जनप्रतिनिधिले बेचेको भनिएको एम्बुलेन्स प्रहरीद्वारा नियन्त्रण


२८ माघ २०७७, बुधबार
am

मोरङ, २८ माघ । लायन्स क्लब अफ बेलबारीको विवादित एम्बुलेन्स जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ । लायन्स क्लब अफ बेलबारीका वर्तमान र पूर्व समितिबीच एम्बुलेन्स बिक्रीबारे चर्किदो विवाद र फिर्ता ल्याउने विषयको निकास नभई रहेका बेला जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको हो ।

मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङले एम्बुलेन्स नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिएका छन् । क्लबले ७ वर्ष अगाडि खरिद गरेको एम्बुलेन्स हाल विराटनगरमा महोमत अलवादिनले चलाउँदै आएका थिए ।

148137786 893814561471976 6313343951391657844 n

लायन्स क्लब अफ बेलबारीका अध्यक्ष खेम गौतम भन्छन्, ‘क्लबको स्वामित्वमा रहेको एम्बुलेन्स अहिले विराटनगरमा सञ्चालनमा छ, फिर्ता गर्न ५ लाखसम्म दिन खोज्दा पनि सकेका छैनौ ।’ लायन्स क्लब अफ बेलबारीले ७ वर्ष अगाडि खरिद गरेको एम्बुलेन्स वर्तमान समितिले बेलबारीमा सञ्चालन गर्न नपाउँदा पुराना समितिसँगको विवाद चर्किएको छ ।

क्लबको एम्बुलेन्स व्यक्तिलाई विक्री गरेको वर्तमान अध्यक्ष गौतमको आरोप छ भने फिर्ता लिन ५ लाखसम्म दिन तयार हुँदा पनि सम्भव नभएको उनी बताउँछन् । फिर्ता ल्याउने विषयमा पटक–पटक जानकारी गराउँदा लायन्स क्लब अफ बेलबारीका संस्थापक अध्यक्ष, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले चासो नदिएको आरोप रहेको छ ।

हरेक वर्ष क्लबका अध्यक्ष परिवर्तन भएका कारण चासो नदेखाएको तर आफू अध्यक्ष भएपछि एम्बुलेन्स खोजी गर्दा फिर्ता ल्याउन असमर्थ भएको गौतमको गुनासो छ । २०७० साल वैशाख ३ गते सवारी दर्ता नं. को १ च ५७९४ टाटा सुमो सेतो रङको एम्बुलेन्स जिल्ला मोरङ लेटाङ निवासी भक्तबहादुर राईलाई बिक्री गरिएको थियो । सो ब्यहोरामा दुई पक्षबीच लिखितम् सम्झौता पनि रहेको छ ।

पूर्व कार्य समितिको सर्वसम्मतिमा बिक्री गरिएको सम्झौता पत्रमा उल्लेख छ । संस्थाको तर्फबाट राजकुमार लिम्बूले हस्ताक्षर गरेका छन् भने साँक्षीमा पर्शुराम सुवेदी, योगेन्द्रप्रसाद सुवेदी, बमबहादुर खुलाल र हरिप्रसाद सुवेदी छन् । बिक्री मूल्य ९ लाख २५ हजार रुपैयाँ पत्रमा उल्लेख छ ।

148686211 141852564348689 2092148080269601412 n

राजकुमार लिम्बू अध्यक्ष हुँदा योगेन्द्र सुवेदीको नेतृत्वमा एम्बुलेन्स बिक्री भएको वर्तमान अध्यक्ष गौतमको आरोप छ । भक्तबहादुर राईले पनि विराटनगर निवासी महोमत अलवादिनलाई बिक्री गरेको गौतम बताउँछन् । एम्बुलेन्स फिर्ता गर्न पटक–पटक पूर्व समितिसँग आग्रह र बैठक समेत गरे पनि सुनुवाइ नभएको गौतमको गुनासो छ ।

पूर्व अध्यक्ष लिम्बू भन्छन्, ‘बिक्री भने पनि कानुनी रूपमा बिक्री भएको छैन, आफूले नसक्दा अरूलाई चलाउन दिंदा प्राविधिक त्रुटि भने भएको हो ।’ समितिले खरिद गरेको पहिलो वर्षदेखि दोस्रो वर्ष नपुग्दै एम्बुलेन्स सञ्चालन गर्न नसकेपछि भक्तबहादुर राईलाई चलाउन दिएको लिम्बूले बताए । राईलाई चलाउन दिंदा मुनाफा खाने नियोजित कुनै उद्देश्यका साथ नदिएको लिम्बू बताउँछन् । लिम्बू भन्छन्, ‘वर्तमान कार्य समितिले सञ्चालन गर्छ भने अब फिर्ता ल्याउनु पर्छ ।’

एम्बुलेन्स बिक्रीबारे योगेन्द्र सुवेदीले पनि सहज रूपमा एम्बुलेन्स सञ्चालन गर्न नसकेका कारण मात्र लेटाङ निवासी राईलाई चलाउन दिएको बताए । एम्बुलेन्सको वार्षिकनविकरण क्लबले नै गर्दै आएको सुवेदीले जनाएका छन् । वर्तमान समितिले एम्बुलेन्स बेलबारीमा फिर्ता ल्याएर सञ्चालन गर्ने विषयमा आफू सकारात्मक रहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७