युवा नेता झन् आक्रामक : सर्वसत्तावादका विरुद्ध बोल्न पाइन्छ


२९ माघ २०७७, बिहीबार
ramkumari2021 02 11 05 50 55

काठमाडौं, २९ माघ । नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध सभामा दोस्रो तहका नेताहरू पनि आक्रामक देखिएका छन् । प्रतिनिधिसभा विघटनपछिको सडक–संघर्षमा ‘फ्रन्टलाइनर’ को भूमिकामा रहेका उनीहरूले बुधबार विरोध सभामा छोटो, तर निकै आक्रामक सम्बोधन गरे ।

केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आफूहरूले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता रहेको बताइन् । ‘बोल्न पाइन्छ, हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन । सर्वसत्तावादका विरुद्ध बोल्न पाइन्छ,’ मुखमा लगाएको कालो टेपको क्रस निकालेपछि युवा नेतृ झाँक्रीले विना कुनै सम्बोधन बोल्न सुरु गरिन्, ‘संविधानको चीरहरण गर्नेका विरुद्ध बोल्न पाइन्छ । संविधान र कानुनी राज्यको खिलाफमा सेटिङ र बन्द कोठाभित्र भएका अँध्यारा षड्यन्त्रका विरुद्ध बोल्न पाइन्छ ।’

झाँक्री मञ्चमा निकै आक्रामक र प्रतिरोधी शैलीमा उपस्थित भइन् । ‘प्रतिगमन मुर्दावाद’ लेखिएको ज्याकेट फुकाल्दै मञ्चमा पुगेकी उनललाई दर्शकदीर्घाबाट भव्य स्वागत भयो । उनले धाराप्रवाह करिब सात मिनेटभन्दा बढी बोलिन् । सम्बोधनका क्रममा उनले प्रधानमन्त्री ओलीको कदममा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिका र त्यस विषयमा आफूले बोल्दा ओली पक्षबाट भइरहेको आक्रमणको कडा प्रतिवाद गरिन् ।

सहिद, घाइते र बेपत्ताहरूको रगत र पसिनाबाट प्राप्त उपलब्धिलाई एकै रातमा च्यातचुत पारेको भन्दै प्रधानमन्त्री ओलीको कदमविरुद्ध निरन्तर बोल्ने बताइन् । काठमाडौंका सडकमा उर्लेको मानवसागरले ओली कागजी वादशाहका रूपमा ढलिसकेको र अन्तिम घोषणा गर्न मात्रै बाँकी रहेको उनको भनाइ थियो । उनले आज दरबारमा जस्तै रजाइँ गर्नेहरू संघर्षका दिनमा कहाँ थिए भन्ने हिसाबकिताब दुनियाँलाई थाहा भएको भन्दै ओली पक्षको आलोचना गरिन्न्।

केही दिनअघि प्रधानमन्त्री ओलीले नारायणहिटीको प्रांगणमा आयोजना गरेको कार्यक्रममा राखिएका प्रतिमाहरूलाई इंगित गर्दै झाँक्रीले राज्यको ढुकुटी दोहन गरेको बताइन् । ‘तानाशाहले जब आफ्नो कदलाई घटाउँदै–घटाउँदै जान्छन् त्यतिवेला राज्यको सम्पत्तिको दोहन गर्दै कागजका अग्लाअग्ला प्रतिमा मात्रै होइन बुख्याँचा बनाउँछन् । खड्गप्रसादले त्यही गरेका हुन्,’ उनले भनिन् ।

झाँक्रीले राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्रीको असिस्टेन्टजस्तै भएर हरेक निर्णयमा सहीछाप गरेको भन्दै राष्ट्रपति पदमाथि नभएर भण्डारीको प्रवृत्तिमाथि आफू बोलेको र बोल्न पाइने जिकिर गरिन् । राष्ट्रपतिका विषयमा झाँक्रीले दिएको अभिव्यक्तिले महिला अस्मिता मिचिएको भन्दै ओली पक्षको अखिल नेपाल महिला संघले उनलाई कारबाही गर्न माग गरेको थियो ।

