भारतको दबाबपछि नेपाल, चीन र जापानलाई पन्छाएर तल्लो अरुण आयोजना पनि भारतीय कम्पनीलाई


१७ माघ २०७७, शनिबार
Modi Oli in Janakpur

काठमाडौं, १७ माघ । तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी सतलजले पाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार राति बसेको लगानी बोर्ड बैठकले यो आयोजनाको जिम्मा भारतीय कम्पनी सतलजलाई दिने निर्णय गरेको हो । सतलज भारत केन्द्र सरकार र भारतको हिमाञ्चल प्रदेश सरकारको संयुक्त लगानी रहेको कम्पनी हो ।

भारत सरकारले ६७९मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना हात पार्न तिव्र दबाब कायम राख्दै आएको थियो । अरुण तेस्रोको आयोजनामा ५० प्रतिशत काम नसक्दै ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना पनि दिन भारतले दबाब कायम राख्दै आएको थियो ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४६ औं बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना सतलज विद्युत निगम (एसजेभीएन) लाई नै दिने निर्णय भएको जनाइएको छ ।

‘तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत बनाउने, स्वामित्व लिने, सञ्चालन गर्ने र हस्तान्तरण गर्ने (बुट मोडल) मा विकास गर्न सतलज लिमिटेड भारतलाई छनोट गर्ने निर्णय गरेको छ,’ बोर्ड बैठकको जानकारी दिँदै बोर्ड कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सरकारले २०७५ चैतमा काठमाडौंमा गरेको लगानी सम्मेलनमा तल्लो अरुणलाई सोकेस परियोजनाको रुपमा राखिएको थियो ।

लगानी सम्मेलनको क्रममा विभिन्न कम्पनीहरुले परियोजना निर्माणमा इच्छा देखाएको भए पनि बोर्डले तीन वटा कम्पनीसँग प्रस्ताव माग गर्ने निर्णय गरेको थियो । गत मंसिरमा बोर्डले यो आयोजना निर्माणको इच्छा देखाएका तीन वटा कम्पनीसँग प्रस्ताव माग गरेको थियो ।

आयोजना निर्माणमा ईच्छा देखाएकामध्ये भारतको सतलज लिमिटेड, नेपालको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्टसँग जेभी रहेको पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड तथा नेपालको ग्रीन रिसोर्ससँग जेभीमा जापानको इलेक्ट्रिक पावर डेभलपमेन्ट कम्पनी (जेपावर) नेपालसँग प्रस्ताव माग गर्ने निर्णय गरेको थियो ।

यी सबैलाई पन्छाएर सरकारले कुल ९०० मेगावाट क्षमताको अरुण तेस्रोको आयोजनामा ५० प्रतिशत काम नसक्दै ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना फेरि उनै भारतीय कम्पनी सतलज लिमिटेडलाई दिने निर्णय गरेको हो ।

अरुण तेस्रोकै जस्तै मोडलमा तल्लो अरुण निर्माण गर्ने प्रस्ताव भारतले राख्दै आएको छ । आफैंले निर्माण र सञ्चालन गर्ने, भारतमा विद्युत् लैजाने र नेपाललाई निस्शुल्क विद्युत् उपलब्ध गराउने गरी भारतले आयोजना निर्माणको माग छ ।

गत वर्ष नेपाल आएका भारतीय ऊर्जा राज्य मन्त्री आरके सिंहले उच्च अधिकारीहरुलाई भेटेर तल्लो अरुण आयोजना निर्माणको लागि सतलजलाई दिन दबाब दिएका थिए ।

यो परियोजना संखुवासभा र भोजपुर जिल्लामा निर्माण हुनेछ । आयोजनाको लागत एक खर्ब रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ ।

Nepal and india

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७