाओस् ।’

उनले संसद् विघटनको निर्णय सर्वोच्च अदालतले उल्ट्याउने धारणा राखे । ‘यो संसद्को विघटन मात्रै होइन, संविधानकै विघटन हुने अवस्था हो, यो एउटा मुद्दा मात्रै होइन, अदालतको सीमाभित्रको कुरा मात्रै होइन, आमनेपाली जनताको अधिकारसँग जोडिएको विषय हो । यो विषयमा प्रत्येक नेपाली नागरिकले बोल्नुपर्छ, यसको कारण आगामी पुस्ताले अत्यन्तै ठूलो संघर्ष गर्नुपर्ने स्थिति खडा हुन सक्छ, अत्यन्तै ठूलो दुःख झेल्नुपर्ने हुन्छ, त्यसैले यसबाट हामीले देशलाई बचाउनु पर्छ,’ उनले भने ।

काठमाडौं– ६ ले शुक्रबार सहिद दिवसका अवसरमा शान्तिवाटिकामा विरोध सभा आयोजना गरेको थियो । यो क्षेत्र सिटौलानिटक नेता भीमसेनदास प्रधानको क्षेत्र हो । कोभिड–१९ को संक्रमणका कारण सिटौलाले संसद् विघटनपछि कांग्रेसले गरेका कुनै पनि विरोध सभामा सहभागी हुन पाएका थिएनन् । नेता सिटौलाले संसद् विघटनको विषयमा कांग्रेसले अदालतले समेत बुझ्ने गरी प्रस्ट रूपमा बोलिसकेको दाबी गरे ।

‘कतिपय साथीले भनिरहनु भएको छ, मुद्दा अदालतमा विचाराधीन छ, यसमा किन बोल्ने ? तर, मलाई लाग्छ हामीले बोलिसक्यौँ, पार्टीको केन्द्रीय समितिको सर्वसम्मतिको निर्णयबाटै बोलिसक्यौँ, देशभरबाट बोलिसक्यौँ– प्रधानमन्त्रीको कदम गलत छ, असंवैधानिक र अलोकतान्त्रिक छ, यो बदर हुनुपर्छ,’ सिटौलाले भने, ‘साथीहरूलाई लागेको होला, कम्युनिस्ट फुटिहाले, अब झ्याप्प चुनाव जितिहालिन्छ, तर त्यहाँ खुसी व्यक्त गर्नुको कुनै अर्थ छैन, त्यो मूर्खतापूर्ण बाटोमा हामी जानु हुँदैन ।’

ओलीको असंवैधानिक कदम अदालतले पनि नसच्याए नेपाल गम्भीर अस्थिरतामा फस्ने सिटौलाको भनाइ छ । ‘यदि यो कदम नसच्चिने हो, अब हरेक पटक प्रधानमन्त्रीलाई जब सनक चल्छ, संसद् विघटन गरिहाल्छन्, अत्यन्तै गम्भीर अस्थिरतामा नेपाल फस्न सक्छ, सरकार मात्रै होइन, यो व्यवस्था नै अस्थिर हुन्छ,’ सिटौलाले भने, ‘अन्ततः अहिलेसम्म उपलब्धि सबै समाप्तितर्फ जानेछन् ।’

संविधानसभामा संविधान मस्यौदा समितिको सभापतिका रूपमा काम गरेका नेता सिटौलाले संविधान बनाउँदाका ताका उठेको सवाल सम्झिए । ‘हामीले संविधान रचना गर्दा प्रधानमन्त्रीले जति वेला चाह्यो, त्यति वेला संसद् विघटन गर्न पाउनुहुँदैन भनेर पहिलेको व्यवस्थालाई हटाएकै हाैं, त्यो कुरा अदालतले बुझोस्,’ नेता सिटौलाले भने ।

उनले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार अदालतलाई भएको भन्दै अदालतले जनता र जनताको सर्वोच्च संस्थाको पक्षमा व्याख्या गर्ने विश्वास व्यक्त गरे । ‘हामीले कल्पना गरेको अदालत त्यो हो, जसले संविधानको सर्वोच्चतालाई कायम राख्दछ, संविधानलाई लोकतान्त्रिक दृष्टिकोणबाट व्याख्या गर्दछ, यो देशको स्थायित्वको पक्षमा व्याख्या गर्दछ, यो देशको शान्तिका पक्षमा व्याख्या गर्दछ, आमनेपाली जनताको अधिकारको पक्षमा व्याख्या गर्दछ, जनताको सर्वोच्च संस्थाको पक्षमा व्याख्या गर्दछ ।’

उनले भने, ‘आज प्रधानमन्त्री र उनको समूहबाट अदालतलाई फकाउने, तर्साउने, धम्क्याउने, प्रलोभनमा पार्ने जति पनि कामहरू भएका छन्, हामी त्यो गर्न चाहँदैनौँ, बरु प्रस्ट रूपमा सम्मानका साथ भन्न चाहन्छौँ, यो अदालतका लागि एउटा ठूलो अवसर हो, अदालतले संविधानको रक्षा गर्न सक्छ भनेर आमनेपालीलाई सन्देश दिने ठूलो अवसर हो ।’ नेता सिटौलाले ओलीको संसद् विघटनको कदमले देशलाई गम्भीर षड्यन्त्रको चक्रव्यूहमा फसाउने टिप्पणी गरे ।

