४२ वर्षपछि फेवातालको बाँध मर्मत, सुरक्षित रुपमा माटो निकाल्न विज्ञको सुझाव


२५ माघ २०७७, आईतवार
fewa tal marmat

पोखरा, २५ माघ । ड्यामसाइडस्थित फेवातालको बाँध जीर्ण भएपछि ४२ वर्षपछि मर्मत सम्भार हुन थालेको छ । विसं २०१८ मा बाँधिएको ताल फुटेपछि पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो । शुरुको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले र पछि संयुक्त राष्ट्रसङ्घको सहयोगमा पुनर्निर्माण गरिएको थियो ।

त्यसयता लामो समयसम्म बाँधमर्मत सम्भार हुन नसक्दा जीर्ण हुँदै गएकोले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले मर्मत गर्न लागेको हो । कार्यलय प्रमुख किरण आचार्यले भने, ‘२०३५ सालमा बाँधको संरचना निर्माणपछि हालसम्म ठूलो किसिमको मर्मत भएको थिएन, पहिला सङ्घले हेर्ने कार्यक्रम प्रदेश मातहतमा आएपछि यसप्रति चासो दिएर मर्मत गर्न लागिएको हो ।’

उनका अनुसार ताल सिँचाइ प्रणालीका लागि रु दुई करोड बजेट विनियोजन गरिएको छ । एक करोड बाँध निर्माणको लागि र एक करोड नहरका लागि समुद्र सतहदेखि सात सय ९५.७ मिटरको उचाइमा रहेको बाँधको संरचना २० मिटर उचाइको छ । उक्त बाँधमा अहिले रबर सिल्ड र लन्चिङ एप्रोन राखेर मर्मत गरिनेछ । बाँध मर्मतको लागि हाल पानीको सतह एक मिटरको घटाइएको छ, प्राविधिकको सल्लाहअनुसार आवश्यकता हेरेर पानीको सतह घटाउँदै लगिने उनको भनाइ छ ।

यही बेला तालको माटो निकाल्न विज्ञको सुझाव
ड्याम मर्मतका लागि यतिबेला फेवातालको जलाशय क्षेत्र घटाइएको छ । पानीको सतह दुई मिटरसम्म घट्ने अनुमान छ । पानीको सतह घटेको यही मौकामा सुख्खा क्षेत्रको माटो निकाल्न सके तालको गहिराइ बढाउन सकिने विज्ञहरुले सुझाएका छन् ।

ताललाई वर्षेनी सिरान क्षेत्रबाट बगेर आएको ढुंगा, गिट्टी, बालुवाले पुर्दै लगेको अवस्थामा थुप्रिएको माटो किनाल्न सके तालको गहिराई बढाउन सकिने उनीहरुको भनाई छ । तालको माटो निकाल्ने यो नै गतिलो अवसर भएको विज्ञहरुले बताए । वन विज्ञान अध्ययन संस्थान पोखराका प्राध्यापक राजन सुवेदीले जलचरलाई असर नपार्नेगरि माटो निकाल्न सकिने बताए ।

‘जलचरलाई हानी नहुने गरि तालको सुख्खा क्षेत्रको माटो निकाल्न सकिन्छ । सुरक्षित तरिकाले माटो निकाल्ने यो नै गतिलो अवसर पनि हो,’ सुवेदीले भने, ‘माटो निकाल्न ठुला उपकरण प्रयोग गर्नुहुँदैन । तर, तालका जलचरलाई कुनै प्रभाव नपर्ने गरि माटो निकालेको खण्डमा तालको गहिराई बढाउन सकिन्छ ।’

सिरान क्षेत्रबाट मात्र तालमा वर्षेनी करिब १ लाख ४२ हजार टन गिट्टि, बालुवा र माटो मिसिने अनुमान छ । सिरान क्षेत्रबाट थपिँदै आएको ढुंगा, माटोले ताल पुरिने भएकोले अहिले सुख्खा भएको मौका पारेर निमाल्न सकिने सुवेदीले बताए ।
पानी घटेपछि मरे माछा
बाँध निर्माणका लागि बिना जानकारी फेवातालमा पानीको सतह घटाउँदा माछा मरेको जलारी समुदायले गुनासो गरेका छन् । हर्पन फेवा मत्स्त्य सहकारीका निवर्तमान अध्यक्ष ज्ञानबहादुर जलारीले समयमा सही सूचना नपाउँदा पिँजडामा पालेका माछा मरेको बताए ।

उनले भने, ‘हामीलाई जानकारी नदिइ बाँध निर्माण शुरु भयो, डेढ दुई मिटर पानीको सतह घट्यो । यसले माछाको बासस्थानलाई असर पार्‍यो ।’ उनका अनुसार खपौँदीमा ९२ जलारी परिवारले जीविको पार्जन गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७