उनले संविधानविरोधी काम गर्ने खलपात्रविरुद्ध बोल्दा होइन, भागरथी भट्ट र निर्मला पन्तहरूको बलात्कार र हत्या हुँदा महिला अस्मिता मिचिएको बताइन् । उनले अंहकारी, सन्की, तानाशाहको प्यादा बन्ने व्यक्तिका विरुद्ध बोल्दा महिला अस्मितामाथि प्रश्न नआउने तर्क गरिन् ।

पार्टीका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माले ओलीले संघीयता र संविधानलाई पद र कुर्सीसँग साटेको आरोप लगाए । उनले त्यसका विरुद्ध शान्तिपूर्ण आवाज ल्याएर सडकमा आएका जनताको आवाज नसुने विद्रोहमा उत्रिने चेतावनी दिए । ‘जनताका आवाज सुन्दैनन् भने शान्तिपूर्ण आन्दोलन गरिरहेका जनता विद्रोहमा उत्रिन्छन् र संघीयताविरोधीलाई समाप्त पार्नेछन्,’ उनले भने ।

उनले ओलीजस्ता मानिस कसरी पैदा भए भनेर समीक्षा गर्नुपर्ने बताए । ‘यो सीमित अधिकारको परिणाम हो । केपी ओली कसरी पैदा भए ? यसको समीक्षा गर्नुपर्छ । अन्यथा यो स्वीकार गरेनौँ भने फेरि महेन्द्र र ओलीहरू जन्मिन्छन्,’ उनले भने, ‘नेताहरू दलालको बीचमा नभई जनताको बीचमा हुर्कनुपर्छ ।’ उनले जनताका समस्या समाधान गर्न नयाँ कुलमान घिसिङहरू नियुक्त गर्नुपर्ने तथा गाउँगाउँमा शिक्षा र स्वास्थ्यमा लगानी गर्नुपर्ने बताए । त्यसका लागि सक्षम नेतृत्व पनि चाहिने बताए ।

पार्टीका स्थायी कमिटी सदस्य रघुजी पन्तले ओलीको पशुपति यात्राले आफूलाई राजा वीरेन्द्रको याद आएको बताए । उनले सधैँ पशुपति गुहार्ने तत्कलीन राजा वीरेन्द्रले पशुपति गुहार्दा वंशनाश भएको र ज्ञानेन्द्रले पशुपति गुहार्दा नारायणहिटीबाट नागार्जुन पुग्नुपरेको स्मरण गरे ।

उनले पशुपतिनाथभन्दा ठूलो जनता भएकाले जनताको पक्षमा काम गर्न अनुरोध गरे । उनले केही दिनअघि नारायणहिटी प्रांगणमा बोल्ने क्रममा आफूले तमाम काम गरेको दाबी गरेको पाँच मिनेटपछि नै आफूलाई प्रचण्ड र माधवले काम गर्न नदिएको भनेर जनतालाई ढाँटेको बताए ।

त्यस्तै नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी ओली झुटलाई डेन्टिङ–पेन्टिङ गरेर सत्य बनाउन सक्ने तानाशाह भएको टिप्पणी गरे । ‘ओली ती तानाशाह हुन्, जो झुटलाई डेन्टिङ–पेन्टिङ गरेर सत्य नै त्यही हो भन्ने बनाउन सक्छन्, त्यो हामीलाई पहिल्यैदेखि थाहा भएकै कुरा हो,’ नेता झाले भने । झाले ओलीको विकास भ्रष्टाचार गर्ने र कमिसन खाने मात्रै भएको बताए । ‘मदन भण्डारीका नाममा ब्रह्मलुट मच्चाइएको छ, उहाँका भित्ता हेर्नुहोस्, उहाँका गाडीहरू हेर्नुहोस्, कहाँबाट प्रायोजित छन् ? यो कस्तो राष्ट्रवाद हो ?’ झाले प्रश्न गरे ।

