घोषणा गरिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली


१७ माघ २०७७, शनिबार
PM KP Oli 1 scaled

काठमाडौं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताएका छन् । नेकपा चितवनले आयोजना गरेको जनसभामा उनले घोषित निर्वाचन मिति तलमाथि नपर्ने बताए ।

कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिँजाएको बताउँदै उनले भने, ‘यो चुनावको घोषणा चुनाव गर्नका लागि होइन, अलमल्याउनका लागि गरिएको हो भनेर भनेका छन्, तिनीहरू अलमलिँदै गरून् । चुनाव हुन्छ, भनेकै मितिमा, तोकिएकै मितिमा, घोषणा गरिएकै मितिमा हुन्छ, तपाईंहरू ढुक्क रहनुहोस् ।’

अब कुनै गल्ती नगरीकन जनताका निम्ति काम गर्ने, देशका निम्ति काम गर्नेलाई छान्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘चुनावमा साइनो सम्बन्ध देशभित्र भएका, देश र जनताको आदेश र हितमा काम गर्नेलाई छानेर पठाउनुपर्छ ।’

नाभी विदेशमा गाडिएकाहरू र नाभी अन्तै जोडिएकालाई अब चुनावमा छान्न नहुने उनको भनाइ थियो । देशको, राष्ट्रियताको र स्वाधीनताको सही अर्थमा रक्षा आफू र आफ्नो पार्टीले गर्ने उनले बताए ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले संसद् विघटन संवैधानिक काम भएको बताए । उनले आफूहरू गुटको पक्षमा नभएर पार्टीको पक्षमा रहेकोसमेत बताए । पार्टीले अहिले शुद्धीकरण अभियान अघि बढाएको भन्दै उनले पार्टीभित्र अवसरवाद, विकृतिविरुद्धको शुद्धीकरण भइरहेको बताए ।

कार्यक्रममा सहरी विकासमन्त्री प्रभु साहले चितवनलाई समृद्धिको मोडेलका रूपमा विकास गर्ने बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सुरु भइसकेको बताए । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले समृद्धिको यात्रालाई अघि बढाएको दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७