अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन म्यानमारका नेपालीलाई दूतावासको आग्रह


२० माघ २०७७, मंगलवार
myanmar army

काठमाडौं, २० माघ । म्यानमारका नेपालीलाई आवश्यक काम नपरी घर बाहिर ननिस्किन त्यहाँस्थित नेपाली दूतावासले सचेत गराएको छ ।

म्यानमारमा सेनाले सत्ता हातमा लिई सोमबार एक वर्षका लागि संकटकाल लगाएको छ । म्यानमारमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गरी आवश्यक सुरक्षा अपनाउन नेपालीहरुलाई दूतावासले आग्रह गरेको हो ।

त्यहाँको सेनाले सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्टसहित प्रदेशका प्रमुखहरूलाई नियन्त्रणमा लिएका कारण म्यानमारको परिस्थिति यतिबेला जोखिमपूर्ण छ । यही कुरा विचार गरी म्यानमारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्कता अपनाउन सुझाव दिएको छ ।

म्यानमारमा रहेका बीबीसीका नेपाली पत्रकार दीपक भट्टराईका अनुसार दूतावासले पठाएको इमेलमा भनिएको छ, ‘म्यानमारको राजनीतिक घटनाक्रमले जुलुस, र्‍याली हुन सक्छ । घर बाहिर निस्किँदा सावधान रहनुहोला । आवश्यक काम बाहेक घर बाहिर ननिस्किनु होला ।’
अगाडि लेखिएको छ, ‘छरछिमेकमा हुने घटनाबारे जानकारी राख्नुहोला । घरमा कम्तीमा १० दिनको खाद्यवस्तु सञ्चित राख्नुहोला ।’

पत्रकार भट्टराईका अनुसार राति त्यहाँको सैनिक सरकारले पुराना २४ मन्त्रीलाई हटाई ११ मन्त्री थपेको छ । नयाँ मन्त्री सेनाका पूर्वजनरल, कोलनल र केही पदमै भएका छन् । रमाइलो चाहिँ परराष्ट्र तीन वटा भएका छन् ।

कहाँ छिन् सुची ?
पत्रकार भट्टराईका अनुसार त्यहाँ अहिले धेरै नागरिकको चासो नेतृ आङ सान सुची र राष्ट्रपति कहाँ छन् भन्ने छ । सुची कस्तो होलिन् भन्ने छ । सुचीलाई भगवान् जसरी पूजा गर्ने धेरै छन् ।

यस्तै त्यहाँको सैनिक सरकारले निर्वाचन आयोग नयाँ बनाउने घोषणा गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, न्यायाधीश र मानव अधिकार आयोगमा पुरानैलाई निरन्तरता दिने निर्णय गरेको छ । आजबाट बैंक भने खुला भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७