राष्ट्रिय सभाका नेकपा सांसदको लेबी रकम कट्टी हुन छाड्यो

पार्टी विवाद हुँदा सांसदलाई १२ हजार बचत


१ फाल्गुन २०७७, शनिबार
samsad 1

काठमाडौं, १ फागुन । डा. रोजनाथ पाण्डे, प्रवक्ता, संसद् सचिवालय : माननीय सदस्यहरूको लेबी सम्बन्धित दलको खातामा उहाँहरूले ‘रिक्वेस्ट’ गरेको आधारमा पठाउने गरिएको थियो । नेकपा दलको विभाजित मानसिकता र विवाद भइसकेपछि माननीय सदस्यहरूले नै नकटाउन मौखिक अनुरोध गर्नुभएकाले काटिएको छैन । अहिले उहाँहरू कसैको पनि तलबमा लेबी गएको छैन ।

राष्ट्रिय सभामा नेकपाका सांसदको लेबी कट्टी बन्द भएको छ । सांसदले पार्टीमा लेबी तिर्दै आएको १२ हजार रुपैयाँ नेकपामा दुई चिरा देखिएपछि अहिले बुझाउनुपरेको छैन । संसद् सचिवालयले नै लेबी रकम कट्टी गरेर सांसदको तलब पठाउने गरेको थियो । सचिवालयले काटिएको लेबी रकम पार्टी खातामा पठाउँथ्यो ।

प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित नेकपाको आधिकारिकताको कानुनी लडाइँ निर्वाचन आयोगमा छ । राष्ट्रिय सभातर्फ अध्यक्ष र उपाध्यक्षसमेत जोड्ने हो भने ४७ जना नेकपाका सांसद छन् । प्रतिनिधिसभा विघटनपछि सांसद बाँडिएर प्रचण्ड–नेपाल र ओली समूहमा लागेका छन् ।

राष्ट्रिय सभाअन्तर्गत नेकपाका एक सांसदले नयाँ पत्रिकासँग भने, ‘पहिला–पहिला तलब आउँदा लेबी काटिएर आउँथ्यो । अहिले पार्टीमा लेबी कटाएको छैन, पूरै तलब आएको छ ।’

दलको अनुरोधमा संसद् सचिवालयले सांसदको तलब हाल्दा पार्टीलाई लेबी र सांसदलाई तलब छुट्याएर पठाइदिन्थ्यो । त्यसअनुसार सांसदहरूले तलब पाउँदा लेबी काटिएर बाँकी रहेको रकम पाउँथे । तर, पार्टी विवादपछि सचिवालयले यो काम गरेको छैन । लेबी काट्ने नाममा जबर्जस्ती सचिवालयले पैसा काटिदिन नमिल्ने संसद् सचिवालयका प्रवक्ता डा. पाण्डेले बताए ।

‘माननीय सदस्यहरूको लेबी सम्बन्धित दलको खातामा उहाँहरूले ‘रिक्वेस्ट’ गरेको आधारमा पठाउने गरिएको थियो । नेकपा दलको विभाजित मानसिकता र उहाँहरूको विवाद भइसकेपछि माननीय सदस्यहरूले नै नकटाउन मौखिक अनुरोध गर्नुभएकाले काटिएको छैन । अहिले उहाँहरू कसैको पनि तलब काटिएर लेबी गएको छैन ।’

संसद् सचिवालयले दिएको तथ्यांकअनुसार पार्टी विवाद हुनुअघिसम्म संघीय सांसदहरूबाट नेकपाको पार्टी खातामा मासिक २३ लाख ६४ हजार रुपैयाँसम्म लेबीस्वरूप रकम गएको देखिन्छ । तर, प्रतिनिधिसभा विघटन भएर पार्टी नै विभाजनको बाटोमा गएपछि राष्ट्रिय सभाका सांसदबाट जाने रकम पनि रोकिएको छ ।

नेकपाबाहेक अरू दलका सांसदहरूको भने लेबी काटिएर तलब गएको छ । कांग्रेसले एक सांसदबराबर दश हजार लेबी लिइरहेको छ । गत साउनको तथ्यांकलाई मात्रै हेर्ने हो भने कांग्रेसले आफ्ना संघीय सांसदबाट मासिक ६ लाख ७० हजार रुपैयाँ लेबीस्वरूप बुझेको थियो । राष्ट्रिय सभाबाट मात्रै पछिल्लो महिनामा कांग्रेसले आफ्ना ६ सांसदबराबर ६० हजार रुपैयाँ लेबी लिएको छ ।
जनता समाजवादीले आफ्ना राष्ट्रिय सभा सांसदहरूबाट मासिक ४५ हजार लेबी पाउने गरेको देखिन्छ, राष्ट्रिय सभामा जसपाका तीनजना मात्रै सांसद छन् । एक सांसदको १५ हजार रुपैयाँ लेबीस्वरूप जसपाको खातामा जान्छ । राष्ट्रिय सभामा अहिले जसपा, कांग्रेस र नेकपाको मात्रै प्रतिनिधित्व रहेको छ । अहिले संघीय सांसदहरूको तलब ६४ हजार ७० रुपैयाँ छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७