जो बाइडेनको उदय र अबको विश्व राजनीति


२८ माघ २०७७, बुधबार
jo biden and prem ale

अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेनले सपथ लिएपछि बिश्व राजनीति कसरी अगाडि बढ्छ होला भन्ने कुरामा मानिसहरुले बिभिन्न अड्कलबाजी गरिरहेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा भएका धेरै काम बिवादित रहेको र धेरैलाई (आफ्नै प्रशासनभित्र अनि बाहिर पनि) स्वयम् ट्रम्पसँग काम गर्न ब्यबहारिक रुपमा असहज महसुस भएको थियो । यस परिपेक्ष्यमा नयाँ राष्ट्रपतिले अब बिश्व राजनीतिलाई कसरी अघि बढाउँलान् भन्ने चासो सर्बत्र हुनु स्वाभाविकै हो ।
पहिले राष्ट्रपति ट्रम्प कस्ता व्यक्ति हुन् भनेर बुझ्नका लागि केहि पछिल्ला उदाहरणहरु हेरौं:

१) ट्रम्पले गत नोभेम्बर ३ मा भएको चुनावको मत परिणामलाई अस्वीकार गर्दै आएका थिए । उनले प्रमाण बिनै चुनावमा धाँधली भएको आरोप लगाएका थिए र उनका समर्थकहरूले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरिरहेको अवस्था थियो । आफ्नै प्रशासनले गराएको, विश्वलाई लोकतन्त्रको पाठ सिकाउने देशको शक्तिशाली राष्ट्रपतिले आफ्नो पक्षमा चुनावको परिणाम नआउँदा ‘चुनावमा धाँधली’ भयो भन्न मिल्छ ?

२) चुनावको परिणाम राष्ट्रपति ट्रम्पले कहिल्यै स्वीकार गरेनन् । ७ जनवरी २०२१ मा अमेरिकी कंग्रेसमा सांसदहरूले जो बाइडेनको जीत पुष्टि गर्न छलफल गरिरहेका बेला केहि दक्षिणपन्थी, षड्यन्त्रकारी सिद्धान्तको समर्थकहरु (QAnon, The  Proud  Boys जस्ता समूह) क्यापिटल हिलमा रहेको संसद भवनभित्र पसेर आक्रमण गरेका थिए । यस घटनामा एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो । उनीहरुलाई राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत समर्थन गरेको र उक्साएको आरोप लागेको थियो । त्यस लगत्तै राष्ट्रपति ट्रम्पको सबै सामाजिक सञ्जालको एकाउन्टहरु बन्द गरिएको थियो । आफ्नो हार प्रमाणीकरण रोक्न बिश्वको सर्ब गौरवाम्बित पदमा रहेको व्यक्तिले यस्तो हर्कत गर्नु लज्जास्प्पद होइन र ?

३) राष्ट्रपति बाइडेनको शपथ ग्रहण समारोह (२० जनवरी २०२१) अन्य वर्षको भन्दा कडा सुरक्षा निगरानीमा भयो । बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले बिरोध प्रदर्शन गर्न सक्ने सम्भावनालाई ध्यानमा राखी २५ हजार सुरक्षाकर्मीका माझ राष्ट्रपतिको सपथ ग्रहण गर्नु परेको थियो । यो कार्यक्रममा राष्ट्रपति ट्रम्प उपस्थित भएको थिएनन् । हार–जित स्वभाविक रुपमा लिन नसक्ने, आफ्नो गौरबको पदलाई समेत अवमूल्यवन हुने यस्ता गतिविधिबाट राष्ट्रपति ट्रम्प कस्ता व्यक्ति हुन् भन्ने स्पष्ट हुन्छ ।

ट्रम्पको ‘बिग्रँदो’ बिश्व राजनीति
राष्ट्रपति ट्रम्पको कार्यकालमा अमेरिकी बिदेश नीति सबभन्दा नराम्रोसँग बिग्रेको अनुभूति हुन्छ । ट्रम्पले सत्ता सम्हाल्दा अघिल्ला शासकहरुको ‘ह्यांगओभर’ नरहेको होइन । बिशेषतः आतंककारीबिरुद्धको लडाईमा अफ्गानिस्तान, सिरिया र इराकमाथि गरिएको हमलाले सिर्जना गरेको नकारात्मक असरहरु अझ दशौं बर्ष रहने देखिन्छ । यी असरहरु प्रत्यक्ष वा परोक्ष रुपमा बिश्वभरि नै आर्थिक, समाजिक, राजनैतिक र फौजी असरको रुपमा रहेका छन् ।