नेता गगन थापाले बिपीको कार्यकर्ताले अदालतका विषयमा बोल्दैनौं भन्न नसुहाउने टिप्पणी गरे । ‘हामी बिपी कोइरालाका कार्यकर्ता हौँ । र त्यही बिपी कोइराला हो, जसले सर्वाेच्च अदालततिर हेरेर भन्नुभएको थियो, यो अदालत हो श्रीमान्, न्यायको चार किल्लाभित्र न्यायको हत्या नहोस् । दायाँबायाँ नहेर्नुस्, वरपर नहेर्नुस् । न्याय गर्नुस् । विवेक पुर्‍याउनुस्,’ नेता थापाले भने, ‘पञ्चायतमा फाँसी मुद्दा लागेका वेलामा अदालततर्पm हेरेर अदालतलाई न्याय गर्न भन्ने बिपीका कार्यकर्ताले आज अदालतमा विचाराधीन मुद्दामा बोल्दैनौँ भनेर भन्छ भने ती कायरहरू मात्रै हुन सक्छन् ।’

उनले संसद् विघटनको मुद्दामा कांग्रेसले स्पष्ट अडान लिएको र अदालतले पनि दायाँबायाँ गर्दैन भन्ने विश्वास रहेको बताए । ‘५ पुसमा प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्न चालेको कदम असंवैधानिक हो । असंवैधानिक केपी ओलीको कदम मुर्दावाद ! कांग्रेसको नारा यही हो । योभन्दा दायाँबायाँ न नेपाली कांग्रेसको निर्णय छ, न कसैले गराउन पाउँछ,’ नेता थापाले भने, ‘भ्रम नराखौँ, कांग्रेसले बोल्नुपर्ने बोलिसक्यो, अब अदालतले योभन्दा दायाँबायाँ फैसला गर्दैन भन्ने हाम्रो विश्वास हो । अदालतले गर्न सक्दैन, गर्नुहुँदैन भन्ने हाम्रो मान्यता हो । अदालतप्रतिको प्रचुर विश्वास हो ।’

नेता थापाले प्रधानमन्त्रीले गरेको असंवैधानिक कदम अदालतबाट सदर हुने हो भने लोकतन्त्रमा त्योभन्दा ठूलो जनताको अर्को अपमान हुनै नसक्ने धारणा राखे । उनले संसारको कुनै पनि देशमा नभएको संसदीय व्यवस्था नेपालको संविधानले व्यवस्था गरेको बताए ।
‘दुनियाँमा एउटा त्यस्तो संविधानबारे मलाई कसैले बताइदिओस् कि दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नपाइने व्यवस्था होस् ।

जुनवेला प्रधानमन्त्री काम नगरेर सुतिरहनुभयो, त्यो वेला संविधानलाई सिरानी राख्ने । अनि आज जब तपाईंलाई यो संविधानले विघटन गर्न दिएन, अनि भारतको संविधानले यसो भन्छ, बेलायतको संविधानले यसो भन्छ भन्ने,’ नेता थापाले भने, ‘त्यसो भए तपाईं नै भारत जानुुस् । बेलायत जानुस् । यो त नेपाल हो श्रीमान । यहाँ नेपालको संविधान लाग्छ । र नेपालको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने कुरा लेखिएको छैन ।’

नेता प्रदीप पौडेलले ओलीले आफूले हार्ने निर्वाचन गराउँछन् भनेर मक्ख नपर्न आग्रह गरे । ‘सरकारले आगामी वैशाखमा निर्वाचन घोषणा गरेको छ, यो गराउनका लागि घोषणा गरिएको होइन, कांग्रेस त्यति सोझो पनि छैन, ओलीले आफैले हार्ने चुनाव गराउँदैनन्,’ उनले भने, ‘यदि चुनाव भयो भने ओलीकै जमानत जफत हुन्छ ।’

नेता पौडेलले साँच्चै जनतामा जाने आँट भए राजीनामा दिएर निर्वाचनमा आउन आग्रह गरे । ‘जनतालाई सपना मात्रै देखाएर हुँदैन, ओलीलाई रेल ल्याउन कसले छेक्यो ? पानीजहाजमा झन्डा फहराउन कसले छेक्यो ? घरघरमा ग्यास पुर्‍याउन कसले रोक्यो ? जनतालाई झुक्याउन भाषण गरेर मात्रै हुँदैन, काम गर्नुपर्छ,’ पौडेलले भने, ‘म त भनिरहेको छु, इतिहासमा योभन्दा खत्तम सरकार कहिल्यै थिएन ।’

पौडेलले ओली संघीयता र स्थिरताको विरोधी भएको टिप्पणी गरे । उनले ओली अहंकारी र निरंकुश शासकका रूपमा देखा परेको भन्दै शाही ओलीको संज्ञा दिए । ‘यो अहंकारी शासकलाई अदालतले ठेगान लगाउँछ भन्ने मलाई विश्वास छ, संसद् विघटनको कदम अवश्य अदालतले सच्याउँछ,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७