अब काठमाडौंमा पाँच रुपैयाँमा एक लिटर पिउने पानी

शंखधर पार्क (रत्नपार्क), स्वयम्भू भगवान पाउ र बालाजु उद्यान प्रवेशद्वारमा राखियो ‘वाटर एटिएम’


३० माघ २०७७, शुक्रबार
water atm

काठमाडौं, ३० माघ । अब काठमाडौं महानगरभित्रका तीन ठाउँमा पाँच रुपैयाँमै एक लिटर पानी पिउन पाइने भएको छ । महानगरपालिकाले बिहीबारबाट तीन ठाउँमा वाटर एटीएम सञ्चालनमा ल्याएसँगै यो सेवा उपलब्ध भएको हो ।

वाटर एटीएम शंखघर पार्क (रत्नपार्क) टिकट काउन्टरसँगै, स्वयम्भू भगवान पाउ र बालाजु उद्यान प्रवेशद्वारसँगै स्टेसन राखिएका छन् । यी ठाउँलाई महानगरले ‘जरुंहिति’ नाम दिएको छ ।

बटुवाको प्यास मेटाउन काठमाडौंमा जरुंहिति थिए । घरमा पानी लिएर आउने गृहिणीले यी हितिमा एक एक अङ्खोरा पानी राखिदिने गर्थे । त्यो पानी पिएर बटुवाले प्यास मेटाउँथे । यस्ता स्थान विस्तारै हराउन थालेपछि महानगरले गत ९ चैतमा स्वच्छ पिउने पानी उपलब्ध गराउन स्मार्ट वाटर भेन्डिङ मेसिन (वाटर एटिएम) राख्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको थियो ।

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापाले आधुनिक प्रविधिसँग सेवाग्राहीलाई जोड्न काठमाडौंं महानगपालिकासँगको सहकार्यबाट परिणाम प्राप्त भएको बताए । ‘पहिलो चरणमा उपत्यकाका १५ ठाउँमा सञ्चालन गर्ने तयारी छ । विस्तारै मुलुकभरिकै सहरमा सेवा विस्तार हुनेछ,’ उनले भने । नवीनतम सेवाका लागि स्थानीय तहहरूसँग सहकार्य गर्दै जाने उनको भनाइ छ ।

उपत्यकाका १५ ठाउँमा वाटर एटिएम राखिँदै
चालू आर्थिक वर्षभित्र महानगरको वडा नम्बर ४ को शंखपार्क, १५ को स्वयम्भूको भुइँखेल, १६ को बालाजु पार्क, २८ को शंखधर पार्क र ३१ को ट्रलीबस सेवा भएको कम्पाउन्डमा वाटर एटिएम राखिनेछ ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले उपत्यकाका १५ ठाउँमा यस प्रकारका प्रणाली जडान गर्दैछ । बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाका अनुसार स्थापनापछिका तीन महिना सञ्चालन व्यवस्थापन खर्चसहित प्रणाली जडानको लागत करिब १५ लाख ८६ हजार रुपैयाँ हो ।

उपत्यकाका सबै प्रणाली जडान गर्दा करिब दुई करोड रुपैयाँ खर्च हुने उनको भनाइ छ । यी ठाउँमा वाटर एटिम स्थापना गरेर आउने तीन वर्षसम्म सञ्चालन व्यवस्थापनको काम बोर्डले गर्नेछ भने महानगरपालिकाले एटिएम राख्ने ठाउँ, बिजुली र सुरक्षा उपलब्ध गराउनेछ । ‘प्लास्टिकरहित सहरको परिकल्पनामा सहभागी बनौँ’ नारा लेखिएको बोर्डसँगै प्रणाली जडान भइसकेका वाटर एटिएमको बिहीबार शुभारम्भ गरिएको हो ।

के हो वाटर एटिएम ?

वाटर एटिएम एउटा उपकरण हो । यसको प्रयोग गर्दा सुरुमा तिरेको दुई रुपैयाँमा एउटा दुई सय मिलिलिटर पानी अट्ने कप र दुई सय मिलिलिटर पानी पाइन्छ । त्यसपछिका हरेक दुई सय मिलिलिटरको पानीको मूल्य एक रुपैयाँ पर्छ । त्यसमा आफूलाई आवश्यकता भएअनुसार पानी लिन सकिन्छ । यदि कसैले बोतल लिएर जाने हो ५ रुपैयाँमा एक लिटर पानी भर्न सकिन्छ । मेसिनमा एक रुपैयाँको सिक्का मात्र चल्छ । बटुवासँग सिक्का पैसा छैन भने १० वा ५ रुपैयाँको नोटको सिक्का साट्न सकिन्छ ।

सिक्का साट्न वाटर भेन्डिङ मेसिन सिक्का साट्ने मेसिन राखिएको छ । साटेको सिक्कामध्ये एक रुपैयाँको सिक्कालाई कप डिस्पेन्सर मेसिनको सिक्का हाल्ने ठाउँमा छिराउनुपर्छ । यसबाट दुई सय मिलिलिटर पानी अट्ने कागजको कप आउँछ । कपलाई लगेर धाराको तल राख्ने ।

एक रुपैयाँको सिक्कालाई धारासँगैको सिक्का हाल्ने ठाउँमा छिराउने । यसमा दुई सय मिलिलिटर शुद्ध पिउने पानी आउँछ । थप पानी खान मन लागे फेरि एक रुपैयाँको सिक्का खसाउँदा दुई सय मिलिलिटर पानी पाउन सकिन्छ । एक लिटर पानी लिनु परे बोतल थापेर एक रुपैयाँका पाँचवटा सिक्का खसाउने, एक लिटर पानी प्राप्त हुन्छ ।

बटुवालाई चाहिएको ठाउँ र चाहिएको मात्रामा स्वच्छ पिउने पानी उपलव्ध गराउनु एटिएम स्थापनाको उद्देश्य रहेको महानगरले जनाएको छ । अहिले उपभोक्तालाई नचाहिए पनि एक लिटर पानी अनिवार्य किन्नुपर्ने बाध्यता छ । एटिएम जडानपछि आफूलाई चाहिने जति मात्र पानी किन्न सकिने भएको छ । अहिलेको प्रणालीभित्रै १५ सय लिटरको र त्यससँगै छेउमा पाँच हजार लिटरको ट्यांकी राखिएको छ । मेलम्चीको पानी वितरण भएपछि मेलम्चीको पाइप प्रणालीमा सोझै जडान गर्ने योजना छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७