अझै अस्पतालमै भागरथीको शव, घटनाका दोषी पत्ता नलागेसम्म नबुझ्ने


२८ माघ २०७७, बुधबार
bhagarathi tUKnbr3loj

बैतडी, २८ माघ । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव अझै अस्पतालमै छ । घटनाका दोषी पत्ता नलागेसम्म शव नबुझ्ने परिवारजनले अडान छाडेका छैनन् ।

बुधबार विद्यालय गएकी भागरथीको बिहीबार साँझ बीभत्स अवस्थामा शव फेला परेको थियो । शव फेला परेको ६ दिन भइसक्दासम्म पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । दाहसंस्कार गरिए अपराधी उम्किन्छन् कि भन्ने आशंकाले शव उठाउन नसकिएको मृतकका काका शंकर भट्टले बताए ।

भागरथीको शवलाई अब काठको बाकसभित्र आइसमा राख्ने तयारी जिल्ला अस्पतालले गरेको छ । धेरै दिन भएकाले शव बिग्रने हुँदा सुरक्षित राख्न तयारी थालिएको अस्पताल प्रमुख डा. वसन्तराज जोशीले बताए ।

जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले मंगलबारसम्म अनुसन्धानकै क्रममा रहेको र अहिलेसम्म कसैलाई नियन्त्रणमा पनि नलिएको बताए । ‘सोधपुछ चलिरहेको छ । अपराधीलाई चाँडै पत्ता लगाउँछौं,’ उनले भने ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमकुमार सुवेदीसहित एसएसपी जनक पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको छ । धनगढीबाट ल्याइएको तालिमप्राप्त कुकुर पनि अनुसन्धानमा प्रयोग भइरहेको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७