परियोजना सकिएको चार वर्षसम्म पनि मजदुरले पाएनन् ३० लाख ज्याला


२१ माघ २०७७, बुधबार
money 1
सांकेतिक तस्वीर

दैलेख, २१ माघ । दैलेखमा गौरवको आयोजना मानिएको साहारे खानेपानी आयोजनामा काम गरेका मजदुरले चार वर्षदेखि ३० लाख रुपैयाँ ज्याला पाएका छैनन् । दैनिक मजदुरी गरेका मजदुरको मात्र होइन, अन्य विभिन्न पसल, हार्डवेयर, होटेललगायतको हिसाब जोड्दा झन्डै ६० लाख रुपैयाँ निर्माण कम्पनीले ठगी गरेको छ ।

नारायण नगरपालिका–६ बिजौराका कुलबहादुर थापाले निर्माण कम्पनीले काम लगाइदिएको भन्दै घरको भैँसी बेचेर ठेकेदारलाई सहयोग गरे, आफूले पनि मजदुरी गरे । तर, आफूले पाउनुपर्ने एक लाख ९२ हजार रुपैयाँ चार वर्षदेखि नपाएपछि अहिले उनी सडकमा भौंतारिनु पर्ने अवस्थामा पुगेका छन्न् ।

ठगीमा परेका सबैले ठेकेदारविरुद्ध जिल्ला प्रहरी कार्यालय दैलेखमा सात महिनाअघि रकम असुल–उपर गराइदिन भन्दै उजुरी दर्ता गरेका थिए । तर, अहिलेसम्म सुनुवाइ नभएको कामदार कमल कोइरालाको गुनासो छ ।

‘आयोजनामा सात वर्षदेखि प्लम्बरको काम गरेँ, मैले मात्रै ६ लाख रुपैयाँ पाउनुपर्नेछ, खानेपानी समस्याले व्याकुल भएको दैलेख बजारमा पानी ल्याउन ज्यानको बाजी राखेर भिर खोपेर मजदुरले काम गरे, तर दुःखी र गरिब मजदुरको ठेकेदारले लाखौँ रकम ठगी गर्दा समेत सम्बन्धित निकायहरू मौन बसेका छन् । ठेकेदारले पैसा नदिएपछि प्रहरी कार्यालयमा उजुरी गरेका छौँ,’ कोइरालाले भने ।

आयोजनाका साइट इन्चार्ज प्रवीण खत्रीले बक्यौता रकम दिन प्रक्रिया सुरु भएको बताउँदै आएका छन् । तर, निर्माण कम्पनीले रकमको हिसाब–किताब नगरेकाले आफू पनि समस्यामा परेको उनको भनाइ छ ।

‘म काठमाडौंमै छु, अब एक साताभित्र हिसाब हुन्छ होला, कम्पनीले समेत दैलेखमा रहेको साहारे खानेपानी समितिमा धरौटी राखेको ५४ लाख लिन बाँकी छ,’ उनले भने, ‘तत्कालीन खानेपानी कार्यालयसँग दुई करोडभन्दा बढी रकम लिन बाँकी नै रहेकाले कार्यालयबाट रकम प्राप्त हुनासाथ भुक्तानी गर्नेछौँ ।’

निर्माण कम्पनी गैरजिम्मेवार बनेको मजदुरको गुनासो
नारायण नगरपालिका–४ मा अवस्थित खानेपानी आयोजना सम्पन्न गर्न करिब दुई सय मजदुरले काम गरेका थिए । निर्माण कम्पनी सुमेकचन्द्र एन्ड वसन्त जेभीले ज्याला तिर्ने विषयमा गैरजिम्मेवारी देखाएको मजदुरहरूको गुनासो छ । दैलेख बजारमा खानेपानीको समस्या समाधानका लागि २०६९ मा २४ करोड रुपैयाँमा आयोजनाको सम्झौता भएको थियो ।

आयोजनाका लागि स्थानीय उपभोक्ताले समेत प्रतिघर पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म रकम तिरेका छन् । २०७५ मा काम सम्पन्न भए पनि जिल्लाका विभिन्न स्थानका धारामा पानी अझै पुगेको छैन । आयोजना सञ्चालक साहारे खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सदस्यका अनुसार अन्तिम चरणका धेरै काम बाँकी छन् ।

जिल्ला प्रहरी कार्यालयमा आफ्नो बाँकी पारिश्रमिक पाउन मजदुरले निवेदन दिएलगत्तै केही दिन आयोजनाको जिम्मा लिएको कम्पनीलाई प्रहरीले ताकेता गरेको थियो । कम्पनीले केही दिनभित्रै समस्या समाधान गर्छु भन्ने जवाफपछि प्रक्रिया रोकेको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७