कर्णालीमा ढुवानी गर्न प्रतिकिलो ११४ रुपैयाँसम्म सरकारी खर्च, तर जनताका झोलामा कुहिएको चामल


१७ माघ २०७७, शनिबार
chamal

हुम्ला, १७ माघ ।
–हुम्ला, सर्केगाड गाउँपालिका– १ जैरका दिलबहादुर कार्की घरमा खाद्यान्न सकिएपछि दुई घन्टा हिँडेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बालुकुना डिपोमा गए । डिपोमा कुहिएर कालै भएको चामल मात्रै थियो ।

तर, घरमा अन्नको गेडा समेत थिएन, त्यसैले कुहिएकै चामलबाट छानेर एक बोरा किनेर फर्किए । ‘चामल हेर्दै गाईभैंसीलाई खुवाउने जस्तो थियो, तर के गर्नु नकिनिनहुने बाध्यता थियो । ‘एक बोरा चामलको एक हजार पाँच सय तिरेर दुई घन्टा उकालो हिँडेर घर फर्किएँ,’ उनले सुनाए ।

–जैर क्षेत्रकै धनगडी बमले पनि केही दिनअघि यही डिपोबाट चामल किनेर लगेका थिए । घर पुगेर बोरा खोलेर हेर्दा कुहिएको चामल डल्ला र घुन परेको थियो । ‘पिठ्युँमा बोरा बोकेर दुई घन्टा हिँड्दै बल्लबल्ल घर पुर्‍याएको थिएँ, खोलेर हेर्दा डल्ला र घुन परेको मात्रै थियो । फेरि बोकेर दुई घन्टा हिँड्नुपर्ने दुःखले डिपोमा लगिनँ, गाईभैंसीलाई खुवाएँ,’ उनले भने ।

हुम्लाको सर्केगाड गाउँपालिकाका यी दुई घटना कर्णालीका अधिकांश नागरिकका साझा पीडा हुन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीको उदासीनता तथा चामल ढुवानी गर्ने ठेकेदारको चरम लापरबाहीका कारण कतिपय जिल्लामा एक–डेढ वर्षदेखि चामल नै पुगेको छैन, पुगेका ठाउँमा पनि कुहिएर खानै नमिल्ने चामल छ । नागरिकले पैसा तिरेर पनि सद्दे चामल खान पाउँदैनन् ।

गुणस्तरीय चामल नपाउने सर्वसाधारणलाई ठेकेदारले मूल्यमा समेत ठग्ने गर्छन् । जिल्लास्थित खाद्य डिपो र बिक्री केन्द्रहरूमा खाद्यका कर्मचारीहरूले चामल बिक्री गर्नुपर्ने हो । तर, कर्मचारी अभाव रहेको बहानामा कतिपय ठाउँमा खाद्यले ढुवानीको ठेक्का लिएको ठेकेदारलाई नै बिक्री गर्ने जिम्मा पनि दिएका छन् ।

ठेकेदारले तोकिएभन्दा बढी मूल्यमा चामल बिक्री गर्ने गरेको स्थानीय बताउँछन् । बिक्री सक्ना साथ ठेकेदार वा उनका कर्मचारी फर्किन्छन्, त्यसैले चामलको गुणस्तरबारे ग्रामीण भेगका जनताले गुनासो समेत गर्न पाउँदैनन् ।

हुम्लाको सर्केगाडस्थित बालुकुना डिपोमा हिमाल निर्माण सेवा कम्पनीले सुर्खेतबाट मुगुको सोरुकोट हुँदै चामल ढुवानी गरेको थियो । कम्पनीका सञ्चालक प्रदीप टमटा कुहिएको चामल हतारहतार बिक्री गरेर मुगु फर्किएका छन् । उनकै अनुसार बालुकुना बिक्री केन्द्रमा अझै सात क्विन्टल कुहिएको चामल त्रिपालले छोपेर थन्क्याइएको छ ।

ढुवानी गर्दा गाडीचालकले भिजाएर ल्याएका कारण चामल कुहिएर समस्या आएको ठेकेदार टमटाले बताए । बालुकुना बिक्री केन्द्रका लागि अझै चामल ल्याउनुपर्ने भए पनि ठेकेदारले ध्यान दिएका छैनन् । महँगो मूल्यमा ढुवानी गरिएको चामलसमेत स्थानीयले गुणस्तरीय खान पाउँदैनन् । सरकारले यो वर्ष हुम्लामा दुई हजार आठ सय ७५ टन चामल ढुवानी गर्न २५ करोड ८५ हजार छुट्याएको छ ।

