६ महिनामा झण्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रियो, रोजगारीमा जाने भने घटे


२७ माघ २०७७, मंगलवार
remittance

काठमाडौं, २७ माघ । चालु आर्थिक वर्ष २०७७–७८ को ६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । सो अवधिमा ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्था’मा उल्लेख भएअनुसार समीक्षा अवधिमा रेमिट्यान्स दर ११ दशमलव १ प्रतिशतले बढेको छ ।

विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रास हुनुअघिको अवस्थाभन्दा अहिले नेपाल भित्रिने रेमिट्यान्स रकममा निकै सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) शून्य दशमलव ६ प्रतिशतले मात्रै बढेको थियो । यसलाई अमेरिकी डलरमा हिसाब गर्दा नेपाल भित्रिने विप्रेषण आप्रवाह दर ६ दशमलव ७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह शून्य दशमलव ९ प्रतिशतले बढेको थियो ।

रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढे पनि वैदेशिक रोजगारीमा जानेहरूको अवस्था भने यस अवधिमा निकै कमजोर देखिएको छ । चालु आवको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपाली कामदारको संख्या ७७ दशमलव ६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७ दशमलव ७ प्रतिशतले बढेको थियो ।

यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएर विभिन्न मुलुकतर्फ जाने नेपाली कामदारको संख्या यस अवधिमा ६८ दशमलव ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या शून्य दशमलव ५ प्रतिशतले बढेको थियो । अहिले कोरोना महामारीको प्र्रभावका कारण वैदेशिक रोजगारीमा जानेहरूको संख्या घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७