ओली पक्षको चुनाव केन्द्रित दौडधुप, २५ प्रतिशत काम सकिएको पुल शिलान्यास


२१ माघ २०७७, बुधबार
KP Oli Silanyas 1

काठमाडौं, २१ माघ । नेकपा दुई समूहका विभाजन भएसँगैं सत्तापक्षीय नेताहरु विकासे योजनाको शिलान्यास र उद्घाटन गर्दै हिँडेका छन् । सरकारले निर्वाचन घोषणा गरेपछि उनीहरु जनतालाई प्रभावित पार्न यस्ता कार्यक्रममा सक्रिय भएका हुन् ।

अहिले पुराना र निर्माण भइरहेका योजना समेत धमाधम शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पाको लिबाङस्थित धाङ्सी खोलामा निर्मााणधीन मोटरेबल पुलको शनिबार शिलान्यास गरे । २५ प्रतिशत काम सकिएको पुल शिलान्यास हुनुलाई चुनावी फन्डाका रुपमा लिइएको छ । प्रदेश सरकारको ५ करोड ६१ लाख ४९ हजार लगानीमा असोजदेखि पुल निर्माण भइरहेको छ ।

यसैगरी अर्थमन्त्री विष्णु पौडेलले माघ १४ मा बुटवलको सिद्धार्थ राजमार्गअन्तर्गत चौराहादेखि चिडिया खोलासम्मको सडक विस्तारको शुभारम्भ गरे । ३ किलोमिटर सडक फराकिलो पार्न आर्थिक वर्ष २०७३–०७४ मा आयोजना परेको थियो ।

दुई वर्षमा सक्ने गरी सडकको काम सुरु गरिएको थियो । अर्थमन्त्री पौडेलले भने भर्खर योजना सुरु भएको आभास दिने गरी सडकको शुभारम्भ गरे । ४७ करोड २१७ लाख लगानीमा विस्तार हुन थालेको सडक २०७९ वैशाखमा सम्पन्न गर्ने गरी म्याद थपिएको छ ।

यस खण्डमा ३ सय २५ घर सडकमा पर्छन् । ४ बाट ६ लेन सडक विस्तार हुन थालेपछि घरधनीले पटकपटक मुद्दा हालेर अवरोध गरिरहेका छन् । यही क्रममा पौडेलले एक वर्षअघि निर्माण सम्पन्न दुई पुलको पनि उद्घाटन गरे । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७