हुम्लामा कुहिएको चामल ढुवानी गरेको टमटाकै कम्पनीले सुर्खेतबाट मुगुको कार्मारुम, सोरुकोट र कालै बिक्री केन्द्रमा पनि चामल ढुवानीको ठेक्का पाएका छन् । सोरुकोट र कार्मारुममा एक–एक हजार क्विन्टल तथा कालै बिक्री केन्द्रमा आठ सय क्विन्टल चामल उनले ढुवानी गर्नेछन् ।

हुम्लाको सर्केगाड गाउँपालिकाको बालुकुनास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साविकको खाद्य संस्थान) को डिपोबाट किनिएको चामल । महँगो ढुवानी खर्च सरकारले अनुदानमा बेहोर्छ, तैपनि यस्तो चामललाई उपभोक्ताले प्रतिकिलो ७० रुपैयाँसम्म तिर्नुपर्छ ।

गत वर्ष पनि खानै नमिल्ने अमिलो चामल थियो

गत वर्ष पनि हुम्लाको अदानचुली गाउँपालिकास्थित श्रीनगर डिपोबाट खानै नमिल्ने कुहिएको चामल बिक्री गरिएको थियो । पकाएपछि अमिलो भात खानै नमिल्ने थियो ।

‘तीन घन्टा पैदल हिँडेर एक हजार सात सय ५० रुपैयाँमा श्रीनगर डिपोबाट चामल किनेर ल्याएको थिएँ । बेलुका पकाउँदा अमिलो भएर खानै सकिएन, परिवारै बिरामी भइने डर लाग्यो । पैसा मात्रै खेर गयो,’ अदानचुली गाउँपालिका– ५ करगाई गाउँका पुनबहादुर छत्यालले भने ।

त्यस्तै, बाजुराको हिमाली खार्पुनाथ गाउँपालिका– ३ का दीपक बुढामगरले श्रीनगर डिपोबाट किनेको चामल अमिलो भएर खानै नसकेको बताए । भेडापालन गर्ने उनले भेडासहित घर फर्किंदै गर्दा बाटोमा पर्ने श्रीनगर डिपोबाट पाँच क्विन्टल चामल किनेर लगेका थिए ।

महँगोमा ढुवानी गरेको चामल गुणस्तरहीन

सिमकोट शाखामा नेपालगन्जबाट हवाईजहाजमा चामल ढुवानी गरेको प्रतिकेजी एक सय १४ रुपैयाँ ८० पैसा र सुर्खेतबाट प्रतिकेजी एक सय १२ रुपैयाँ ८० पैसा लाग्छ । त्यस्तै, सडकमार्गबाट उत्तरी नाम्खा गाउँपालिकाको यालुवाङ बिक्रीसम्म पुग्दा प्रतिक्विन्टल चार हजार ६ सय ३३ रुपैयाँसम्म ढुवानी खर्च लाग्ने गरेको छ । तर, त्यति महँगोमा ढुवानी गरेको चामलसमेत गुणस्तरहीन हुने गरेको छ ।

मुगुदेखि हुम्लाको सर्केगाड डिपोसम्म प्रतिक्विन्टल तीन हजार रुपैयाँका दरले चामल ढुवानी हुने गरेको छ । त्यस्तै, धनगढीदेखि सिमकोट शाखासम्म सात हजार तीन सय प्रतिक्विन्टलका दरले ढुुवानी हुन्छ । धनगढीबाट सडकमार्ग हुँदै श्रीनगर डिपोसम्म ढुवानी गर्न प्रतिक्विन्टल दुई हजार सात सय ३४ रुपैयाँ पर्छ ।

सडकमार्गबाट सुर्खेत हुँदै सिमकोट शाखासम्मको सात हजार दुई सय, सर्केगाड डिपोसम्मको तीन हजार चार सय, श्रीनगर डिपोसम्मको दुई हजार एक सय, खार्पुनाथ गाउँपालिकाको याँचु बिक्री केन्द्रसम्मको ६ हजार तीन सय ९०, चंखेली गाउँपालिकाको देउली बिक्री केन्द्रसम्मको दुई हजार नौ सय रुपैयाँ प्रतिक्विन्टल ढुवानी भाडा लाग्छ ।

