चार वर्षमा बलात्कारपछि १७ जनाको हत्या


२६ माघ २०७७, सोमबार
bhagarathi tUKnbr3loj

काठमाडौं, २६ माघ । रुपन्देहीको कोटहिमाईमा घाँस काट्न गएकी १२ वर्षीया सरस्वती हरिजनको २०७४ माघ २२ गते बलात्कारपछि हत्या भएको थियो । उक्त घटनामा सन्दीपकुमार धोवीको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको थियो । अभियुक्त धोवी जेल जीवन बिताइरहेका छन् ।

तर, कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषीलाई प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । ०७५ साउन १० गतेको उक्त घटनाले सडकदेखि सदनसम्म तताएको थियो ।

यस्तै, बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको पनि बलात्कारपछि हत्या भएको छ । तर, घटनाको पाँच दिनसम्म पनि सुराक नभेटिएपछि निर्मला प्रकरण जस्तै होला कि भनेर आशंका उब्जिएको छ ।

यी तीन घटना जस्तै पछिल्लो झन्डै चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । २०७४ सालयता बलात्कारका घटना ७ हजार १ सय ७० वटा भएकामा १७ जना मारिएका हुन् । ०७०–७१ मा मुलुकभर बलात्कारका ९ सय ५ वटा घटना भएका थिए । ०७६–७७ सम्म आइपुग्दा दुई गुणा बढेर २ हजार १४६ वटा घटना भएको प्रहरी अभिलेखमा छ ।

प्रदेश १ मा बढी घटना भएको देखिन्छ । ०७४–७५ मा ३ सय ४८, ०७५–७६ मा ५ सय ४८, ०७६–७७ मा ४ सय ८५ र ०७७–७८ को पुससम्म ३२५ वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

संख्यात्मक रूपमा प्रदेश १ मा धेरै घटना देखिए पनि वृद्धि भने सुदूरपश्चिममा देखिन्छ । प्रहरी मुख्यालयका अनुसार ०७४–७५ मा सुदूरपश्चिममा ९३ वटा बलात्कारका घटना भएका थिए । ०७५–७६ मा १ सय ७१, ०७६–७७ मा २ सय १ र ०७७–७८ को पुससम्म १२३ वटा घटना भएको देखिन्छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी भागरथीको हत्यारा पत्ता लगाउन घटनास्थलमा खटिएका छन् । प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले घटनास्थलबाट बरामद भएका मोबाइल, भागरथीका साथी र आफन्त, नजिकै चल्ने सार्वजनिक यातायातका चालकलगायतसँग सोधपुछ गर्ने काम भइरहेको बताए । ‘अहिले नै अभियुक्त यही भन्ने किटान भएको छैन । सबै पक्षसँग बुझ्ने काम भइरहेको छ’, एसएसपी सिंहले भने ।

प्रहरी मुख्यालयका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले संख्यात्मक रूपमा तुलना गर्दा बलात्कारका घटनामा कमी आएको बताए । ‘०७४ देखि ७६ सम्म आइपुग्दा बलात्कार घटना केही हदसम्म कमी हुँदै आएको देखिन्छ’, प्रवक्ता कुँवरले भने, ‘बेला–बेला हुने क्रूर हत्याका घटनामा प्रहरी संवेदनशील छ ।’ निर्मला प्रकरणमा प्रहरी गम्भीर रूपमा अनुसन्धानमै रहेको दाबी उनले गरे । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७