अन्तत : कुलमानको बाटो बन्द : कुलमानप्रति ओली सरकार किन यतिधेरै असहिष्णु ?


२७ माघ २०७७, मंगलवार
Kulman Ghising

काठमाडौं, २७ माघ । आम नागरिक र उर्जा क्षेत्रका जानकारहरु नेपाल विद्युत प्राधिकरणको निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई उज्यालोको प्रतिकको रुपमा सम्मान गर्छन् । मान्छन् । कुलमान नेपाली समाजको दिल दिमागमा यस्तरी बसेका छन्, ‘की बत्ती गयो की कुलमान गयो भन्छन् ।’ अर्थात् उज्यालोको अर्को नाम कुलमान ।

तर उही कुलमानप्रति वर्तमान प्रधानमन्त्री केपी ओली र उनी निकटहरु भने असाध्यै असहिष्णु छन् । यतिसम्म की आफ्नो जिम्मेवारी पुरा गरेर आरम गरीरहेका कुलमानप्रति अहिले पनि घरी घरी प्रहार गरीरहन्छन् ।

प्रधानमन्त्री ओलीदेखि उनको विश्वास पात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, उनका प्रेस सल्लाहकार सूर्य थापा, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले पटक-पटक कुलमान विरुद्ध बोल्दै आएका छन् ।

१६ पुस २०७७ मा लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले प्युठान पुगेर कुलमान विरुद्ध आक्रोश पोखे । लोडसेडिङको अन्त्य कुलमानले नभएर प्रधानमन्त्री ओली गरेको उल्लेख गर्दै कुलमानलाई जस दिएकोमा रोष प्रकट गरे ।

भनेका थिए, आज मुलुकमा १८ घण्टाको लोडसेडिङ अन्त्य भएको छ, यो प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा गरिएका विद्युत खरिद सम्झौताको परिणाम हो ।’ प्रधानमन्त्री ओलीले समेत पोखरेलकै पद पछ्याएर लोडसेडिङ आफूले अन्त्य गरेको दाबी गरेका थिए ।

यतिसम्मकी हालका उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले समेत कुलमानले नभई आफूले गरेको दाबी गरेका थिए । १९ पुस २०७७ मा उनको गृहजिल्ला अर्घाखाँचीको सन्धिखर्कमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भनेका थिए, ‘कुलमानले होइन, मैले गर्दा ऊर्जा क्षेत्रमा देशले ठूलो फड्को मारेको हो ।’


अन्तत : कुलमानको बाटो बन्द
२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमानको ४ वर्षे कार्यकाल सकेर २०७७ भदौ २९ गते बिदा भएका थिए । जनस्तरबाटै कुलमानलाई पुन नियुक्ती गरिनुपर्ने माग व्यापक रुपमा उठेको थियो । उनको नियुक्तीको माग सहित देशभर प्रर्दशन समेत भएको थियो ।

कुलमानले ४ वर्षे पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेका थिए । तर, उनै कुलमानप्रति प्रधानमन्त्री ओली र उनका विश्वासपात्रहरु पछिल्लो पटक सार्वजनिक रुपमै जाइलागेका थिए ।

तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने प्रस्ताव राख्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए ।२८ भदौ २०७७ मा उर्जा मन्त्रालयका तर्फबाट कुलमानलाई नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष पुगेको थियो । तर प्रधानमन्त्री ओलीले अनिच्छा देखाएपछि यो प्रस्ताव क्याबिनेटमा यो प्रस्तावले प्रवेश नै पाएको थिएन । बैठक सकिनै लाग्दा उर्जामन्त्री वर्षमान पुनले ‘मेरो पनि एउटा प्रस्ताव थियो नि प्रधानमन्त्रीज्यू’ भनेका थिए । तर प्रधानमन्त्री ओलीले कानूनअनुसार बुझौंला भनेर टारी दिएका थिए ।

यही बिचमा पनि कुलमानको नियुक्तीको आशा भने प्रकट भएका थिए । तर सोमबारदेखि यो आशा अब पूर्णत निराशामा परिणत भएको छ । कुलमानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका उर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए ।

सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । कुलमानको बाटो बन्दै गर्दै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७