पेट्रोल पम्प सञ्चालकको कमिसन बढ्यो


१८ माघ २०७७, आईतवार
petrol pump

काठमाडौं, १८ माघ । नेपाल आयल निगमले पेट्रोल पम्प सञ्चालकको कमिसन दर बढाएको छ । कमिन नबढाए आइतबार (माघ १८) देखि थानकोट डिपोबाट पेट्रोल नउठाउने धम्की दिएका थिए । व्यवसायीले निगमलाई ढुवानी र बिक्री बन्द गर्ने धम्कीपूर्ण भाषा मिश्रित पत्र माघ १२ मा पठाएका थिए ।

निगम र व्यवसायीबीच भएको निरन्तरको छलफलपछि व्यवसायीसँग चार बुँदे सहमति भएको छ । सहमति अनुसार पेट्रोलमा ०.३९५ र डिजेलमा ०.४७ प्रतिशत कमिसन बढाउने निर्णय भएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।

‘निगम सञ्चालक समितिको निर्णयअनुसार निगमका बिक्रेताहरूले साविकमा पाइरहेको पेट्रोलको कमिसन ३ प्रतिशत र डिजेलको २.६५ प्रतिशतमा क्रमशः ०.३९५ र ०.४७ प्रतिशत बढाउने निर्णय भएको छ,’ उनले भने, ‘यसरी कमिसन बढाउँदा मूल्य समायोजनअनुुसार पेट्रोल र डिजेलमा प्रतिलिटर औसत ३६ पैसा थप हुने देखिन्छ ।’

मुलुकभर दैनिक करिब ४८ लाख लिटर डिजेल र १५ लाख लिटर पेट्रोल बिक्री हुन्छ । कमिसन वृद्धिले डिजेलमा २२ लाख ५६ हजार र पेट्रोलमा ६ लाख ५१ हजार रुपैयाँ थप कमिसन पम्पले पाउँछन् । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने पैसा भन्दा सुशासन र सुधारमा बढी सहमति र जोड दिइएको बताए । प्रतिट्रयांकर ८ सय ९३ रुपैयाँ बढाइएको उनले बताए ।

निगमले पेट्रोल–डिजेलमा थप गरेको आन्तरिक प्राविधिक नोक्सानी हाललाई स्थगन गरेको छ । आन्तरिक प्राविधिक नोक्सानीअन्तर्गत डिजेलमा प्रति ४ किलोलिटरमा ३ लिटर र पेट्रोलमा प्रति ४ किलोलिटरमा १० लिटर थियो । निगमको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ को समयसापेक्ष संशोधनका लागि नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनको मागअनुसार एसोसिएसनका प्रतिनिधिसमेत रहने गरी विनियमावली सशोधन कमिटी गठन गर्ने निर्णय गरिएको छ ।

निगमको डिपोरकार्यालयदेखि विक्रेताको पेट्रोल पम्पसम्मको ट्यांक ट्रक लकिङलाई थप प्रभावकारी बनाउन आधुनिक लकिङ जडान गर्ने सहमति पनि भएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७