नेपालमा तेस्रो जनआन्दोलन शुरु : गृहमन्त्री थापा


२३ माघ २०७७, शुक्रबार
thumb 1

काठमाडौं, २३ माघ । गृहमन्त्री रामबहादुर थापाले नेपालमा तेस्रो जनआन्दोलन शुरु भएको बताएका छन् । आज (शुक्रबार) काठमाडौंको नारायणहिटी दरबार अगाडि आयोजित केपी शर्मा ओली नेतृत्वको नेकपाले आयोजना गरेको आमसभामा उनले अब तेस्रो जनआन्दोलनको थालनी भएको बताएका हुन् ।

सम्बोधनका क्रममा उनले भने, ‘आज यो असाधारण परिस्थिति शुरु हुनुको पछाडि राजनीतिक सत्ता र राजनीतिक नेतृत्वको प्रश्नसँग जोडिएको छ । यो परिस्थिति उत्पन्न हुनुका पछाडि राजनीतिक सत्ताको केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ । प्रमुख पार्टी नेतृत्व र राष्ट्रपतिसँग जोडिएका छ । यी तीनवटै व्यक्तिलाई अपदस्थ गर्ने षड्यन्त्र शुरु भएको छ ।’

अहिलेको परिस्थितिको सामना गर्नका लागि अहिलेको अवस्था सिर्जना भएको पनि उनले दाबी गरे । सरकारको नेतृत्व र राष्ट्रपतिको मानमर्दन गर्ने र विस्थापित गर्ने षड्यन्त्रले अस्थिरता ल्याएको पनि उनले आरोप लगाएका छन् । अहिलेको परिस्थितिको सामनाका लागि जनतालाई आन्दोलित बनाएको पनि उनले उल्लेख गरे । उनले आम निर्वाचनको माध्यमबाट आफूहरुले आन्दोलनको थालनी शुरु गरेको बताएका छन् ।

त्यस्तै केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अबको आन्दोलन मांसाहारी हुन्छ भनेको भनाइप्रति लक्षित गर्दै गृहमन्त्री थापाले भने, ‘अहिले केही व्यक्तिले मांशाहारी आन्दोलन गर्ने भनेका छन् । म ती व्यक्तिलाई भन्न चाहन्छु, हाम्रो संविधान र कानुनले त्यस्ता आन्दोलनलाई बन्देज लगाएको छ । त्यस्ता मांशाहारी आन्दोलन गर्नेहरुलाई जाउलाखेलको जू मा लगेर बन्द गरिनेछ ।’ नारायणहिटी अगाडि सभा गरेर आफूहरु गणतन्त्रप्रति प्रतिबद्ध रहेको औचित्य पनि प्रमाणित गरेको गृहमन्त्री थापाले दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७