अर्का स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले ओलीले लोकतन्त्रको अपहरण गरेर मनपरीतन्त्रको शासन सुरु गरेको बताए । ‘संसद् विघटन भयो भने संविधान विस्थापित हुन्छ, संविधान अपांग हुन्छ र संविधान कोमामा जान्छ,’ उनले भने, ‘आज यो संविधान कोमामा पुर्‍याउने काम भएको छ ।

लोकतन्त्रको अपहरण गरेर मनपरीतन्त्रको शासन सुरु गरिएको छ ।’ सभामा गुरुङले कामचलाउमा परिणत भइसकेको सरकारले तथानामी रूपले राजनीतिक नियुक्ति गरिरहेकोप्रति समेत विरोध गरे । गुरुङले ताजा जनादेशका नाममा वैशाखमा चुनावको मिति घोषणा गरे पनि त्यो निर्वाचन नहुने बताए ।

अनेमसंघकी अध्यक्ष अमृता थापाले प्रधानमन्त्री ओलीलाई बालकोट गएर बस्न सुझाब दिइन् । उनले राजा–महाराजालाई सत्ताबाट हटाएका जनताले राजा–महाराजा बन्न खोज्ने ओलीलाई सहजै हटाउन सक्ने बताइन् । प्रधानमन्त्री ओलीले एकपटक पनि संसदीय दलको बैठक नराखेको भन्दै थापाले झुटको राजनीति नगर्न चेतावनी दिइन् ।

त्यस्तै, पार्टी केन्द्रीय सदस्य अञ्जना विशंखेले राष्ट्रपति भण्डारीको नेपाली महिला आन्दोलनमा भूमिका भए पनि ओलीको कार्यकर्ताका रूपमा आफ्नो भूमिकालाई खुम्च्याएकाले त्यसले सिंगो नेपाली महिला आन्दोलनको शिर निहुरिएको बताइन् । उनले चुनावी घोषणापत्रअनुसार प्रधानमन्त्रीले काम नगरेकाले आफू सबैले माफी माग्दै जनतामा जानुपर्ने बताइन् ।

‘हाम्रा मुद्दाहरू सडकमा छरिए, हामीले सत्तामा हाम्रा मुद्दाहरूलाई एड्जस्ट गराउन सकेनौँ । ती मुद्दाहरू हाम्रा थिए, केपी ओलीका थिएनन् । उनी मात्र प्रधानमन्त्री बन्नलाई साक्षी बसेका थिए । अब प्रधानमन्त्रीको नाटकलाई सडकले नंग्याइसकेको छ,’ उनले भनिन् ।

नेकपाका केन्द्रीय सदस्य सन्तकुमार चौधरीले प्रधानमन्त्री ओलीको दिनगन्ती सुरु भएको बताए । उनले संविधान र संघीयतामाथि आक्रमण भएको भन्दै ओलीले संघीयता मास्न नसक्ने जिकिर गरे । ‘खबरदार ! केपीजी, संघीयतालाई मास्न पाइँदैन । लाखौँलाख जनता गाउँगाउँबाट सडकमा उत्रिसके,’ उनले भने, ‘तपाईंको दिनगन्ती सुरु भइसक्यो । तपाईंलाई समाप्त पार्ने आन्दोलनमा जनता होमिइसकेका छन् ।’

उनले ओलीको प्रतिगामी कदमका विरुद्ध २० जिल्लाका थारूहरूले विद्रोहको झन्डा उठाएको बताए । ‘२० जिल्लाका लाखौँलाख थारूहरूले विद्रोहको झन्डा उठाइसके । अब २०औँ लाख थारूहरूले ओलीलाई बालुवाटारबाट घिसारेर सडकमा फाल्नेछन्,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७