रामकुमारीको पक्राउपछि डा. बाबुराम भट्टराईले भने, ‘सरकारको काल आएकै हो ?’


२९ माघ २०७७, बिहीबार
baburam bhattarai

काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीको पक्राउलाई लिएर जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारप्रति कडा टिप्पणी गरेका छन् ।

राज्यविरुद्धको कसुर आरोपमा बिहीबार नेतृ झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत सरकारको कडा विरोध गरेका छन् । संविधानले प्रत्येक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रता दिएको तर राष्ट्रपतिले त्यसलाई उल्लंघन गरेको भट्टराईले बताएका छन् ।

baburam

उनले लेखेका छन्, ‘ओली सरकारले राष्ट्रपतिवारे विचार अभिव्यक्ति दिएकै आधारमा युवा नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ ! नेपालको संविधानले प्रत्येक नागरिकलाई ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता’ नै दिन्छ । ‘संविधानको पालन र संरक्षण’ गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो ?’

राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार नेकपाको प्रचण्ड–नेपाल समूहकी नेत्री झाँक्रीलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो । यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो ।

लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए । झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । प्रहरीले पक्राउ पुर्जी लगेपछि उनले गिरफ्तारी दिएकी हुन् । झाँक्रीलाई महानगरीय अपराध महाशाखा, मीनभवनमा राखिएको छ । पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ । उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७