राष्ट्रपति ट्रम्पले सन् २०१६ को चुनावताका अमेरिका र मेक्सिको बीचमा पर्खाल लगाउने बाचा गरेका थिए । झण्डै २००० माईल लम्बाई रहेको निर्माणाधीन पक्की पर्खालले मेक्सिकाकोे भूमि भएर आउने शरणार्थी तथा अबैध मालसामान अमेरिका पस्नबाट रोक्ने बताइएको थियो । अहिलेसम्म झण्डै एक चौथाई सीमानामा पर्खाल निर्माण सम्पन्न भएको छ । सुरक्षाको दृष्टिकोणले राम्रो योजना भए पनि आर्थिक अभाबले काम हुन ढिलो भएको प्रष्ट छ । गत बर्ष मात्र अमेरिकी सेनालाई छुट्याएको केहि बजेट यो पर्खाल निर्माणका लागि तान्नु पर्ने स्थिति आएको थियो । यसलाई कंग्रेसभित्र बिशेषतः डेमोक्रयाट्सले बिरोध गरेको थियो । यो महत्वकांक्षी योजनालाई धेरै अमेरिकन तथा बिश्व समुदायले अब्यबहरिक र अदूरदर्शी भनेका थिए, जुन झण्डै त्यस्तै देखियो ।

विभिन्न देशहरुसँग बिगतमा भएको व्यापार सन्धि, सम्झौताहरुको नयाँ ब्याख्या, पुनर्लेखन तथा खारेजी गर्ने प्रयासबाट बिश्वले ट्रम्प प्रशासनलाई शंकाको दृष्टिले हेरेको थियो । यसै सन्दर्भमा चीनसँग त एक खालको ‘व्यापार युद्ध’ नै भयो भन्दा अतिशयोक्ति नहोला । अमेरिका निर्यात गरिने सरसमानमा लगाइने करमा ‘असमानता’ रहेको चीनको बुझाई छ ।

चीनले अघि सारेको बिआरआई परियोजनालाई पनि अमेरिकाले शंकाको दृष्टिले हेरेको छ । झण्डै १२४ बिलियन अमेरिकी डलरको यो परियोजनाले एशिया, अफ्रिका र युरोपलगायत देशहरुलाई व्यापार तथा लगानीको सञ्जालले जोड्ने लक्ष्य राखेको छ । अमेरिकी बुझाईमा यो परियोजना ‘ऋण कुटनीति’ को रुपमा आएको छ । जसले विश्वलाई चीनप्रति आश्रित हुन बाध्य पार्नेछ । तर राष्ट्रपति ट्रम्पले आफ्ना छिमेकी तथा मित्र राष्ट्रहरुलई बिश्वासमा लिएर चीनको यो परियोजनालाई संवादबाट हल गर्न कुनै पहल नगरेको बरु उल्टै दबाव र फौजी कार्बाहीको दम्भ देखाएर एसिया प्यासिफिक र दक्षिण एशियामा शान्ति खल्बलाएको आरोप छ ।

रुसका राष्ट्रपति भ्लादीमिर पुटिन र राष्ट्रपति ट्रम्पको ‘काम गर्ने स्टायल’ र ‘झोक्की स्वभाव’ मिलेकाले उनीहरुको सम्बन्ध भने समधुर रह्यो । ट्रम्पले पुटिनको राज्य सञ्चालन र बिदेश नीतिको सदैव खुलेर प्रशंसा गर्याे । यहाँसम्म कि पुटिनले क्रिमिया, पूर्बी युक्रेन र सिरियामा गरेको फौजी कारबाहीलाई ट्रम्पले आँखा चिम्लेर समर्थन गरिदियो । जबकी युरोप तथा एशियाका अधिकांश देशहरुले ‘अधिक बल’ प्रयोग भएको भन्दै बिरोध गरेका थिए । यस कारणले पनि युरोपेली, एशियाली तथा अफ्रिकी देशहरुले आशा गरे जति नेतृत्वदायी भूमिका ट्रम्पले दिन सकेनन् ।
सन् २०१७ मा राष्ट्रपति ट्रम्पले मुस्लिम देशका नागरिकहरुलाई अमेरिका प्रवेशमा कडाई गरिनु पर्ने नीति ल्याए । यो नीति मुस्लिम धर्मबिरुद्ध बिभेद भएको ठहर गर्दै देशभित्र र बाहिर उनको व्यापक आलोचना भयो र पछि त्यो नीति संसदबाट पास हुन सकेन । यसरी राष्ट्रपति ट्रम्पले धार्मिक स्वतन्त्रतामाथि समेत हस्तक्षेप गरेको आरोप लाग्यो ।

