अपराधी सहजै पक्राउ गर्न ‘सिम लोकेटर’


२५ माघ २०७७, आईतवार
simcards

काठमाडौं, २५ माघ । अपराध अनुसन्धान चुस्त र प्रभावकारी बनाउन नेपाल प्रहरीले दुई अत्याधुनिक प्रविधि भित्र्याउने भएको छ । अपराधीलाई सहजै पक्राउ गर्न ‘सिम लोकेटर’ तथा सामाजिक सञ्जालमा हुने अपराधको अनुसन्धानका लागि ‘ओपन स्पेस इन्टेलिजेन्स सिस्टम’ प्रयोग गर्ने प्रहरीको तयारी छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ‘सिम लोकेटर’ प्रणाली जडान गर्न लागेको हो । जुन अन्तिम चरणमा पुगेको ब्युरोका निर्देशक डिआइजी सहकुल थापाले बताए । सिआइबीले यसका लागि गत वर्ष नै टेन्डर गरेको थियो । पुसभित्रै जडान हुनुपर्ने भए पनि कोभिड–१९का कारण केही सामान आपूर्तिकर्ताले दिइनसकेको सिआइबीले जनाएको छ । अबको एक महिनाभित्रै सो प्रविधि जडान हुने डिआजी थापा बताउँछन् ।

‘ओपन स्पेस इन्टेलिजेन्स सिस्टम’ प्रहरीको साइबर ब्युरोले जडान गर्न लागेको छ । सामाजिक सञ्जालमार्फत हुने अपराध बढेपछि नियन्त्रणका लागि यस्तो प्रविधि प्रयोग गर्न लागिएको छ । जसको हालै टेन्डर स्वीकृत भएको छ ।

सिम लोकेटर : पाँच मिटरमा भेटिनेछन् अपराधी
स्विडेनको ‘फोर इन्टेलिजेन्स डटकम’ नामक कम्पनीमार्फत सिम लोकेटर खरिद हुन लागेको हो । करिब साढे सात करोड करोड रुपैयाँ लागतमा यो प्रविधि जडान गर्न लागिएको हो । अपराध अनुसन्धानमा प्रहरीको प्रमुख माध्यम मोबाइल हुँदै आएको छ ।

मोबाइलकै माध्यमबाट यो सिस्टमले काम गर्ने हो । यो प्रविधि जडान भएपछि अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सहज हुने सिआइबीका डिआइजी थापा बताउँछन् । यो प्रविधि जडान गरेपछि प्रहरीले मोबाइलको माध्यमबाट सहजै अभियुक्त पक्राउ गर्नेछ । यसका लागि लोकेटर लिएर प्रहरी फिल्डमै जानुपर्ने हुन्छ ।

ब्युरोका एक अधिकारीका अनुसार यो प्रविधिले शंकित व्यक्तिलाई पाँच मिटरको दूरीसम्मको संकेत प्रहरीलाई दिन्छ । हाल कुनै पनि व्यक्तिलाई पक्राउ गर्नुपरेमा सो क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनीको बिटिएस टावरका आधारमा सम्बन्धित व्यक्ति रहेको स्थान पहिचान गरिन्छ । तर, त्यो क्षेत्रमा कुन ठाउँमा छन् भन्ने पत्ता लगाउन प्रहरीलाई निकै गाह्रो हुन्छ । कुनै स्थान पहिचान भएमा सिम लोकेटरले कुनै दिशामा कति मिटर टाढा छ भनेर देखाउनेछ । जसले शंकित व्यक्ति सहजै पक्राउ पर्नेछन् ।

यसले सामान्यदेखि ठूला अपराध अनुसन्धानमा समेत धेरै सहज हुने प्रहरी अधिकारीहरू बताउँछन् । त्यसरी कुनै पनि व्यक्ति रहेको स्थान पहिचान गर्नुअघि प्रहरीले अदालतबाट अनुमति भने लिनुपर्ने हुन्छ । हाल कल डिटेल, एसएमएस तथा लोकेसेन लिन प्रहरीले अदालतको अनुमति लिनुपर्ने हुन्छ । तत्कालका लागि सिआइबीसँग यस्तो एउटा मात्र प्रविधि हुनेछ । कम्तीमा सातै प्रदेशमा एक–एकवटा सिम लोकेटर पुर्‍याउने प्रहरीको तयारी छ । सिस्टम खरिद भइसकेपछि सिम लोकेटर मेसिन मात्र खरिदका लागि भने करिब एक करोड रुपैयाँ पर्नेछ ।

पहिचान लुकाएर इन्टरनेटमार्फत हुने शंकास्पद डिल समेत पत्ता लाग्ने
बढ्दो साइबर अपराध नियन्त्रणका लागि प्रहरीले ओपन स्पेस इन्टेलिजेन्स सिस्टम खरिदका लागि पनि सिंगापुरको कम्पनी छनोट गरेको छ । सो कम्पनीले करिब तीन महिनामा सामान आपूर्ति गर्ने साइबर ब्युरोले जनाएको छ ।

यो प्रविधिबाट ‘डार्कनेट’मा हुने अपराध पहिचान गर्न सहज हुने ब्युरोका अधिकारीहरू बताउँछन् । कुनै कुरा शंकास्पद लागेमा सजिलै खोज्न सकिने तथा इन्टरनेटका डाटा प्रशोधन गर्न सकिनेछ । यसले इन्टरनेटमा हुने शंकास्पद गतिविधिको समेत प्रहरीले सूचना पाउनेछ ।

पहिचान लुकाएर इन्टरनेटमार्फत हुने शंकास्पद डिलसमेत पत्ता लगाउन सकिने प्रहरी अधिकारी बताउँछन् । ह्याकिङलगायत गतिविधि नियन्त्रण गर्न पनि यो प्रविधि सहयोगी हुनेछ । यो प्रविधि पनि करिब सात करोड रुपैयाँमा खरिद हुन लागेको हो । अत्याधुनिक प्रविधिको माध्यमबाट हुने अपराध बढेको र त्यससँग जुध्न प्रहरीले पनि अपराध अनुसन्धानमा प्रविधिकै प्रयोग बढाउँदै लगेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७