बैतडीमा विद्यालयबाट फर्किदै गरेकी किशोरीको बलात्कारपछि हत्या

दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित


२४ माघ २०७७, शनिबार
Bhagirathi Bhatta 1

बैतडी, २४ माघ । विद्यालयबाट घर फर्कने क्रममा हराएकी बैतडी दोगडा–केदार गाउँपालिका– ७ की १७ वर्षीया किशोरी भागरथी भट्ट मृत अवस्थामा फेला परेकी छिन् । बिहीबार साँझ घरनजिकैको लखलेक जंगलमा उनको शव भेटिएको हो ।

उनको बलात्कारपछि हत्या गरिएको आशंका गर्दै विद्यार्थीले शुक्रबारबाट आन्दोलन थालेका छन् । उनीहरूले किशोरीको शव भेटिएको ठाउँबाट नाराबाजी गर्दै शुक्रबार दिनभर बजार क्षेत्रमा विरोध प्रदर्शन गरे । आन्दोलित विद्यार्थीले दिनभर बैतडीको महाकाली लोकमार्ग पनि अवरुद्ध पारे । आन्दोलनरत विद्यार्थीले किशोरीको बलात्कारपछि हत्या गरिएको भन्दै दोषीलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न माग गरेका छन् ।

बुधबार विद्यालयबाट घर फर्कने क्रममा भागरथी घर नपुग्दै बेपत्ता भएकी थिइन् । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले घटना शंकास्पद रहेको बताए । घटनाको सबै कोणबाट अनुसन्धान सुरु गरिएको उनले बताए ।

अनुसन्धान गर्न सिआइबीको टोली पुग्यो
घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो तथा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको छुट्टाछुट्टै टोली परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा घटनाको अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको हो । प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले एसएसपीको नेतृत्वको अनुसन्धान टोलीलाई सघाउन छुट्टै प्राविधिक टोली पनि परिचालन गरिएको जानकारी दिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नेतृत्वको टोली पनि खटिएको छ । अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुरसमेत लगिएको छ ।

चडेपानीमा रहेको श्रमिक माविमा कक्षा १२ मा अध्ययनरत भागरथी बुधबार विद्यालयबाट नफर्किएपछि परिवारजनले खोजी सुरु गरेका थिए । सम्पर्कविहीन भएको एक दिनपछि भट्टको मृत शरीर घरनजिकैको जंगलमा फेला परेको थियो । किशोरी भट्टको बलत्कारपछि हत्या गरिएको आशंका गरिएको छ । घटनास्थल मृतक भट्टको घरबाट अढाई किलोमिटर दूरीमा पर्छ । सदरमुकामबाट भने घटनास्थल डेढ घन्टाको दूरीमा छ ।

घटनाबारे बुझ्न बैतडीका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली घटनास्थल पुगेको थियोे । टोलीमा जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारी, सशस्त्र प्रहरीका नायब उपरीक्षक गणेश शाहलगायत थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७