प्राप्त उपलब्धिको रक्षाका लागि आन्दोलनको शंख फुक्नुपर्‍यो : बाबुराम भट्टराई


२३ माघ २०७७, शुक्रबार
baburam bhattarai2021 02 04 08 21 25

संखुवासभा, २३ माघ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले संविधान र लोकतन्त्रको हत्या गरेको आरोप लगाएका छन् । संखुवासभाको सदरमुकाम खाँदबारीमा बिहीबार पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले बहुमतको सरकारले संसद् विघटन गरेर संविधान र लोकतन्त्रको हत्या गरेको जिकिर गरे ।

उनले मुलुकमा प्रतिगमन फस्टाउँदै गएकाले प्राप्त उपलब्धिको रक्षाका लागि आन्दोलनको शंख फुक्नुपरेको बताए । ‘जनताबाट बहुमत पाएका ओलीले संसद् विघटन गरेर संविधान र लोकतन्त्रमाथि नै ‘कु’ गरेका छन्,’ भट्टराईले भने, ‘तानाशाही ओलीले मुलुकका सबै ठाउँमा आफ्नो कब्जा गर्न थालेका छन् । कामचलाउ भएका ओली सरकारले संवैधानिक आयोगलगायत विभिन्न ठाउँहरूमा प्रक्रिया नै नपुगी आफ्नो मनखुसी नियुक्तिहरू दिन थालेका छन् । यसले कालान्तरमा राम्रो गर्दैन ।’

ओलीका कारण मुलुकमा संविधान र लोकतन्त्रका साथै संघीयता नै खतरामा परेको डा. भट्टराईको भनाइ छ । उनले कांग्रेससँग सहकार्य हुन नसक्दा आ–आफ्नै तरिकाले सडक संघर्ष गर्नुपरेको पनि बताए । ‘हामीले नेपाली कांग्रेसलाई ओली सरकारविरुद्ध संयुक्त रूपमा सडक आन्दोलन गरौँ भन्यौँ । कांग्रेसले नेकपा औपचारिक रूपमा नफुटेसम्म संयुक्त आन्दोलन नगर्ने भनेका कारणले संयुक्त आन्दोलन हुन सकेन,’ भट्टराईले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७