बैतडीमा किशोरीको ‘बलात्कारपछि हत्या’ प्रकरण : गाउँ नै शोकमा, परिवारले शव बुझेन


२५ माघ २०७७, आईतवार
Bhagirathi Bhatta 1

बैतडी, २५ माघ । बैतडीको दोगडा–केदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेपछि पालिका नै शोकमा डुबेको छ । बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक जंगलमा उनको शव फेला परेको थियो ।

मृतकका बुबाको दुई महिनाअघि मृत्यु भएको थियो, दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन् । काखको छोरी गुमाउँदा मृतककी आमा द्रोपती पीडामा छिन् । श्रीमान् बितेको पीडामै रहेका द्रोपतीलाई सन्तान गुमाउँदाको पीडाले झनै थिचेको छ ।

भागरथी बीभत्स अवस्थामा फेला परेकीले बलात्कार गरी हत्या गरिएको आशंका आफन्तको छ । कपडा च्यातिएको, शरीरमा नीलडाम, घाउ, यौनांगमा रगत, घाँटी निमोठेको अवस्थामा शव फेला परेपछि बलात्कारपछि हत्या भएको मृतकका काका शिवराज भट्टले बताए ।

चडेपानीका केशव भट्टले अकल्पनीय घटना भएको बताए । गाउँकी छोरीको हत्या भएपछि गाउँ नै शोकमग्न भएको अर्का स्थानीय शंकरदत्त भट्टको भनाइ छ । ‘विद्यालयबाट फर्किने वेला घटना भएको छ, यस घटनाले आफ्नो छोरीचेलीलाई विद्यालय पठाउन समेत मुस्किल भएको छ,’ उनले भने ।

परिवारले शव बुझेको छैन । ‘अपराधी पत्ता लागेको छैन, शव परीक्षण गरिएको भए पनि हामीले बुझेका छैनौँ,’ उनले भने । मृतकको शव परीक्षणको रिपोर्ट एक–दुई दिनभित्रै आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए ।

बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुमानअनुसार प्रहरीले घटना भएको क्षेत्रमा सो दिन हिँडडुल गर्नेलाई सोधपुछ गरिरहेको छ । घटना शंकास्पद रहेकाले खोचलेक–चडेपानी सडकखण्डमा बुधबार र बिहीबार कुन–कुन सवारीसाधन सञ्चालन भएका थिए, ती सवारीसाधनमा आवतजावत गर्ने व्यक्तिलाई पनि सोधपुछ भइरहेको खोचलेक प्रहरी चौकीका इन्चार्ज मोती बमले बताए । ‘किशोरीका गाउँका विद्यार्थी, सँगै पढ्ने सहपाठीलाई पनि सोधपुछ गरिरहेका छौँ,’ इन्चार्ज मोती बमले भने ।

घटनालाई गम्भीर रूपमा लिएकाले अनुसन्धान पनि तीव्र बनाएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली जिल्ला पुगेर काम थालिसकेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरी टोली पुगेर काम थालिरहेको हो ।

अनुसन्धानमा सघाउन एसएसपीको नेतृत्वमा छुट्टै प्राविधिक टोली पनि परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई खटाई अनुसन्धानमा प्राविधिक सहयोगका लागि छुट्टै टोली खटाइएको हो ।

यसका साथै धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकले प्रयोग गरेको मोबाइल पनि भेटिएकाले अनुसन्धानमा थप सहज भइरहेको प्रहरीको भनाइ छ ।

दोषीमाथि कारबाही गर्न प्रचण्ड–नेपाल, देउवा र भट्टराईको माग

घटनालाई ढाकछोप वा षड्यन्त्रपूर्वक न्यायिक प्रक्रियामा तगारो हाल्ने काम नगर्न बृहत् नागरिक आन्दोलनको माग

काठमाडौं नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड एवं माधवकुमार नेपाल र विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले बैतडीकी १७ वर्षीया भागरथी भट्टको ‘बलात्कारपछि हत्या’का दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

प्रचण्ड–नेपालले शनिबार शोक वक्तव्य जारी गरेर तथा देउवाले सामाजिक सञ्जालमार्फत घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् । त्यसैगरी बृहत् नागरिक आन्दोलनले पनि भट्टको ‘बलात्कारपछि हत्या’को गम्भीर छानबिन गरी घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेको छ ।