जलबायु परिवर्तनको मुद्दामा पनि राष्ट्रपति ट्रम्पले कहिल्यै चासो राखेको देखिएन । उनी ‘पेरिस सम्झौता’ बाट पछि हटेको आरोप छ ।

अबको बिश्व राजनीति
राष्ट्रपति जो बाइडेनका लागि बिनाशकारी कोभिड–१९ महामारी, व्यापक रूपमा बढेको बेरोजगारी, जोखिममा परेको वातावरण, जातीय समानतासम्बन्धी न्यायका लागि भइरहेका माग र पुनः चर्किएको राजनीतिक अतिवाद मुख्य चुनौती हुनेछन् । यसबाहेक ट्रम्पको कार्यकालमा बिग्रेको वा सप्रन नसकेको बाह्य सम्बन्धलाई राम्रो बनाउनु र बिश्व शान्तिका लागि नेतृत्वदायी भूमिका खेल्नु अझ बढी चुनौतिपूर्ण हुनेछ । किनभने राष्ट्रपति बाइडेन यस्तो समय अमेरिकी राष्ट्रपति बनेका छन्, जुन बेला अमेरिका इतिहासमै आर्थिक, फौजी र राजनैतिक रुपले कमजोर बनेको छ अनि सामाजिक र साँस्कृतिक रुपले अमेरिका दुई भागमा बिभाजित भएको अवस्था छ ।

तर राष्ट्रपति जो बाइडेन अरुभन्दा फरक ब्यक्तित्व हो । उनलाई अमेरिकी बिदेश नीतिको ‘मेशिन’ भन्दा नि हुन्छ । किनकी उनीसँग अमेरिकी राजनीति र कंग्रेसको धेरै अनुभव छ । उनीसँग ‘सिनेट बिदेश सम्बन्ध कमिटी’ मा प्रमुख भएर काम गरेको अनुभव छ । त्यसबाहेक बाराक ओबामाको पालामा उनले उपराष्ट्रपतिको रुपमा बिदेश नीतिसम्बन्धी धेरै काम गरिसकेका छन् । त्यसैले अमेरिका र बिश्वका लागि उनी सहि ब्यक्ति साबित नहोलान् भन्न सकिन्न ।

उनले प्रजातान्त्रिक देशहरुको सम्मेलन गर्ने योजना बनाएका छन् । यसले अमेरिकी बिदेश नीतिलाई ट्रयाकमा ल्याउन मद्दत गर्नेछ । युरोप र एशिया प्यासिफिक क्षेत्रका पुराना मित्रहरुसँग पुनः सम्बन्ध जोड्न त्यति गाह्रो नहोला । तर अन्य नेताहरुको मन जित्न अवश्य समय लाग्नेछ ।

विशेष गरी चीन, रुस, उत्तर कोरिया र ईरानको हकमा राष्ट्रपति बाइडेन निकै धैर्यशील रहनु पर्नेछ । यी देशहरुसँग सम्बन्ध सुधार गर्न अमेरिकाले नरम नीति अपनाउन जरुरी हुन्छ । ‘सत्ता परिबर्तन’ गरिदिने तथा फौजी कारबाही गर्ने जस्ता धम्कीपूर्ण भाषा बोल्नु हुँदैन । व्यापारसम्बन्धी बिवाद समाधान गर्न ‘विश्व व्यापार संगठन’ को विवाद संयन्त्र प्रयोग गर्नु पर्दछ । दबाब दिनु पर्ने अवस्था आएमा अमेरिका एक्लैले होइन समान विचार बोक्ने देशहरुको बहुपक्षीय गठबन्धनमार्फत दबाब दिनु उचित हुन्छ । तत्कालीन ग्लोबल चुनौतीहरु जस्तो कि कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनमार्फत समाधान खोज्नु अत्यन्तै जरुरी छ ।

अन्तमा अमेरिकाले बिश्व राजनीतिमा गुमेको आफ्नो परम्परागत नेतृत्व पुनः कायम गराउन राष्ट्रपति बाइडेनलाई सजिलो हुने छैन । तैपनि उनले बिभाजित अमेरिकालाई एक ढिक्का बनाउने सामथ्र्य राख्दछन् र यो बिश्व शान्तिका लागि केहि योगदान हुनेछ भन्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७