प्रदेश- १ : अविश्वासको प्रस्ताव टेबल हुने भएपछि बैठक नै बस्न नदिने रणनीतिमा सत्तापक्ष


२५ माघ २०७७, आईतवार
Sherdhan Rai

विराटनगर, २५ माघ । प्रदेश– १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आइतबार बोलाएका छन् । प्रदेशसभामा नेकपा दाहाल–नेपाल समूहले दर्ता गराएका मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव बाहेकको बिजनेस नभएकाले उक्त प्रस्ताव टेबल हुने निश्चित छ ।

तर सत्ता पक्ष प्रदेशसभा बैठक नै बस्न नदिने खेलमा छ । मुख्यमन्त्री राई निकट नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले नेकपा औपचारिक रुपमा विभाजन हुन नसकेको र सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा विचाराधीन भएकाले प्रदेशसभा बैठकको औचित्य नभएको बताए ।

‘मुख्यमन्त्री राईले नेकपा संसदीय दलको नेताको हैसियतमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका १६ जना प्रदेशसभा सदस्यलाई तीन महिनासम्म कुनै किसिमको संसदीय गतिविधिमा संलग्न नहुने गरी निलम्बन गर्नुभएको छ,’ उनले भने, ‘प्रदेशसभा बैठक बस्न कि त सभामुखले मुख्यमन्त्री ज्यूले गरेको कारवाही कार्यान्वयन गर्नुपर्छ कि नेकपाको औपचारिक विभाजन पर्खिनु पर्छ ।’

निलम्बनका परेका प्रदेशसभा सदस्यहरुको उपस्थितिमा प्रदेशसभा बैठक अघि बढ्न नदिने राजभण्डारीले बताए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७