ओलीलाई चेतना भया ! संविधान मिच्नेलाई पशुपतिनाथले रक्षा गर्दैैनन् : अध्यक्ष नेपाल

‘ओली पहिलो अध्यक्ष भनेर कुनै दस्तावेजमा लेखिएको छैन’


२८ माघ २०७७, बुधबार
madhav

काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथले समेत माफी नदिने बताएका छन् । पहिले मदन भण्डारीको नाम जप्ने ओलीले अहिले पशुपतिको नाम जप्न थालेको भन्दै उनले संविधान मिच्ने ओलीलाई पशुपतिनाथले पनि माफी नगर्ने बताएका छन् ।

प्रतिगमनका विरुद्ध पार्टीले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले भने, ‘केपी ओलीजी पहिले तपाईं मदन भण्डारीको नाम जप्नु हुन्थ्यो । अहिले मदन बिर्सिएर पशुपतिको मन्त्र जप्न थाल्नु भएको छ’, अध्यक्ष नेपालले भने, ‘तपाईंलाई थाहा छ, पशुपतिनाथले कसलाई माया गर्नुहुन्छ ? पशुपतिनाथले त सत्य र न्यायका पक्षमा रहेकालाई माया गर्नु हुन्छ । पापीलाई, अधर्मीलाई पशुपतिनाथले माया गर्नु हुन्न ।’

उनले जनअधिकार समेत खोसेर देशलाई संकटमा धकेलेको भन्दै त्यस्तालाई पशुपतिनाथले पनि माया नगर्ने बताएका छन् । अध्यक्ष नेपालले केपी ओलीले निर्वाचन आयोगमा गएर आफू नै नेकपाको अध्यक्ष हुँ भनेर दावाव लिएको प्रसङ्ग निकाल्दै अध्यक्ष नेपालले ओलीलाई ‘ओली फाउन्डेसन’ को अध्यक्ष बन्न सुझाव दिएका छन् ।

अध्यक्ष नेपालले अहिले जारी पार्टीको आधिकारिकताको विवाद पार्टी केन्द्रीय कमिटीको बहुमतका आधारमा टुंग्याउनु पर्ने बताएका छन् । ‘हाम्रो पार्टीका ४४० जना केन्द्रीय सदस्यलाई मार्चपास गराउँ, ओलीको पक्षमा १०० जना हुनेछन् भने हाम्रो पक्षमा ३०० जना,’ नेकपाले बुधबार आयोजना गरेको विरोधसभामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले भने ।

उनले आफू पहिलो अध्यक्ष भन्ने ओलीको दाबीको कुनै अर्थ नभएको बताएका छन् । पार्टीको विधान, सर्कुलर र निर्णयलगायत कुनै पनि दस्तावेजमा ओलीलाई पहिलो अध्यक्ष भनेरे नभनिएको नेपालको भनाइ छ । ‘ओलीले आफै म पहिलो अध्यक्ष भनेर हुँदैन, कुनै पनि दस्तावेजमा उनलाई पहिलो अध्यक्ष भनेर लेखिएको छैन,’ उनले भने ।

उनले भने, ‘ओली फाउसडेसन वा समूहको अध्यक्ष बन्नुस् । मेरो सुझाव ग्रहण गर्दा राम्रो होला ।’ आफूहरुले नै गणतन्त्र ल्याएको भन्दै ओलीलाई गणतन्त्र, संघीयताको माया नभएको नेपालले बताए । ओली प्रतिगमनका प्रतीक भएको र ज्ञानेन्द्र पथमा अगाडि बढीरहेको आरोप उनले लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७