यस वर्ष हुम्लामा दुई हजार आठ सय ७५ मेट्रिकटन चामल ढुवानी गर्न खाद्य कम्पनीले २५ करोड ८५ हजार रुपैयाँ छुट्याएको छ । हुम्लामा हवाईजहाजबाट पनि चामल ढुवानी गर्नुपर्ने भएकाले दुर्गम २४ जिल्लामध्ये सबैभन्दा धेरै ढुवानी खर्च यहीँ लाग्छ ।

खाद्यको चामल कर्मचारीले होइन, ठेकेदारले बेच्छन्

हुम्लामा खाद्य कम्पनीका दुईवटा डिपो र पाँचवटा बिक्री केन्द्र छन् । तर, कर्मचारी छैनन् । त्यसैले चामल ढुवानीको जिम्मा पाएका ठेकेदारले नै डिपो र बिक्री केन्द्रबाट चामल बिक्री गरिरहेका छन् ।

स्थानीय बासिन्दाका अनुसार ठेकेदार कम्पनीले कुन दिन कुन बिक्री केन्द्रमा चामल आउँछ भनेर आसपासका बासिन्दालाई खबर गर्ने गरेका छन् । त्यहीअनुसार स्थानीय बिक्री केन्द्रमा जम्मा हुन्छन् । ठेकेदारले नै पैसा लिँदै चामल बिक्री गर्छन् । चामल बिक्री गर्नासाथ ठेकेदार फर्किन्छन् । त्यसैले चामलको गुणस्तरबारे स्थानीयले गुनासो समेत गर्न पाउँदैनन् ।

गुणस्तरीय चामल नपाउने सर्वसाधारणलाई ठेकेदारले मूल्यमा समेत ठग्ने गर्छ । तोकिएभन्दा बढी मूल्यमा चामल बिक्री गर्ने गरिएको स्थानीय बताउँछन्न् । एक महिना पहिले सर्केगाड डिपोबाट एक हजार तीन सय ५० रुपैयाँ तोकिएको चामलको बोरा ठेकेदारले दुई हजार रुपैयाँमा बिक्री गरेको सर्केगाड गाउँपालिका– ५ का गगन सिंहले बताए ।

‘डिपोबाट आठ बोरा चामल किनेको हुँ । त्यसका लागि १६ हजार रुपैयाँ तिरेँ,’ सिंहले भने, ‘अन्य ठाउँमा पनि बुझेपछि मात्र बढी रकम असुलिएको थाहा पाएँ ।’ पछि ठेकेदारसँग भेट भएपछि भने पैसा फिर्ता पाएको उनले बताए । तर, अधिकांश सर्वसाधारण मूल्यमा समेत ठगिने उनको भनाइ छ ।

ठेकेदारले कुहिएको तथा गनाएको चामल बिक्री गरेको, तोकिएभन्दा महँगोमा बेच्ने गरेकोलगायतका विषयमा स्थानीयले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सिमकोट शाखा कार्यालयमा पटक पटक गुनासो पनि गरेका छन् । तर, कार्यालयले चासो नै नदिएको उनीहरू बताउँछन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सिमकोट शाखा कार्यालयका प्रमुख निर्मल थापाले दुई कर्मचारी मात्र भएकाले सबैतिर ध्यान पुर्‍याउन नसकेको बताए । कर्मचारी नहुँदा ठेकेदारलाई नै चामलको जिम्मा दिने गरेको उनको भनाइ छ । ‘कर्मचारी नहुँदा केही समस्या भयो होला । ठेकेदारले नै चामल बिक्री गरेका ठाउँमा उही जिम्मेवार हुन्छ,’ थापाले भने ।

कार्यालयका अनुसार गत वर्ष हुम्लामा २४ हजार नौ सय २१ क्विन्टल चामल १५ करोड ६७ लाख ३४ हजार रुपैयाँमा बिक्री भएको थियो । सिमकोटबाट जिरा मसिनो ७० रुपैयाँ, जापानिज ६५ रुपैयाँ, सोना मनसुली ६२ रुपैयाँ, मध्यम ६१ रुपैयाँ, अरुवा मोटा ५७ रुपैयाँ, गोरखनाथ ६२ रुपैयाँ र उसिना ३५ रुपैयाँ प्रतिकिलो बिक्री मूल्य तोकिएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७