कान्तिपुर डेन्टलले लियो एउटै विद्यार्थीसँग ८ लाख अतिरिक्त शुल्क


२२ माघ २०७७, बिहीबार
kantipur

काठमाडौं, २२ माघ । कोरोनाको चपेटामा परेका विद्यार्थीसँग कान्तिपुर डेन्टल कलेजले ८ लाख रुपैयाँभन्दा बढीका दरले अतिरिक्त शुल्क लिएको छ । चिकित्साशास्त्रको बीडीएस अध्ययनरत विद्यार्थीसँग कलेजले मनोमानी रुपमा शुल्क लिएको अभिभावकले बताएका छन् ।

लकडाउनका बेला अनलाइनबाट पढाएका थिए, एक अभिभावकले भने, अहिले कलेज सुरु भएपछि थप शुल्क माग्दै दबाब आइरहेको छ । सरकारले तोकेको शुल्क बुझाइसक्दा पनि कलेजले अतिरिक्त रकम माग गरेको उनले बताए ।

कलेजले बीडीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीसँग २७ लाख रुपैयाँ शुल्क मागेको हो । बीडीएस अध्ययनका लागि १९ लाख ३२ हजार शिक्षण शुल्क तोकिएको छ । कलेजले विभिन्न शीर्षक बनाएर रकम माग गरेको विद्यार्थीहरु बताउँछन् ।

पहिलो, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीसँग कलेजले फरक–फरक शुल्क लिन्छ एक छात्राले भनिन्, दोस्रो वर्षका सँग ८ लाखभन्दा बढी मागिएको छ । तेस्रो वर्षमा अध्ययनरतले ६ लाखभन्दा बढी तिर्छन, पहिलो वर्षमा पढ्नेसँग पनि बढी शुल्क लिइएको छ ।

कलेजले शुल्क तिर्न दबाब दिएपछि कतिपय अभिभावकले अतिरिक्त शुल्कसमेत बुझाइसकेका छन् । मागेजति शुल्क नबुझाउने विद्यार्थीलाई परीक्षा फाराम भर्न नदिने र परीक्षाबाटै वञ्चित गर्ने चेतावनी कलेज प्रशासनले दिने गरेको विद्यार्थीहरुले गुनासो गरे ।

असन्तुष्ट विद्यार्थीले कलेज प्रशासनलाई निवेदन दिन हस्ताक्षर संकलन गरिसकेका छन् । गतवर्ष देशभरका चिकित्सा शिक्षाका विद्यार्थी आन्दोलित भएपछि कलेज सञ्चालकले अतिरिक्त शुल्क समायोजन गर्ने प्रतिबद्धता जनाएका थिए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७