म्यानमारमा सेनाद्वारा सत्ता कब्जा, एक वर्षका लागि संकटकाल घोषणा


१९ माघ २०७७, सोमबार
ARLOSVFKCQI6RMO27572U2AHCA

काठमाडौं, १९ माघ । म्यानमारमा सेनाले सत्ता आफ्नो हातमा लिएको छ । एक वर्षका लागि संकटकाल घोषणा गर्दै म्यानमारी सेनाले नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्टसहित प्रदेशका प्रमुखहरूलाई नियन्त्रणमा लिएको छ ।

म्यानमारको सरकारी टेलिभिजनका अनुसार निर्वाचन परिणाम अस्वीकार गर्दै सेनाले सत्ता आफ्नो हातमा लिएको हो । म्यानमारमा सोमबारदेखि निर्वाचित संसदको अधिवेशन शुरु गर्ने तयारी थियो । सेनाले बैठक रोक्न भनिरहेको थियो ।

सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसीले गत नोभेम्बरमा सम्पन्न आम निर्वाचनमा जितेको थियो । तर सेनाले चुनावमा धाँधली भएको आरोप लगाइरहेको थियो । त्योसँगै सेना र सरकारबीच तनाव बढेको थियो ।

गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ । बिहानै स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिएको सेनाले अब शासन सत्ता प्रधान सेनापति मिन आङ हल्याइङको हातमा रहेको जनाएको हो ।

गत नोभेम्बरको चुनावमा एनएलडीले संसदको ४७६ मध्ये ३९६ सिटमा जितेको थियो भने सैनिक समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी ३३ सिटमा खुम्चिएको थियो । आफू समर्थित पार्टीले पाँच वर्ष पहिलाभन्दा निकै कम सिट पाएपछि धाँधली भएको बताउँदै आएको सेनाले अन्ततः सत्रा नै कब्जा गरेको हो ।

यसअघि म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैनिक शासन थियो । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा सुकीको एनएलडीले सरकार बनाउन आवश्यक सिट जितेसँगै सेनाले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको थियो ।

निर्वाचित सांसदसहित तल्लो सदनको पहिलो बैठक सोमबार बोलाइएकै बेला सूकीलाई पक्राउ गरिएको हो । सन् २०११ सम्म सक्रिय सैनिक शासन रहेको म्यानमारमा पछि सूकीले आंशिक प्रजातन्त्र स्वीकार्दै निर्वाचनमा भाग लिएकी थिइन् । नेतृ सूकीलाई सेनाले वर्षौसम्म नजरबन्दमा राखेकामा विश्वभरबाट उहाँको संघर्षको पक्षमा आवाज उठेको थियो ।

तर आफ्नो पार्टी सत्तामा आएछि सैन्य नेतृत्वसँग मिलेर रोहिन्ग्या मुस्लिमहरुमाथि ज्यादती मच्चाएको भन्दै सूकीको विश्वभरबाट आलोचना भएको थियो । सूकी पक्राउसँगै राजधानीसहित म्यानमारको प्रमुख शहरमा टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध पारिएको छ । अरु प्रजातन्त्रवादी नेतालाई पक्राउ गर्नुका साथै राजधानीसहितका मुख्य शहरमा सैनिक तैनाथी बढाइएको छ । सोमबार बिहानै सूकीसहित राष्ट्रपति विन मिन्ट, अरु नेता, विभिन्न राज्यका मुख्यमन्त्रीहरुलाई पनि पक्राउ गरिएको छ ।

नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा सूकीको पार्टी एनएलडीले ८३ प्रतिशत सिट जितेको थियो । सन् २०११ मा नागरिक प्रशासन लागू भएको भनिए पछिको यो दोस्रो चुनावलाई सुकीको परीक्षणका रुपमा पनि हेरिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७