तीन वर्षमा बन्यो १६ सय किमी सडक : बागमती प्रदेश सरकार


२३ माघ २०७७, शुक्रबार
road 2

हेटौंडा, २३ माघ । बागमती प्रदेशले तीन वर्षको अवधिमा एक हजार ६०१ किलोमिटर सडक निर्माण गरेको छ । यस्तै ३९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ ।

यो वर्षको पुस मसान्तसम्म नयाँ सडकमध्ये ९०४ किलोमिटर सडक कच्ची, ४३५ किलोमिटर सडक खण्डास्मित (ग्राभेल), २१९ किलोमिटर सडक कालोपत्रे र ४३ किलोमिटर सडक ढलान गरिएको बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए ।

उनका अनुसार तीन वर्षको सडक पूर्वाधार विकासले १८ वटा स्थानीय तहका केन्द्रलाई जोड्ने काम गरेको छ । यस अवधिमा एक हजार १५९ किलोमिटर सडक निर्माणका लागि सर्भेको काम सम्पन्न भएको छ ।

यस अवधिमा ३३ वटा नयाँ पुल निर्माण गरी उद्घाटन सम्पन्न भइसकेको छ भने ४५ वटा पुल निर्माणाधीन रहेका छन् । त्यसैगरी ४३ वटा पुल निर्माण गर्न सर्भे सम्पन्न भइसकेका छन् । सर्भे भएका सडक निर्माणका लागि चालू आर्थिक वर्षमा नै ठेक्कापट्टाको काम सम्पन्न गरिने छ ।

मन्त्री फुयालका अनुसार यस अवधिमा जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशभरि एक हजार ३५४ वटा घरको निर्माण सम्पन्न भएका छन् । त्यसैगरी ५३ वटा सार्वजनिक भवन निर्माण र २९ वटा पार्क निर्माण भएका छन् । उनका अनुसार ‘एक घर, एक धारा’ भन्ने प्रदेश सरकारको नारालाई साकार पार्ने उद्देश्यसहित यस अवधिमा ३३ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७