नेकपा अध्यक्षद्वय प्रचण्ड र नेपालले किशोरी भट्टको बलात्कारपछि भएको हत्याको भत्र्सना गरेका छन् । उनीहरूले शनिबार शोक वक्तव्यमार्फत घटनाले शान्ति–सुरक्षा दिन राज्यसंयन्त्र असफल प्रमाणित भएको र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
‘भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले हामी स्तब्ध र मर्माहत भएका छौँ ।

विद्यालयबाट घर फर्किंदै गरेको वेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भत्र्सना गर्दछौँ,’ प्रचण्ड–नेपालको शोक वक्तव्यमा छ, ‘डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आमजनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आमनागरिकलाई शान्ति–सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ ।

विगतमा निर्मला पन्तको अनुसन्धानजस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै सत्य–तथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ ।’ साथै मृतक भट्टप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा वक्तव्यमा समावेदना व्यक्त गरिएको छ ।

त्यसैगरी कांग्रेस सभापति देउवाले किशोरी भट्टको हत्यामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । सभापति देउवाले शनिबार ट्विट गर्दै भागरथीको हत्याको खबरले मर्माहित बनाएको भन्दै दोषीलाई कारबाहीको माग गरेका हुन् ।

‘बैतडीको दोगडा–केदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खबरले निकै मर्माहित भएको छु,’ देउवाले लेखेका छन्, ‘उक्त घटनाको विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु । भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’

त्यसैगरी पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि लैंगिक हिंसा र हत्या बढेको भन्दै गम्भीर कदम चाल्ने वेला आएको बताएका छन् । ‘फेरि अर्की १७ वर्षीया किशोरी भागरथी भट्टको बैतडीमा बलात्कार पछि हत्या ! निर्मला पन्त, सम्झना विकलगायतका कैयौं किशोरीले जघन्य लैंगिक हिंसा–हत्या बेहोरिरहनुपर्ने र समाज–राज्य सामान्य लोकाचार निभाएर बस्ने स्थिति कहिलेसम्म ? गम्भीरतम कदम चाल्ने वेला भएन र ? सरकार कता ? श्रद्धाञ्जली–समवेदना !’ शनिबार साँझ ट्वीटमार्फत डा. भट्टराईले भनेका छन् ।

उता बृहत् नागरिक आन्दोलनले पनि किशोरी भट्टको ‘बलात्कारपछि हत्या’को गम्भीर छानबिन गरी घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेको छ । बृहत् नागरिक आन्दोलनका तर्फबाट युग पाठकले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा छ, ‘भागरथी भट्टमाथि भएको यस किसिमको आततायी र मानवताविरोधी जघन्य अपराधको गम्भीर छानबिन गरी घटनामा संलग्न अपराधी पत्ता लगाई हदैसम्मको कारबाही गर्न बृहत् नागरिक आन्दोलन सरकारसँग जोडदार माग गर्दछ ।’

पछिल्लो घटनाले राज्य महिला र बालिकामाथि हुने हिंसा र बलात्कार नियन्त्रणका लागि अलिकति पनि जवाफदेही नभएको पुष्टि भएको बृहत् नागरिक आन्दोलनको ठम्याइ छ । कुनै पनि बहानामा घटनालाई ढाकछोप गर्ने वा षड्यन्त्रपूर्वक न्यायिक प्रक्रियामा तगारो हाल्ने काम नगर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।

‘भागरथी भट्टको हत्यासम्बन्धी यस घटनाको तुरुन्त निष्पक्ष छानबिन होस् । कुनै पनि बहानामा घटनालाई ढाकछोप गर्ने वा षड्यन्त्रपूर्वक न्यायिक प्रक्रियामा तगारो हाल्ने वा पीडकलाई छुटकारा दिने र पीडितलाई थप पीडा दिने काम नहोस्,’ विज्ञप्तिमा छ, ‘पीडितले न्याय पाउने अधिकारको सुनिश्चितता गर्न र बलात्कार तथा हत्यामा संलग्न अपराधी तुरुन्त पत्ता लगाई कडा कानुनी कारबाहीका लागि बृहत् नागरिक आन्दोलन राज्यको गम्भीर ध्यानाकर्षण गराउँछ ।’

विद्यालयबाट घर फर्किंदा बाटोबाटै बेपत्ता भएकी बैतडी दोगडा–केदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भट्ट बिहीबार मृत अवस्थामा भेटिएकी थिइन् । उनको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७