प्रदेश-१ को प्रदेश सभा बैठक आज, मुख्यमन्त्रीलाई जोगाउन रोक्ने पक्षमा ओली समूह


२५ माघ २०७७, आईतवार
Sherdhan Rai

काठमाडौं, २५ माघ । प्रदेश–१ को प्रदेशसभा बैठक आज (आइतबार) बस्दैछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा बस्न लागेको प्रदेशसभा बैठक कसरी अघि बढ्छ भन्ने सबैको चासोको विषय बनेको छ ।

बैठक अघि आइतबार बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकमा कुनै मध्यमार्गी बाटो ननिस्किए सत्ता पक्ष बैठक अवरुद्ध गर्ने रणनीतिमा देखिएको छ ।

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहका १६ जना सांसदलाई ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको छ । भीम आचार्य, इन्द्र आङ्बो, जीवन घिमिरेसहित निलम्बनमा परेका १६ जना प्रदेशसभा सदस्यलाई बैठकमा प्रवेश गर्न नदिने अडानमा ओली समूह छ । बैठकमा प्रवेश गरे बैठक सञ्चालन हुन नदिने ओली समूहको तयारी छ ।

नेकपा प्रदेश–१ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कारवाहीमा परेका १६ सांसदलाई बैठक कक्षमा प्रवेश गर्न दिन नमिल्ने बताउँछन् । ‘विहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ,’ उनले भने, ‘बैठकबाट केही विकल्प निस्कियो भने छलफल अघि बढ्छ । तर १६ जनालाई प्रवेश गरे बैठकमा हामी नियमापत्ति गर्छौं ।’ उनले कारवाहीमा परेकाहरुलाई संसदीय गतिविधिमा समावेश नगर्न नमिल्ने तर्क गरे ।

प्रचण्ड–माधव समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोले १६ जना प्रदेशसभा सदस्य कारवाहीको च्याप्टर क्लोज भइसकेको बताएका छन् । पहिलो बैठकमा प्रवेश गरेपछि कारबाहीको च्याप्टर क्लोज भएको बताउँदै उनले भने, ‘कारबाही उहाँहरुको राजनीतिक प्रपोगाण्डा मात्रै हो ।’ प्रचण्ड–माधव समूहले पनि मुख्यमन्त्री शेरधन राईसहित ओली समूहका ८ जनालाई निलम्बन गर्ने निर्णय गरेको थियो । तर प्रदेशसभा बैठकमा प्रचण्ड–माधव समूहले निलम्बनको विषय उठाएको छैन ।

सरकार पक्षले बैठक बस्न नदिनु हाँस्यास्पद हुने उनले बताएका छन् । ‘सरकारले नै संसद अधिवेशन आह्वान गरेर बैठक अवरुद्ध गर्‍यो भने विश्वको दुर्लभ घटना हुन्छ,’ उनले भने, ‘सरकारले आह्वान गरेको बैठक सरकारले नै अवरुद्ध गर्न मिल्दैन ।’

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन भएपछि नेकपा व्यवहारिक रुपमा दुई समूहमा विभाजित छ । यसैको असर स्वरुप नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहका ३७ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

७ माघमा प्रदेशसभाको हिउँदे अधिवेशन शुरु भएको थियो । तर उक्त बैठक तीन मिनेट मात्र बसेर स्थगित गरिएको थियो । प्रदेश–१ प्रदेशसभामा प्रधानमन्त्री केपी ओली समूहको नेतृत्व मुख्यमन्त्री शेरधन राईले गरेका छन् भने प्रचण्ड समूहको नेतृत्व भीम आचार्यले गरेका छन् ।
सभामुखले प्रदेशसभा बैठक डाकेपछि सशंकित बनेको मुख्यमन्त्री राई पक्ष (ओली समूह) कुनै हालमा अविश्वास प्रस्ताव टेबुल गराउन नदिने रणनीतिमा छ ।

नेकपाको विवादमा निर्णायक बनेको कांग्रेस भने अहिलेसम्म आफै अनिर्णित छ । कांग्रेसले अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा उभिने भन्नेमा अहिलेसम्म ठोस निर्णय लिएको छैन ।
प्रदेशसभाको बैठक जसरी अघि बढ्छ, सोहीअनुसार निर्णय लिने कांग्रेसले जनाएको छ । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले अविश्वासको प्रस्ताव संसदमा टेबल भएपछि मात्रै निर्णय लिने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७