संयोग कि सन्देश ? : माघ १९ कै राति चक्रपथ घुमे सेनाका बख्तरबन्द गाडी

सेना भन्छ– नियमित अभ्यास, विश्लेषक भन्छन्– शंका पैदा भयो


२० माघ २०७७, मंगलवार
Baktarbanda close 7

काठमाडौं, २० माघ । नेपाली सेनाले नियमित अभ्यास भन्दै सोमबार राति १० वटा बख्तरबन्द गाडीलाई चक्रपथ परिक्रमा गराएको छ । ०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएकै दिनको संयोगमा सेनाको सीतापाइलास्थित युद्धकवच गणले बख्तरबन्द गाडी चक्रपथमा निकालेको हो ।

सेनाका पूर्वअधिकृतहरूले सेनाका बख्तरबन्द गाडीले यसअघि काठमाडौंको चक्रपथमा यसरी फन्को लगाएको विषयमा थाहा नभएको बताएका छन् । १९ माघकै दिन रोजेर किन यसरी सेनाले बख्तरबन्द गाडी सडकमा निकाल्यो ? यो संयोग हो कि सन्देश ? विश्लेषकहरूले प्रश्न गरेका छन् ।

सेनाले सोमबार राति चक्रपथ परिक्रमा गर्ने र बुधबार आठै पृतनामा रहेका बख्तरबन्द गाडी बाहिर निकाल्ने सूचना आइतबार नै सार्वजनिक गरेको थियो । ‘नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको, त्यसैगरी ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने योजना रहेको जानकारी गराउँदछौँ,’ सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले आइतबार ट्वीटरमा लेखेका थिए ।

‘आमरूपमा भ्रम नपरोस् भन्ने हिसाबले मात्रै हामीले सूचना जारी गरेका हौँ । यो नितान्त नियमित अभ्यास हो,’ सोमबार सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी पदम बुढाले भने, ‘हाम्रा बख्तरबन्द गाडीहरू सातामा दुई पटक सीतापाइलाबाट चोभारसम्म नियमित रूपमा अभ्यासका क्रममा जाने–आउने गरिरहेका छन् । यो धेरैलाई थाहा छैन । अहिले अलिकति लामो रुटमा अभ्यास गर्न लागिएको मात्रै हो ।’

बख्तरबन्द गाडीमा चालक र एकजना सहयोगी सैनिक मात्रै रहेको महासेनानी बुढाले बताए । उनले माघ १९ संयोग मात्रै रहेको प्रस्टीकरण दिए । उनका अनुसार २१ माघ (बुधबार) अपराह्न ५ बजे सेनाका ६ वटा बख्तरबन्द गाडी पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र जानेछन् भने भोलिपल्ट बिहान ५ बजे त्यहाँबाट काठमाडौं फर्किने छन् । ‘नियमित अभ्यास भइरहेकै थियो, अलिकति लङ ड्राइभमा गर्न लागिएको हो,’ महासेनानी बुढाले भने ।

सामरिक तथा भूराजनीतिक मामिला जानकार गेजा शर्मा वाग्लेले भने अहिलेको परिस्थितिमा सेनाले गर्ने अभ्यासले आशंका र संशय पैदा गरेको टिप्पणी गरे । ‘प्रतिनिधिसभा विघटनपछि सिर्जना भएको अत्यन्त तरल, जटिल र अन्योलपूर्ण राजनीतिक घडीमा सेनाले राजधानीलगायत देशका विभिन्न स्थानमा गर्ने अभ्यासले आशंका र संशय सिर्जना गरेको छ,’ वाग्लेले भने, ‘सेनाले नियमित अभ्यासको संज्ञा दिएको छ, तर यो संयोग मात्रै नहुन सक्छ । विकसित राजनीतिक तथा सुरक्षा परिस्थितिको विश्लेषण गर्दै सेनाले मनोवैज्ञानिक सांकेतिक सन्देश दिन चाहेको देखिन्छ, जुन अर्थपूर्ण छ ।’

वाग्लेले राष्ट्रिय तथा व्यावसायिक सेनाले राष्ट्रिय स्वार्थ र सुरक्षामाथि संकट सिर्जना भएको वेलामा मात्रै संविधानको भावना र राष्ट्रिय आवश्यकताअनुरूप भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘तर, राजनीतिक परिस्थिति जटिल हुँदै जाँदा सरकारले संकटकालीन अवस्थासमेत घोषणा गर्न सक्ने आशंका भइरहेको पृष्ठभूमिमा सरकारको घोषित–अघोषित राजनीतिक स्वार्थअनुरूप प्रकारान्तरले सेना उपयोग भयो भने दुर्भाग्य हुनेछ,’ वाग्लेले भने, ‘राष्ट्रिय र व्यावसायिक सेनाले सरकारको राजनीतिक स्वार्थअनुरूप परिचालित हुन्छ वा भएको छ भन्ने विश्वास मलाई छैन ।’

सेनाका एकजना अवकाशप्राप्त रथीले पनि अहिलेको परिस्थितिमा सेनाले सडकमा बख्तरबन्द गाडी उतारेर राम्रो सन्देश नगएको टिप्पणी गरे । उनले भने, ‘नियमित अभ्यास नै हो, तर समय र परिस्थितिको छनोटले दिने सन्देश महत्वपूर्ण हुन्छ । सेनाको नियत अन्यथा छैन भन्नेमा म स्पष्ट छु, तर समयको छनोट ठीक भएन ।’

संसद् विघटनपछि चौतर्फी आलोचनामा परेका प्रधानमन्त्री एवं रक्षामन्त्री केपी ओलीले विपक्षीहरूलाई सन्देश दिन सेनाको दुरुपयोग गर्न लागेको समेत कतिपयको आशंका छ । रक्षामन्त्री ईश्वर पोखरेल प्रधानमन्त्रीको कार्यालय सारिएपछि रक्षा मन्त्रालय प्रधानमन्त्रीकै मातहत छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७